नकारात्मक सोचको उत्थान र उत्कर्ष !

नकारात्मक सोचको उत्थान र उत्कर्ष !


– स्वयम्भूनाथ कार्की

चाहे कारण जे होस् पञ्चायतकालमा नकारात्मक सोचको विजारोपण गरियो । ०१७ सालमा प्रतिबन्धित भएका दलहरूले निरन्तर त्यो व्यवस्थाको विरोध गरिरहे । यो विरोधको प्रतिरोधको निमित्त सूचना विभागले ०१७ देखि ०२७ सालसम्म भएका कामहरू जनसमक्ष ल्यायो । यो आवधिक रूपमा भएका कामहरू जनसमक्ष ल्याउने जिम्मेवारीको शुरुवात थियो । तर, ०२८ सालमा राजा महेन्द्रको देहावसानपछि यो क्रम रोकियो जो वर्तमानसम्म कायम छ । केवल कहिलेकाहीँ सत्तारुढ दल परिवर्तन हुँदा ‘श्वेतपत्र’ भन्ने जिनिस प्रकाशन हुन्छ । यो पनि पुरानोले गलत निकालेको भन्छ नयाँले सही निकालेको भन्छ, जनता भ्रमित तुल्याइन्छन् ।

जे होस्, राजा वीरेन्द्रको पालाको पञ्चायतले आवधिक रूपमा जनतालाई प्रगति विवरण दिन आवश्यक ठानेन । त्यसैले व्यवस्थाको विरोध सही वा गलत जे भए पनि ‘मौनम् स्वीकृति लक्षणं’ भयो । यस कुराको उदाहरणको निमित्त पञ्चायतको अवसानलगत्तै पछि विराटनगरको शहीद मैदानमा गिरिजाप्रसाद कोइराला र लौहपुरुष गणेशमान सिंहको सम्बोधनको उल्लेख उपयुक्त हुन्छ । त्यसबेला गिरिजाले भनेका थिए– सरकारमा किसुनजी भएको भुुलेर आदतले गर्दा विरोध गर्न आइहाल्छ । गणेशमानले पञ्चायतको नकारात्मक पक्ष देखाउँदै भनेका थिए– त्यो सरकारले जनतालाई तातो भात खाने पनि बन्दोबस्त गर्न सकेन । हुन पनि हो, भारतीय नाकाबन्दीले मट्टीतेल पर्याप्त थिएन ।

केही दिन पहिले नवराज सिलवाल आईजी नहुँदा आकाशै खसेको देख्ने जमात केही दिनपछि उनलाई भगौडा देख्न थाल्छ । अझ कताबाट इन्टरपोलले खोजेको अपराधी भन्ने हल्ला पनि उड्छ । उनले इन्टरपोलले खोज्ने के अपराध गरे त्यो भने कसैले पनि जान्दैन ।

त्यो संस्थापनको विरोध आदत नै बनेको थियो । यही विरोधले जनतामा प्रख्यात पनि बनाउने गर्दथ्यो । भन्ने हो भने नेपालको राजनीति ०३२ सालदेखि विरोधमा नै आधारित भयो । राजनीति मात्र होइन कला, साहित्य पनि विरोधमा नै आधारित भयो । जनता संस्थापनको विरोध सुन्दा खुसी हुन्छन् भन्ने सोच बलवान् भएको थियो । ०४६ सालमा पञ्चायतको पतनपछि पनि विरोधको यो आदत कसैले छोड्न सकेन । विरोधको संस्कार जारी रह्यो, अझ बहुदलमा त विरोधको निमित्त विरोध गर्ने चलन पनि थप भयो । संविधानले विपक्षको काम नै ‘विरोध’ दिएको मान्न थालियो । स्वाभाविक छ, यसले पञ्चायतकालमा पैदा गरिएको नकारात्मक सोचको उत्थान भयो ।

नेपालको राजनीति ०३२ सालदेखि विरोधमा नै आधारित भयो । राजनीति मात्र होइन कला, साहित्य पनि विरोधमा नै आधारित भयो । ०४६ सालमा पञ्चायतको पतनपछि बहुदलमा त विरोधको निमित्त विरोध गर्ने चलन पनि थप भयो । संविधानले विपक्षको काम नै ‘विरोध’ दिएको मान्न थालियो । स्वाभाविक छ, यसले पञ्चायतकालमा पैदा गरिएको नकारात्मक सोचको उत्थान भयो ।

केही महिना पहिले जुन गणेशमान जिन्दावाद थिए अब मुर्दावाद हुन थाले । यो कुरा त्यसबेला राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा स्वयम् गणेशमानले रोचक तरिकाले बताएका छन् । पञ्चहरू मुर्दावादको नारा त्यसपछि बहुदलका नेताहरू मुर्दावादमा बदलियो, एक दलले अर्को दलकोलाई मुर्दावाद । पहिले सत्तालाई गाली गर्न प्रशिक्षित गरिएको थियो त्यो प्रशिक्षणले वर्तमानसम्म पनि सत्तालाई गाली निरन्तर राखेको छ । फरक केवल यत्ति छ कि आज तिनै सत्तामा छन् जसले सत्तालाई गाली गर्न सिकाएका थिए । हिजो बुर्जुवा शिक्षा समूल नष्ट गर्न नेतृत्व गर्नेहरू नै आज विद्यालय भर्ना अभियान लिएर हिँड्दै छन् । हिजो साझाका कागजपत्र जलाएर जनतालाई मुक्ति दिएको भन्ने आज सहकारी नामले त्यही साझा सञ्चालन गर्दै छन् ।

आलोचना र समर्थनमा न हिजो कुनै वजन थियो न आज नै छ । केही समय पहिले हाई–हाई गरेको व्यक्तित्वको उछित्तो काढ्न कुनै बेर नै लाग्दैन । कुनै कुराको सतहबाटै आलोचना शुरु हुन्छ । यो नकारात्मक सोचको उत्कर्ष हो । केही दिन पहिले नवराज सिलवाल आईजी नहुँदा आकाशै खसेको देख्ने जमात केही दिनपछि उनलाई भगौडा देख्न थाल्छ । अझ कताबाट इन्टरपोलले खोजेको अपराधी भन्ने हल्ला पनि उड्छ । उनले इन्टरपोलले खोज्ने के अपराध गरे त्यो भने कसैले पनि जान्दैन ।

जनतालाई तातो भात दिन नसक्ने कुराबाट पञ्चायतको आलोचना गर्दा के पञ्चायतपछि चाहिँ जनताको तातो भातको प्रबन्ध भयो त भन्ने सवाल स्वतः उठ्न पुगेको छ । हिजो गिरिजा हवल्दार भन्दा आज के ओलीले आठ पास भन्ने नाम पाएनन् र ? यसरी जनतामा जो नकारात्मक सोचको कीटाणु छरियो, त्यसले सबैलाई पिरेको कुरा चिन्ताजनक छ ।

मानार्थ विद्यावारिधि दिने चलन भर्खर चलेको होइन । मानार्थ विद्यावारिधि दिनेले पनि औपचारिक शिक्षा खोज्दैन, लिनेले पनि देखाउन पर्दैन । कुनै ख्यातिप्राप्त व्यक्तिलाई त्यही ख्यातिको निमित्त कुनै विश्वविद्यालयले मानार्थ डा. को उपाधि दिन सक्छ । यसरी मानार्थ डा. उपाधि पाउने केपी न प्रथम व्यक्ति हुन् न उनीपछि यो चलन रोकिने नै हो । तर, यस कुराको जुन स्तरमा र जुन स्तरका व्यक्तिहरूले खिल्ली उडाउँदै छन्, यो नकारात्मक सोचको उत्कर्ष हो । यो ५६ करोड यदुवंशीको नासको निमित्त मुसलयुद्ध शुरु भएजस्तो शुरुवात हो ।

जनतालाई तातो भात दिन नसक्ने कुराबाट पञ्चायतको आलोचना गर्दा के पञ्चायतपछि चाहिँ जनताको तातो भातको प्रबन्ध भयो त भन्ने सवाल स्वतः उठ्न पुगेको छ । हिजो गिरिजा हवल्दार भन्दा आज के ओलीले आठ पास भन्ने नाम पाएनन् र ? यी सबै पात्र वा पद्धतिमा कुन ठीक वा कुन बेठीक भन्न खोजिएको होइन । त्यसले तात्विक अन्तर पनि पर्दैन । तर, जनतामा जो नकारात्मक सोचको कीटाणु छरियो त्यसले सबैलाई पिरेको कुरा ज्यादा चिन्ताजनक हो । यसले पैदा गर्दै गरेको मुसलयुद्ध ज्यादा खतरनाक हो ।