किन चर्किंदै छ ओलीको स्वर ?

किन चर्किंदै छ ओलीको स्वर ?


यो हप्ताको मध्यदेखि एमाले अध्यक्ष खड्गप्रसाद ओली भूमिगत जीवन त्याग्दै पुनः पूर्ववत् रुपमा ठुलो स्वर गर्न थालेका छन् । चुनावमा स्वयम् ओली र एमाले पार्टीको पराजयपछि नेपाली जनताको कान ओलीको स्वर नसुनेर ‘पवित्र’ भएका थिए । तर, केही दिनयता उनको चर्को नकारात्मक स्वर सुनिन थालेको छ ।

ओलीले घोषणा गरेका छन्- सम्पत्ति छानवीन आयोगलाई न त विवरण बुझाउँछु, न त मानव अधिकार आयोगको प्रतिवेदनमाथि बयान दिन्छु । ओलीको यो भनाइले जो चोर उसैको ठूलो स्वर भन्ने बुझिन्छ ।

यस मानेमा कांग्रेस र गगन थापा बरू इमान्दार, शान्त र सौम्य देखिए । गगनले सार्वजनिक रुपमै भनेका छन्- ‘कांग्रेसले सम्पत्ति विवरण बुझाएर सरकारलाई उसको काममा सघाउने छ । यो जरुरी थियो र छ ।’ उनले यसो भनिदिएर ओलीलाई सरकार समक्ष सम्पत्ति विवरण दिन र बयान दिन बाध्य पार्ने भएको छ । यसका लागि गगन र कांग्रेस धन्यवादका पात्र छन् ।

आफ्नै पार्टीभित्र स्वयम् आफ्ना पकेटका मान्छे भनेर चिनेकाहरूले समेत भकाभक साथ छोड्दै गएपछि पार्टीभित्रको विरोधलाई निस्तेज पार्दै र खस्कँदो पकडलाई बलियो पार्ने रणनीति हो- ओलीको सरकारविरोधी उवाच ।

आफ्नै पार्टीभित्रका ‘इमान्दार भक्त’हरूले समेत साथ छाडेपछि ओली तिल्मिलाएका छन् । त्यसै पनि लामो समय एकछत्र तानाशाह भएका ओलीलाई पार्टीभित्रबाट गतिला चुनौतिहरू आइसकेका छन् । यो आम चुनावको परिणामले अर्थोक के-के गऱ्यो, त्यसको लेखाजोखा र हिसाबकिताब विस्तारै हुँदै जाला । तर, एमाले पार्टीभित्र क्रमशः ओलीको पतन शुरु मात्र भएन; मुलुकको राजनीतिक परिदृश्यबाट त उनको अन्त्य नै भयो ।

पार्टीभित्र आफ्नो गुमेको शाख र शक्ति कसरी आर्जन गर्ने भन्ने एउटा अन्तिम, तर असफल प्रयत्न गर्दैछन्- यतिखेर ओली । सम्पत्ति विवरण नबुझाउने र आयोगमा बयान लिन यदि उनी अटेर गर्छन् भने यी दुबै काम राज्यले उनलाई पक्राउ गरेर भए पनि गराउनु पर्दछ । अमुक पार्टीको प्रमुख र पूर्वप्रधानमन्त्री भन्दैमा नीति, नियम र कानूनभन्दा कसैलाई माथि राख्न मिल्दैन र सकिंदैन ।

गगन र कांग्रेसले राज्यलाई सघाउने घोषणा गरेझैं राज्यलाई सघाउन स्वयम् एमाले पार्टीले ओलीलाई बाध्य पार्नुपर्छ । यदि एमाले पार्टीभित्रबाट यो सत्कर्म हुन सकेन भने सिंगो एमाले पार्टीले भ्रष्टाचारीको सम्पूर्ण जिम्मा लिनु पर्ने छ र यो एमालेका लागि ऐतिहासिक भूल हुने छ ।

एमाले पार्टी यतिबेला इतिहासकै सबैभन्दा ठूलो संकटमा छ । शक्ति कायम राख्न ओली न्वारानको बल निकालेर लागेका छन् भने पार्टीको ठूलो नेतृत्व पंक्ति उनलाई राजनीतिबाट बिदा दिएर पार्टीलाई बलियो बनाउने तर्क गरिरहेका छन् । यद्यपि उनीहरूको यो तर्क कति बलियो छ- त्यो आफ्नो ठाउँमा छँदैछ । के ओली मात्र सिद्धिएका हुन् कि एमाले नै सिद्धिएको हो ?- प्रश्न र कुरा यहाँनिर छ । शायद समयले ओलीलाई मात्र नेपाली राजनीतिबाट बिदाई गरेको छैन, सिंगो एमाले पार्टीको बिदाई भएको छ ।

जुनसुकै उपाय र दाउ लगाए पनि अब ओली मात्र होइन, एमाले पार्टी नै बौरिने कुनै सामान्य लक्षण समेत छैन । पार्टीमा विद्या भण्डारीलाई भित्र्याएर एमाले पार्टी बलियो पार्छु भन्नु पनि एकादेशकै कथा हो । किनभने, राष्ट्रको सबैभन्दा उच्च सम्माननीय पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउनु अराजनीतिक मात्र होइन, अनैतिक पनि हो । अराजनीतिक र अनैतिक काम गरेर नैतिक प्रतिफल पाउने सम्भावना नै रहँदैन ।

एमालेभित्र एमालेको पुनर्जीवन चाहने व्यक्ति र शक्ति छ भने उसले गगन र कांग्रेसको जति नैतिकता देखाउनै पर्दछ । नभए एमाले फेरि पनि तीव्र गतिमा अधोगतितर्फ लाग्नेछ । वास्तवमा भन्ने हो भने, एमाले पार्टीको जन्म नै अप्राकृतिक थियो, गलत थियो । कांग्रेस र प्रजातन्त्रवादीहरूको वीभत्स रूपले टाउको काटेर भएको तत्कालीन माले र हालको एमालेको जन्म यही दुर्गतिका भएर टुङ्गिनु थियो र टुङ्गियो । बरू आधा शताब्दीसम्म यो कसरी जीवित रहन सक्यो- त्यो भने अचम्म र आश्चर्यको कुरा छ !