बुद्ध जन्मस्थल बारेको भ्रम पन्छाउन बेलायतमा कार्यक्रम

बुद्ध जन्मस्थल बारेको भ्रम पन्छाउन बेलायतमा कार्यक्रम


लन्डन । बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायत लगायत संस्थाको सहकार्यमा सेन्टर लन्डनको बीचोबीच अर्थात् ट्राफाल्गर स्क्वायरमा गत शनिबार बुद्ध जयन्ती मनाइएको छ। उक्त कार्यक्रमलाई बेलायतका नेपाली समाजबाट ८० भन्दा बढी संघसंस्थाले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका बताइएको छ ।

बुद्ध जन्मस्थल बारेका भ्रम पन्छाउन, नेपालमा पर्यटन प्रवर्द्धन गर्न र नेपाली कला संस्कृति झल्काउन कार्यक्रम गरिएको आयोजकहरुले बताए । साँझ ६ देखि ९ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्दै वौद्ध धर्मगुरुहरुले बुद्ध सन्देशबारे प्रवचन दिएका सो कार्यक्रममा विभिन्न नेपाली सांस्कृतिक प्रस्तुति र सन्देशमुलक नाटकले आकर्षण थपेको थियो ।

बेलायती सांसद मिसेल डोनेलनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेलायती सांसद सीमा मल्होत्रा, लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, बेलायतका लागि कुवेत, म्यानमार, लाओस, साइप्रसका राजदूतलगायत स्थानीय मेयर, काउन्सिलरहरु अन्य विशिष्ट व्यक्तित्व सहभागी भएको सो कार्यक्रममा राजदूत डा‍ सुवेदीले स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वमाझ शान्ति, सद्भाव, अहिंसा, सहिष्णुता र सहअस्तित्वको एक अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्न अन्य राष्ट्रहरुलाई अनुरोध गरेका थिए।

मुख्य आयोजक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले यस कार्यक्रममार्फत बुद्ध सन्देश विश्वमा फैलाउन र नेपालको पर्यटन क्षेत्रलार्इ प्रवर्धन लागि आफ्नो संस्थाबाट काम भएको र आगामी कार्यक्रमहरुले सोही शैलीलार्इ पछ्याउने आफ्नो मन्तव्यमा बताएका थिए।

दर्शकहरुको ठूलो सहभागिताको आशा गरिएको भए तापनि दर्शकहरुको उपस्थित न्यून रहेको सो स्थानमा धेरै मन्तव्यहरु राखिनु पनि एक कारण हुन सक्ने मानिएको छ । यही स्थानमा यस्तो कार्यक्रम गत वर्ष पनि मनाइएको थियो ।

प्रकाश केसी