संघ, प्रदेश र स्थानीय तहका लागि १५ खर्ब आवश्यक : गभर्नर नेपाल

संघ, प्रदेश र स्थानीय तहका लागि १५ खर्ब आवश्यक : गभर्नर नेपाल


नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले अगामी आर्थिक वर्षमा बजेटको आकार १५ खर्बको हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्र बैंकले सोमबार आयोजना गरेको पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा गर्भनर नेपालले यस्तो बताएका हुन् ।

गर्भनर नेपालले कुल बजेटको १२०० अर्ब केन्द्र सरकार र ३०० अर्ब प्रदेश र स्थानीय सरकारको बजेट तर्जुमा हुनुपर्नेमा जोड दिए । ‘सरकारलाई बजेट निर्माणका लागि तीनदेखि पाँचसय अर्ब रुपैयाँ थप रकम आवश्यक पर्नेछ’, उनले भने । मुलुकले चालु आर्थिक बर्ष र अघिल्लो आर्थिक बर्षमा उत्साहजनक आर्थिक बृद्धिदर हासिल गरेको भन्दै गभर्नर नेपालले सरकारले यसलाई टिकाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले संघीय बजेटको आकार बढेकोले वित्तीय स्रोत परिचालन गर्न चुनौतीपूर्ण देखिएको बताए । यस्तै, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले बैंक व्याजदरमा आएको समस्याको समाधान गर्न राष्ट्र बैंकलाई आग्रह गरे ।

साथै लघु, घरेलु तथा साना उद्योगहरुलाई बजेटको प्रथामिकता पर्नुपर्ने व्यवसायीहरुले सुझाएका थिए । निर्यातमुलक उद्योगहरुले निर्यात नीतिबारे ठोस रुपमा बजेटमा सम्वोधन गर्न र ऋणको व्याजदरमा सहुलियत प्रदान गर्न पनि व्यवसायीहरुले माग गरेका छन् ।