दोस्रो आइकेकेएफ राष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगिता आगामी विहीबारदेखि शुरु हुने भएको छ । नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराते संघको आयोजना २ दिने कराते च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा हुन लागेको संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव प्रेमनाथ श्रेष्ठले आवश्यक तयारी पूरा भइसकेको बताए । सो अवसरमा संघका सल्लाहकारद्वय राम श्रेष्ठ ‘बोस’ र श्याम कार्कीले शुभकामना व्यक्त गर्दै च्याम्पियनसिपमा कुल ४ तौल समूहमा खेल हुने जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत पुरुषततर्फ ३०–४० केजी, ५५ केजीमुनि र पुरुषको खुलातर्फ प्रतिस्पर्धा हुने संघका उपाध्यक्ष राजिव महर्जनले जानकारी दिए । महिलामा भने एक मात्र तौलसमूह ४०–५० केजीमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि नेपालभरिका २ सय उत्कृष्ट खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि छनोट प्रक्रियामार्फत च्याम्पियनसिपमा खेलाइन लागेको संघका महासचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई विश्व च्याम्पियनसिपमा सहभागिता गराइने संघका महासचिव श्रेष्ठले जानकारी दिएका छन् । उक्त प्रतियोगिता सञ्चालनका लागि विभिन्न समिति बनाइएकाले भव्य रूपमा सञ्चालन हुने आयोजकले जनाएको छ । भ्याली बाहिरबाट खेलमा सहभागी हुने खेलाडीलाई लागि बसोबासको व्यवस्था गरिएको संघले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख ७० हजार आनुमानित लागत राखिएको संघले जनाएको छ ।
प्रतिक्रिया