छविलाल बगाले
नेपालका प्राकृतिक सम्पदाले जो कसैलाई पनि मन्त्रमुग्ध पार्ने गर्दछ । एकपटक नेपाल आएका पर्यटकहरु बसाई लम्ब्याउनेदेखि पटक पटक दोहो¥याएर पनि आउने गर्दछन् । तर राज्य पर्यटन क्षेत्रको दिर्घकालिन विकासमा लाग्न नसक्दा सोचेअनुरुपको पर्यटक आगमन भने अझै हुन सकिरहेको छैन् ।
२०७४ अर्थात सन् २०१७ मा अहिलेसम्मकै धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले ‘भिजिट नेपाल’–सन् १९९८ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य गतबर्ष पूरा भएको हो ।
भूकम्पपछिको २ बर्षमा निराशजनक संख्यामा रहेको पर्यटन आगमन ०७४ मा भने १० लाख पुगेको नेपाल पर्यटन बाोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनका अनुसार यो अहागमन अहिलेसम्मकै उच्च हो । ‘लामो समयदेखिको पर्यटक आगमनलाई दोब्बर बनाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण अहिलेसम्मकै धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् ।’ बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘अघिल्लो बर्ष नोपालमा पर्यटक आगमन २५ प्रतिशतले बृद्धि भएको थियो ।’
सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सन् २०१६ मा साढे सात लाख पर्यटक नेपाल आएका थिए । यता, सन् २०१८ को तीन महिनाको पर्यटक आगमनको तथ्यांक पनि उत्साहजनक रहेको प्रमुख कार्यकारी अधिकृत जोशी बताउँछन् । उनका अनुसार विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै करीब तीन लाख पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागको पछिल्लो विवरणअनुसार जनवरी, फेब्रुअरी र मार्चमा दुई लाख ८६ हजार ८ सय ४९ पर्यटक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ४० हजार र भारतबाट ३४ हजार पर्यटक नेपाल भित्रिएका छन् । ‘नेपालका विभिन्न पदमार्गमध्ये सबैभन्दा धेरै बार्षिक एकलाख बढि पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् । यस्तै, एभरेष्टमा बार्षिक ४० हजार पर्यटक पुग्ने गरेको छ ।’ प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘२०१८ मा आशा गरेअनुसारको पर्यटक आगमनमा बृद्धि हुनेछ ।’
नेपालका प्रख्यात पदमार्गहरु अन्नपूर्ण, एभरेष्ट, मनास्लु, लाङटाङ लगायतका दर्जन बढि पदमार्गहरुमा पर्यटहरुको उत्साहजनक आगमन भइरहेको छ । पर्यटन मन्त्रालय र बोर्डले दिर्घकालिन पर्यटन विकासका लागि नयाँ ढंगले अघि बढ्न लागेको र आगामी पदनमा पिक सिजनबाहेक अन्य सिजनमा नेपालमा पर्यटक आगमनको संख्यामा बृद्धि गर्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत जोशीको भनाई छ ।
नेपालमा कमजोर पूर्वाधार र विभिन्न अस्थिरताबीच पनि उल्लेख्य संख्यामा पर्यटक बढ्नुले पर्यटन क्षेत्रमा ठूलो उत्साह र आशा पैदा गरेको छ । प्राकृतिक छटाले भरिपूर्ण नेपालमा पर्यटक आगमनमा बृद्धि गर्न सकिने भएपनि सरकारबाट कुनै किसिमको पहल भने हुन सकेको छैन् । समग्रमा २०७४ साल अस्थिर सरकार र तीनवटा निर्बाचन हुँदा पनि पर्यटक आगमनमा उत्साजनक बृद्धि भएको छ । मुलुकमा स्थिर सरकार आएकोले सरकारले पर्यटन क्षेत्रमा ल्याउने नयाँ कार्यक्रमले आगमी दिनमा पर्यटक आगमनमा बृद्धि हुने पक्का छ ।
नेपालमा पछिल्लो समययता सबैभन्दा बढि भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया, जापान, कोरिया लगायतका मुलुकबाट विदेशी पर्यटकहरु नेपाल आउने गरेका छन् ।
प्रतिक्रिया