✍ सुनिल उलक

ठ्याक्कै दश वर्ष बितिसकेछ, अम्बर गुरुङको देहावसान भएको पनि । ६० वर्ष अगाडि राजा महेन्द्रले बोलाएर काठमाडौ छिर्नुभएका अम्बर गुरुङले ६ दशक काठमाडौमा नै बिताउनुभयो । नेपालमा वहाँलाई संगीतका गुरु मान्नेहरु थुप्रै भए । वहाँलाई चर्चाको शिखरमा पुऱ्याउने शुरुवाती चरणका दुई गीत ‘म अम्बर हुँ तिमी धरती’ र ‘नौलाख तारा उदाए.. ‘ नै हो । एउटा खुशीको कुरा मैले करिव ५ दशकअगाडि स्कुले विद्यार्थी समय यी दुई गीत वहाँले हार्मोनियम बजाउँदै प्रत्यक्ष गाउनु भएको सुन्ने सौभाग्य पाएको थिएँ ।
दार्जिलिङको लालढिकीमा वि.सं. १९९४ फागुन १४ गते बुबा उजिरसिंह गुरुङ र आमा रेणुका गुरुङको कोखबाट एउटा केटोको जन्म भएको थियो । बुबा उजिरसिंहको पुस्तैनी गाउँ गोरखाको रिसिङ गाउँका थिए । नेपाल-अंग्रेज युद्धपछि दार्जिलिङ अंग्रेजहरुले गर्मी छल्न बिताउने थलोको रुपमा हिलस्टेशन नाम दिएर शुरुवात गरेको सानो दोर्जेलिङ गाउँ थियो । जुन बेला वहाँ दार्जिलिङमा हुर्कदै हुनुहुन्थ्यो, त्यो समय दार्जिलिङको माटो माटोमा संगीतले भरिएको थियो । खासगरि अंग्रेजहरु यहाँ पश्चिमी ज्याज गीत सुन्दथे । त्यस्तै पूर्वेली नेपालको पहाडी गाउँहरुबाट कामका खोजीमा दार्जिलिङ पुगेकाहरु भने हाम्रा लोकभाकाहरु बोकेर पुगेका थिए ।
अम्बर गुरुङ पनि सानै देखि संगीतमा डुब्न थालेका थिए । स्कुलेजीवन टर्नवुल स्कुलमा बिताउँदै गर्दा डा. मणीन्द्र रञ्जन बराल वहाँका सहपाठी हुनुहुन्थ्यो । अम्बर गुरुङले मणीन्द्र बरालसित संस्कृत सिके भने मणीन्द्र बरालले अम्बरसित संगीत सिके । अन्तत: दुबैले बाजा बजाउन थाले । मणीन्द्र तबला बजाउँथै, अम्बर हार्मोनियम समातेर गाउनुहुन्थ्यो ।
नेपालमा राणाशासनबाट मुक्तिको लडाइ शुरु हुँदा दार्जिलिङमा भने भारतीय नेपाली साहित्यको लहर चल्दै थियो । हुन त यो लहर पहिलो होइन, तर यो लहरले थुप्रै साहित्यकार जन्मेका थिए । दार्जिलिङमा स्व. रञ्जीत घिसिङको अग्रसरता तथा स्व. मोतीचन्द्र प्रधानको अध्यक्षतामा २००७ सालको असोज १५ गते हिमालय कला मन्दिरको स्थापना भइसकेको थियो । वहाँको साथमा स्व. विसाषन लामा, स्व. आलोक घोष, स्व. शिवप्रसाद सिंह, मानवीर सिंह, छविलाल शर्मा सक्रिय रहेका थिए । यही समय स्व. अमगसिंह गिरीले पनि कविताबाट भावनाहरु पोख्न थालिसकेका थिए । पछि अगमसिंह गिरीले भानुभक्त स्कुलमा नेपाली विषय पढाउन थाल्नुभयो । नेपालमा राणाशासन समप्तीको करिव एक दशकपछि निर्वाचित बहुमत प्राप्त गरेको नेपाली कांग्रेसको सरकार माथि प्रतिवन्ध लगाएर पञ्चायती ब्यबस्थाको शुरुवात गरिएको थियो ।
अम्बर गुरुङले पनि आर्ट एकेडेमी अफ म्यूजिक शुरु गरिसक्नुभएको थियो र त्यसमा सरन प्रधान, अरुणा लामा, गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेर, जितेन बर्देवा जस्ता संगीत हस्तीहरू पनि समेत हुनुहुन्थ्यो । २०१७ सालमा नै अम्बर गुरुङलाई पश्चिम बंगाल सरकारले लोक मनोरञ्जन शाखामा संगीत निर्देशकका रुपमा नियुक्त गरिसकेको थियो । यहि समय भारतीय नेपालीहरुको प्रेम र पिडा झल्किने एउटा गीतको रचना अगमसिंह गिरीले गर्नुभएको थियो । सो गीत लेखिएको कागज ठमाउँदै अम्बर गुरुङलाई संगीत भर्न अनुरोध गर्नुभयो ।
अगमसिंह गिरीले दिनुभएको गीत थियो –
नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ
शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ…
यो गीतमा संगीत भरेपछि सांगीतिक कार्यक्रमहरुमा अम्बर गुरुङले गाउन थाल्नुभयो । यो गीत यति चल्यो कि अम्बर गुरुङलाई जहाँ कहिँबाट पनि यहि गीत गाउन बोलाउन थालियो । यस्तैमा एकपटक कालेबुङमा एक संगीत कार्यक्रममा यहि गीत गाउन जाँदा त्यहाँ एक प्रहरी अधिकृत सचिन्द्र मणि गुरुङले यस गीत दार्जिलिङका नेपालीहरूले मात्र नभई सबै नेपालीले सुन्नुपर्ने भएको हुँदा यो गीत रेकर्डका लागि अनुरोध गर्दै सो का लागि लाग्ने सम्पूर्ण खर्च आफैं बेहोर्ने तैयार रहेको जानकारी दिनुभयो ।
अम्बर गुरुङको स्विकृति पछि सचिन्द्र मणि गुरुङ स्वयंले रेकर्ड कम्पनीहरूसँग सम्पर्क गर्न थाल्नुभयो । पहिलो कम्पनी तैयार रहे पनि डेढ वर्षसम्म कुनै रेकर्डिङका लागि मिति दिनुभएन । दोस्रो कम्पनीले नेपाली गीतको बजार नै नभएको हुँदा गीत रेकर्ड गर्न नै अस्वीकार गर्यो । अन्तमा कलकत्तामा रहेको हिन्दुस्तान रेकर्डस कम्पनी ले केही शर्त स्विकार गरेमा मात्र रेकर्ड गर्न तैयार रहेको जानकारी दियो । कम्पनीको शर्तहरुमा पहिलो ५०० रेकर्ड कलाकारहरूले बिक्री गरिदिनु पर्ने, दोश्रो रू ५०० धरौटी राख्नुपर्ने र अन्तिम शर्तमा कम्पनीले उपलब्ध गर्ने वाद्यवादकहरूको खर्च पनि व्यहोर्नुपर्ने थियो । अम्बर गुरुङका लागि भगवान भएर आउनुभएका सचिन्द्र मणिले जसरी पनि गीत रेकर्ड गराइ छाड्ने बाचा स्वरुप सो सबै शर्त स्विकार गर्दै रेकर्डिङका लाग ऋण समेत लिए । रेकर्डिङको मिति तय भएको दिन भन्दा एक हप्ता अगाडि नै अम्बर गुरुङ र रणजीत गजमेरलाई कलकत्ता पठाउनु भएर होटलको ब्यबस्थापन समेत गराइदिए । सचिन्द्र कुनै पनि कारणले रेकर्डिङको मिति रद्द नहोस भन्ने चाहनु हुन्थ्यो । तसर्थ समय भन्दा अगाडि नै कलकत्ता पठाउनुभएको थियो ।
वि.सं. २०१७ सालको माघमा सो गीत ग्रामोफोनमा रेकर्ड भयो । यो गीतको रेकर्डिङको सफलता केवल अम्बर गुरुङका लागि विशेष थिएन । सिङ्गो नेपाली समाजका लागि विशेष थियो । केवल २३ वर्ष उमेर पुग्नुभएका अम्बर गुरुङले कलकत्ताको रेकर्डिङ स्टुडियोमा गीत गाउनुभयो भने रणजीत गजमेरले तबला बजाउनुभएको थियो । साथमा पन्ध्र बिस जना बंगाली संगीतकारहरुले बिभिन्न बाजा बजाउनु भएको थियो ।
गीत रेकर्डिङ सकिएर दार्जिलिङ फर्कनु भएपछि अम्बर गुरुङले भन्नुभयो, ‘पहिलो पटक गीत रेकर्ड गर्दा म निकै खुसी थिएँ । तर पनि हामीले खुशी भएर कुनै भोज गरेनौं । होटल फर्कियौं र सधै झै सामान्य खाना खायौं । तर म माथि रहेको ठूलो भार भने हटेको अनूभुति भयो ।’
गीत असाध्य राम्रो लागेपछि कम्पनीले लिएको रू ५०० धरौटी तत्कालै फिर्ता गरिदियो । दार्जिलङमा लिएर आएको पहिलो पाँच सय रेकर्ड पनि एक हप्तामै बिक्री भयो । दार्जिलिङवासी सबै नेपालीहरूको आवाज बोकेको हुँदा गीत सबैले मन पराइदिए । कम्पनीले थप दुई हजार रेकर्ड गर्ने तैयारी गरिरहेको थियो । गीत रेकर्ड भएको एक वर्षपछि राजा महेन्द्रले आफ्नो जन्मोत्सवको अवसरमा अम्बर गुरुङलाई काठमाडौ आउन निम्तो दिनुभयो । अम्बर गुरुङले फोहरा दरवारमा राजा सामु पनि अन्य गीतहरुका साथ साथ यहि गीत पनि सुनाउनुभयो । यो गीत सुनेपछि भनिन्छ राजा महेन्द्रको पनि आँखा रसाएका थिए । अम्बर गुरुङ जहाँ पुग्नुहुन्थ्यो, यो गीत गाएर सुनाउनुहुन्थ्यो । बिस्तारै षडयन्त्रहरु हुन थाले । शायद कसैले गुनासो गरिदिए वा के भयो । यो गीतले राष्ट्रविरोधी भावना उक्साएको ठानेर भारत सरकार अन्तर्गतको अल इन्डिया रेडियोले गीतमाथि प्रतिबन्ध लगाइदियो । रेडियोबाट पूर्णरुपमा बज्न बन्द नै भयो । यसका साथै सार्वजनिक रुपमा पनि यो गीत गाउन नपाउने हुनुभयो । त्यसपछि साथीभाइहरुका अनुरोधमा बन्द कोठा भित्र मात्र गाउन थालियो ।
अम्बर गुरुङमाथि सरकारी गुप्तचरहरूको निगरानी हुन थाल्यो । २०२१ सालमा अम्बर गुरुङलाई पश्चिम बंगालको “लोक मनोरञ्जन शाखा” को निर्देशक पदबाट पनि हटाइदियो । सार्वजनिक रुपमा गीत गाउन प्रतिवन्ध लाग्नु र नियमित आयका रुपमा रहेको जागीर पनि गुमाउनु पर्दा ६ जनाको परिवारका लागि खर्च धान्न निक्कै असहज भयो । यसको केही समयमा नै अम्बर गुरुङले दार्जिलिङ छोड्नुभयो र कालेबुङ तर्फ लाग्नुभयो । एकप्रकारले गीत-संगीतबाट सन्यास लिनुभएर किसानी जीवन बिताउनु कालेबुङ जानुभएको थियो । त्यहाँ बुबाको समयमा नै लिइराखेको ४-५ रोपनी जमिन थियो । त्यहि जमिनमा तरकारी खेती गरेर जीविकोपार्जन गर्ने ध्येय थियो । हार्मोनियममा चलमलाउने औलाहरु माटोमा चलमलाउन गाह्रो थियो । र पनि बाध्यताले किसान बन्न खोज्नुभएको थियो । कालेबुङ रहनु हुँदा डा. ग्राहम्स होम्स स्कुलमा संगीत प्रशिक्षकका रुपमा भने केही समय काम गर्नुभएको थियो । तर अन्य संगीत सम्बन्धि कुनै पनि कार्य खासै गर्न खोज्नुभएन । कालेबुङमा नारायण गोपाल पनि भेट्न पुग्नुभएको थियो । अरु शिष्य तथा साथीहरु पनि पुग्नुभएकै थियो । तर फर्कन मान्नु भएन । अन्तमा एकदिन शंकर लामिछानेले सम्झाइ बुझाइ गर्नुभए पछि फर्केर आउनुभयो ।
यता राजा महेन्द्र ले यी पनि दार्जिलिङका प्रत्येक घटनाहरू नजिकबाट नियालिरहनुभएको थियो । “नौ लाख तारा उदाए” अत्यन्त मन पराउनुभए पछि बारम्बार अम्बर गुरुङलाई नेपाल आउन निमन्त्रणा दिइरहनु भएको थियो । २०२१ सालमा दोश्रो पटक नेपाल आउनुहुँदा पनि राजा महेन्द्रले नेपालमै बस्न आग्रह गर्नुभएको थियो । तर फर्केर जानुभयो, पछि दार्जिलिङमा रहन निकै मुश्किल हुँदै गए पछि राजा महेन्द्रको अनुरोध स्विकार गर्दै २०२४ सालमा नेपाल आउनुभयो ।
वहाँले एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभएको थियो –
‘म नेपाल बस्ने निर्णय गर्दा तीस वर्ष पनि पुगेको थिइनँ । ‘नौ लाख तारा उदाए’ ले नै मलाई नेपाल आएर संगीत गर्ने अवसर दियो । मानिसहरूले यो गीतलाई यति धेरै माया गर्छन् भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।’
‘यो गीत हामीले केवल रुचिका लागि रेकर्ड गरेका थियौं । यसबाट जीवनयापन वा करियर बन्न सक्छ भन्ने सपना पनि देखेका थिएनौं ।’ वहाँको जीवनमा परिवर्तन ल्याउन निकै सहयोग गरेको यस गीतलाई रेकर्ड गराउन ठूलो सहयोग गर्नुहुने सचिन्द्र मणि तथा भारतमा रहनु हुने नेपालीहरूको भावनालाई गीतका माध्यमले उतार्नुहुने अगम सिंह गिरीलाई पनि सम्मान प्रकट गर्नुभएको थियो ।
यस गीतले दार्जिलिङका अन्य कलाकारहरूलाई पनि ग्रामोफोन रेकर्डका लागि बाटो खोलिदिएको थियो । यसपछि नै शरण प्रधान, अरुणा लामा, गोपाल योञ्जन लगायतका कलाकारहरूको नेपाली गीत रेकर्ड हुन थालेको थियो । अन्तमा २०४९ भदौ ४ गते भारतीय लोकसभामा नेपाली भाषालाई भारत सरकारले मान्यता प्रदान गऱ्यो, यसको लगत्ते “नौ लाख तारा उदाए” माथिको प्रतिबन्ध पनि स्वतह हट्यो । यस पछि खर्साङ रेडियोले प्रतिवन्धको २८ वर्षपछि पहिलो पटक रेडियोबाट यो गीत प्रसारण गर्यो ।
नेपाल आगमनको केही समय पछि वि.सं. २०२६ सालमा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा संगीत विभागको प्रमुखका रुपमा जिम्मेवारी दिइएको थियो । जहाँ ३० वर्षसम्म संगीत विभागको निर्देशक भएर काम गर्नुभयो । २०६७ बैशाख १० गते गठन भएको नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको पहिलो कुलपतिका रूपमा वहाँकै नियुक्ति भयो । वहाँले २०७१ बैशाख १० गतेसम्म कार्यभार वहन गर्नुभयो ।
पारिवारिक चर्चा
अम्बर गुरुङको विवाह वि.सं. २०११ सालमा वीणा सिंहसँग भएको थियो । वहाँहरुका तीन छोराहरू किशोर गुरुङ, राजु गुरुङ र शरद गुरुङ तथा छोरी अलका गुरुङ गरी चार सन्तान हुनुहुन्छ । अम्बर गुरुङको सांगीतिक यात्रा बीस वर्षको उमेरमा विसं २०१६ सालमा शुरू भएको हो । ‘म अम्बर हुँ तिमी धर्ती’बाट शुरु भएको यात्रामा २०१७ सालको माघमा सबैभन्दा पहिला रेकर्ड ‘नौलाख तारा उडाए’को रेकर्डिङ पछि वहाँ उच्चतामा पुग्नुभएको थियो ।
पछिल्लो समय वहाँको चर्चा नेपालको नयाँ संविधानपछि बनेको राष्ट्रिय गानको संगीतकारका रुपमा रहेको छ । पहिलो पटक राजा महेन्द्रको हातबाट २०२८ सालमा गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित वहाँले २०४० सालमा छिन्नलता सङ्गीत पुरस्कार पाउनुभएको थियो । यस्तै २०४४ सालमा इन्द्र राज्यलक्ष्मी पुरस्कार र वि.सं. २०५५ सालमा जगदम्बाश्री पुरस्कार तथा भुपालमानसिंह पुरस्कार पाउनुभएको थियो । वि.सं. २०६४ सालमा उत्तम शान्ति साहित्य पुरस्कार तथा अन्य असंख्य सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।
जीवनको अन्तिम समय
अन्तिम समय तिर पार्किन्सन्स तथा मधुमेह रोगबाट पीडित हुनुहुन्थो । रोगले अति नै च्याप्दै लगेपछि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ केही समय उपचार गराएपछि वि.सं. २०७२ चैत १७ गते नेपाल फर्कनुभएको थियो । नेपाल फर्कनुभएको केही समयपछि नै पुन: रोगले च्याप्न थालेपछि २०७३ जेठ १७ गते ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । यहि अस्पतालमा प्रा. डा. अर्जुन कार्की र डा. चक्रराज पाण्डेसहितको विशेषज्ञ टोलीले उपचारको प्रयास गर्दा गर्दै २०७३ जेठ २५ गते मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा वहाँको आकस्मिक निधन भएको थियो ।
(तस्विरमा युवा अम्बर गुरुङ तथा वीणा सिंह छोरा किशोरका साथ)
प्रतिक्रिया