इलामको निर्वाचनमा पहिचानको आवरणमा माओवादी केन्द्रले आफ्नो उम्मेदवार नउठाएर डकेन्द्रसिंह लिम्बुलाई भित्री समर्थन गरेको थियो । सो क्षेत्रमा पहिचानवादीको हार भएको छ । खासमा त्यो माओवादी केन्द्रसहितका अन्य माओवादी समूहहरूको पनि हार हो ।
✍ डा. केशव देवकोटा
नेपालको कम्युनिष्ट आन्दोलन तीव्र उतारचढावमा रहेको छ । कम्युनिष्ट पार्टीका बीचमा स्पष्टरूपमा क्रान्तिकारी र संसदवादी दुई धार देखिएको छ । नेपालको समग्र कम्युनिष्ट पार्टी र राजनीति समेत उक्त दुई धारकै वरिपरि घुमिरहेका छन्, जसले गर्दा नेपालको कम्युनिष्ट आन्दोलनप्रति केही भ्रम पनि छन् भने केही आशाहरू पनि रहेका छन् ।
गत १५ गते इलाममा प्रतिनिधिसभा सदस्यका लागि र बझाङमा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा दुवैै स्थानमा एमालेले विजय प्राप्त गरेको छ । दुवै स्थानको निर्वाचनमा एमालेले सत्ता समीकरणमा रहेका दलहरूसँग गठबन्धन गर्न मानेको थिएन । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले उक्त निर्वाचनहरूलाई प्रतिष्ठाको विषय बनाएको थियो । त्यसैगरी मुख्यतः इलामको निर्वाचनमा पहिचानको आवरणमा माओवादी केन्द्रले आफ्नो उम्मेदवार नउठाएर डकेन्द्रसिंह लिम्बुलाई भित्री समर्थन गरेको थियो । सो क्षेत्रमा पहिचानवादीको हार भएको छ । खासमा त्यो माओवादी केन्द्रसहितका अन्य माओवादी समूहहरूको पनि हार हो ।
त्यहाँ पहिचानवादी उम्मेदवारले ११ हजार ४५७ मत पाएको देखिएको छ । जवकि एमालेका विजयी उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७७२ मत पाएका छन् । पहिचानवादीलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि पछि पार्नु अर्को उल्लेख्य विषय भएको छ । उनले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । त्यसैले कोशी प्रदेशमा एमालेले लिएको अडान स्वीकृत भएको छ ।
त्यसैगरी उपनिर्वाचन भएका दुवै क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफतसमेत भएको देखिएको छ । कुल सदरमतको १० प्रतिशत मत कटाउन नसकेपछि इलाम २ र बझाङ प्रदेशसभा १ मा सो पार्टीका उम्मेदवारको जमानत जफत भएको हो । इलाम दुईमा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईलाई ४०८ मतमात्र प्राप्त भयो भने बझाङका उम्मेदवार दिलबहादुर सिंहले समेत २,५१४ मतमात्र पाए । ०७९ मंसिर ४ को निर्वाचनमा थ्रेस होल्डसमेत कटाउन नसकेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ दलीय तालमेलका आधारमा केवल १० सिटमात्र जित्न सकेको थियो । पछिल्लो उपनिर्वाचनको परीणाम सार्वजनिक हुँदा सो पार्टीको औचित्यमाथि नै प्रश्नचिन्ह खडा भएको छ । ०७९ मंसिर ४ को निर्वाचन र हालैको उप निर्वाचनले एकीकृत समाजवादीलाई एमालेमै फर्कन निर्देश गरेको छ ।
बझाङ प्रदेशसभा १ मा पनि एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११,६१३ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११,३४६ मत पाएका छन् । कुनैबेला माओवादीको प्रभाव रहेको मानिएको सो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले भने केवल ३,८३१ मतमात्र पाएका छन् । यसले संसदवादी धारका कम्युनिष्ट पार्टीहरूमा एमाले अग्रस्थानमा रहेको प्रमाणित गरेको छ । संगठनात्मक हिसावले पनि एमाले नै बलियो देखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री पदमा पुऱ्याउने एमाले नै हो । पछि दाहालले एमालेलाई धोखाधडी गरेपनि हाल फेरि अँगल्याउनु परेको छ । अब फेरि पनि धोखा दिने सम्भावना पनि छ । नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष दाहाल चरम अवसरवादी नेता सावित भएका छन् । उनको सिको गर्न खोज्दा सो पार्टी नै अस्तब्यस्त भएको छ । अर्कातिर, बुधबार (१९ वैशाख) मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (मशाल) लगायतका केही अन्य कम्युनिष्ट पार्टीहरूका बीचमा पार्टी एकताको घोषणा गरियो । जसमा विभिन्न पार्टीमा चिनिएर पनि पार्टीबाट अलग भएका ब्यक्ति/ब्यक्तित्वहरूसमेत एकताबद्ध भए । क्रान्तिकारी कम्युनिष्ट पार्टी त्यो समूह हो, जसले ०७२ मंसिर ७ गते दिल्लीमा भएको १२बुँदे सहमति, ०६३ मंसिर ५ मा भएको शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, ०७२ को संविधान र सोअनुसार नेपालमा लागू गराइएको विद्यमान राजनीतिक ब्यवस्थालाई अमान्य घोषणा गरेको छ । सो पार्टीले संविधानसभाको दोश्रो निर्वाचन र त्यसपछिका सबै निर्वाचनहरू सक्रिय बहिष्कार गर्दै हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन पनि बहिष्कार गरेको थियो ।
खासमा कम्युनिष्ट पार्टी देशभक्त हुनैपर्छ भन्ने विश्वब्यापी मान्यता रहेको छ । तर, नेपालका कम्युनिष्टहरूमा देशभक्तिमा कहीँ न कहीँ त्रुटी र कमी-कमजोरी रहेको देखिएको छ । यसको छिनोफानो नभएसम्म हाल देखिएको तीव्र उतारचढावको अवस्था किनारा लाग्ने देखिँदैैन ।
२०७९ मंसिर ४ को निर्वाचनपछि संसदको तेश्रो पार्टीको नेतृत्वमा सरकार गठन भएर पहिलो र दोश्रो पार्टी आलोपालो प्रमुख प्रतिपक्षमा रहने अवस्था सिर्जना भएपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको निर्वाचन बहिष्कार सही साबित भएको छ । निर्वाचनमार्फत जनताले दिएको जनादेशसमेत नमान्ने संसदवादी पार्टीहरूको खिल्ली उडेको छ । यदि आगामी ०८४ मा फेरि पनि यही ब्यवस्थाअन्तर्गत निर्वाचन हुनसकेको खण्डमा त्यो निर्वाचनमा अत्यन्त न्युनमात्रै मतदान हुने निश्चित छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीले एक सालअघि पनि नेकपा (बहुमत)सँग पार्टीएकता गरेको थियो । क्रान्तिकारीका अध्यक्ष बैद्यद्वारा गत मंगलबार जारी एक वक्तव्यमा पार्टीएकतालाई सान्दाररूपमा सफल तुल्याउन आफ्नो पार्टीका महाधिवेशन आयोजक समितिका सदस्यहरूलाई आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेका छन् । गत १७ गते काठमाडौंमा बसेको सो पार्टीको बैठकले पार्टी एकतासम्बन्धी अध्यक्ष बैद्यको प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको थियो । १८ गते मंगलबार पनि सो पार्टीको बैठक चलेको थियो । उक्त बैठकमा अध्यक्ष बैद्यले बुधबार घोषणा हुनलागेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (मशाल) लगायतका समूहहरूबीच पार्टी एकतागर्ने सम्बन्धमा भएको सहमतिका विषय स्पष्ट पारेका थिए ।
दुवै पार्टीको एकता संयोजन समितिका बीचमा अन्तरिम कालका लागि पार्टीको मार्गनिर्देशक सिद्धान्तकारुपमा मार्क्सवाद-लेनिनवाद-माओवाद/विचारधारा रहने, १०वर्षे जनयुद्धलाई ‘ऐतिहासिक माओवादी जनयुद्ध’ भन्ने र जातिय तथा क्षेत्रिय समस्याका विषयमा ‘जातिय/क्षेत्रिय स्वशासन’को अवधारणा अगाडि सार्नेलगायतमा सहमति भएको भनिएको छ । क्रान्तिकारीले मशालसँग एकता गरेपछि संयुक्त एकता महाधिवेशन गर्ने र सोही महाधिवेशनबाट पार्टीको आगामी राजनीतिक तथा सामरिक कार्यदिशाको थप विकास गरेर क्रान्तिको अभिष्ट पूरा गर्न अगाडि बढ्ने लक्ष्य अगाडि सारेको देखिएको छ ।
क्रान्तिकारीले पार्टीको कार्यदिशाको विकासका निम्ति सैद्धान्तिक, वैचारिक विषयको बहसलाई महाधिवेशन अगाडि व्यवस्थित बनाएर तल्ला समितिसम्म लैजाने र महाधिवेशनमा पुगेर एकता-संघर्ष-रुपान्तरण, जनवादी केन्द्रीयता, अल्पमत, बहुमत र विशिष्ट अवस्थामा सहमतीय विधि प्रक्रियाबाट पनि आउने फरक मतहरूको व्यवस्थापन गरिने पनि स्पष्ट गरेको छ । सो पार्टीले क्रान्तिकारीहरूबीचको एकतालाई कमजोर र असफल पार्न संशोधनवादी र अवसरवादी कित्ताबाट भइरहेका प्रयास र छरिएका भ्रामक प्रचारबाजीलाई चिरेर अगाडि बढ्न र त्यस्ता तत्वहरूको भ्रममा नपर्न पनि पार्टी पंक्तिलाई आग्रहसमेत गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र मशाल लगायतका समूहरूका बीचमा एकताका लागि बैठक हुँदैगर्दा क्रान्तिकारीका सचिवालय सदस्यद्वय पूर्णबहादुर सिंहलगायतका केही नेताहरूले विद्रोहको प्रयास गरेपछि उनीहरूमाथि तत्काल कारवाही भएको देखिएको थियो । त्यसैगरी जनयुद्धकालीन माओवादीको अर्को घटक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि गत मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर आफू संसदीय राजनीतिमा आकर्षित भएको स्पष्ट गरेको छ । यसैमेसोमा पुराना कम्युनिष्ट नेता तथा हाल नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो पार्टीबाट यसअघि विभिन्न मितिमा विभिन्न कारणले कारवाहीमा परेर बाहिरिएका नेता तथा कार्यकर्तालाई बिनाशर्त आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् ।
नेकपा (मसाल) पनि संसदीय निर्वाचनमा भाग लिइसकेको र संसदवादी राजनीतितर्फ आकर्षित समूह हो । तर सो पार्टीले संसदवादी कम्युनिष्ट पार्टीहरूको अग्रणी पार्टी एमालेसँग राय बझाएर नेपाली कांग्रेसप्रतिको पक्षधरता देखाएका कारण बीचमा लड्किएको अवस्था रहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा माओ विचारधारा कि माओवाद ? १०वर्षे जनयुद्ध सही थियो कि गलत थियो ? नेपाल सुहाउँदो पूँजीवादी जनवाद कि वैज्ञानिक समाजवाद ? सामन्तवाद कि पूँजीवाद ? र, नेपालका सन्दर्भमा सङ्घीयता आवश्यकता हो कि होइन ? भन्ने लगायतका कतिपय विषयमा विवादहरू रहेका छन् । उपरोक्त विषयमा संसदवादीका साथै क्रान्तिकारी कम्युनिष्ट पार्टीमासमेत केही भ्रमहरू रहेका देखिन्छन् । जसले कतिपय अवस्थामा संसदवादी र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूलाई घुमाउरो पाराले जोड्ने काम पनि गरेको देखिएको छ । जसको स्पष्ट छिनोफानो नभएसम्म यहाँका कम्युनिष्ट पार्टीहरू गतिवान हुने कुनै सम्भावना छैन ।
खासमा कम्युनिष्ट पार्टी देशभक्त हुनैपर्छ भन्ने विश्वब्यापी मान्यता रहेको छ । तर, नेपालका कम्युनिष्टहरूमा देशभक्तिमा कहीँ न कहीँ त्रुटी र कमी-कमजोरी रहेको देखिएको छ । यसको छिनोफानो नभएसम्म हाल देखिएको तीव्र उतारचढावको अवस्था किनारा लाग्ने देखिँदैैन । यो नेपालका कम्युनिष्टहरूले ध्यान दिनुपर्ने मुख्य विषय हो ।
प्रतिक्रिया