विदेशी पर्यटकलाई बिझाउने ‘सुन्दर नेपाल’ !

विदेशी पर्यटकलाई बिझाउने ‘सुन्दर नेपाल’ !


– विनोद त्रिपाठी

०७३ वैशाखभरि जोमसोम पर्यटकको चहलपहलले रङ्गिएको थियो । हिमाली भेगको पर्यटक मौसम भनेकै चैत–वैशाख र असोज–कात्तिक हो । पर्यटक आएनन् भने सदरमुकाम भएर पनि जोमसोम शून्य देखिन्छ । पर्यटकको आगमन जोमसोमका लागि अमूल्य गहना हुने गर्छ । वैशाखकै एक बिहान दामोदरकुण्ड जाने पर्यटक गुम्बानजिकै जम्मा भएका थिए । मुक्तिनाथ मन्दिर जाने अर्काथरी हिन्दू धर्मावलम्बीहरू जिप चढे । तेस्रो मुलुकका कुइरेहरू हिँडेरै जाने कि बसमा जाने अन्योलमा देखिन्थे ।

पंक्तिकारसहितका साथीहरूको दृश्य यी हिमाली पथप्रदर्शक पर्यटकमाथि पऱ्यो । उपल्लो मुस्ताङ लोमान्थाङ, कोरला पुग्नेहरू पनि उति नै थिए । केही पर्यटक यताउता गरिरहेका देखिन्थे । उनीहरूले केही खोजेजस्तो लाग्यो । नजिकै गएर सोधेँ– ट्वालेट खोजेका रहेछन् । भित्तातिर रहेको ट्वाइलेट देखाइदिएँ । पछि तिनै पर्यटकसँग कुराकानी गर्न मन लाग्यो । तीमध्येका एक न्युजिल्यान्डका रहेछन् । नामचाहिँ भुलेँ ।

काठमाडौंदेखि पोखरा अनि कास्कीको नयाँपुल हुँदै बेनीको बाटो भएर जोमसोम छिचोलेका रहेछन् । मैले सोधेँ– नेपालमा घुमफिर गर्दा तपाईंले के समस्या देख्नुभो ? उनले निराश भावमा भने, ‘सार्वजनिक ट्वाइलेट ।’ केहीबेर कुराकानी भयो । नेपालको प्राकृतिक सुन्दरताको वर्णन त गर्थे, तर जहाँ पुग्यो त्यही ट्वाइलेटकै समस्या रहेको दोहोऱ्याउँथे । पछि उनले मुख खोलेअनुसार अघि देखाएको ट्वाइलेट प्रयोग नगरीकनै फर्किएका पो रहेछन् । फोहोर भएका कारण उनले ट्वाइलेट प्रयोग गर्न सकेनछन् ।

एक वर्षअघि बलिउडमा एउटा प्रेमकथामा आधारित सामाजिक विषयप्रधान रहेको फिल्म प्रदर्शनमा आयो, ‘ट्वाइलेट’ । निर्देशक श्रीनारायण सिंह, नायक अक्षय कुमार, नायिका भूमि पेड्नाकर आदि कलाकारको प्रयासमा निर्मित यो फिल्मले समग्र दक्षिण एसियाका मुलुकहरूको ट्वाइलेट प्रयोगबारे चित्रण गरेको छ । ट्वाइलेट नभएकै कारण दम्पतीबिच सम्बन्धविच्छेदसम्मको अवस्थामा पुऱ्याउँछ भन्ने यो फिल्मले सन्देश दिन खोजेको छ ।

पोखरा, चितवनबाट काठमाडौं पर्यटक बसहरूको ओहोरदोहोर चल्छ । राजमार्गका बीचबीचमा बस रोक्ने गर्छन् । कतै गतिलो ट्वाइलेट छैन । खासगरी, सार्वजनिक ट्वाइलेटको अवस्था सम्झँदा धेरै दिनसम्म खाना खानै मन लाग्दैन ।

हाम्रो मुलुकमा केही वर्षदेखि खुला दिसामुक्त क्षेत्रको अभियान चलिरहेको छ । करिब ५ दर्जन जिल्ला खुला दिसामुक्त क्षेत्र घोषित गरिए । अझै केही बाँकी छन् । खुला दिसामुक्त क्षेत्र घोषणा बनाउनकै लागि अर्बौँ रकम खर्च भइसकेको छ । जुन क्षेत्र खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्, त्यहाँ सर्वसाधारणको पहुँच भएका व्यवस्थित सार्वजनिक शौचालय कहीँ पनि छैनन् ।

खुला दिसामुक्त क्षेत्र घोषणा बनाउनकै लागि अर्बौँ रकम खर्च भइसकेको छ । जुन क्षेत्र खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्, त्यहाँ सर्वसाधारणको पहुँच भएका व्यवस्थित सार्वजनिक शौचालय कहीँ पनि छैनन् ।

यी माथिका केही तथ्यगत विषयले हाम्रो जीवनस्तर र चेतनाको मूल्याङ्कन गर्छ । भनिन्छ, कुनै पनि घरका मानिसको चेतनास्तर उसको शौचालय हेरेर पत्ता लाग्छ । जसरी युवावर्गमा केटा वा केटी कस्तो छ भनेर खुट्टा हेरेर थाहा पाउँछन् । खुट्टामा लगाएको जुत्ता–चप्पलबाटै युवायुवतीले एक–अर्कालाई जाँचिरहेका हुन्छन् । धुलोमा हिँड्ने खुट्टा र फोहोर बिसाउने ट्वाइलेटको परीक्षण नै चेतनशील मानिसको परिचय बन्ने गर्छ ।

नेपालले सन् १९९८ मा पहिलोपटक ‘भ्रमण वर्ष’ मनाएको थियो । त्यसबेला अत्यधिक पर्यटक भित्र्याउने लक्ष्य लिएर भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर सरकारले प्रचार गऱ्यो । त्यसपछिका वर्षमा पनि नेपालले भ्रमण वर्षहरू घोषणा गरेको थियो । माओवादी द्वन्द्वका कारण शिथिल थियो त्यसताका पर्यटन क्षेत्र । व्यवसायीहरू जोखिम मोलेरै पर्यटन क्षेत्रमा लगानी गरिरहेका थिए । ०६३ सालमा द्वन्द्व अन्त्य भएपछि पर्यटक आगमन बढ्दै गयो । तर, सरकारले पर्यटकलक्षित सुधारका प्रयास गरेन । निजी क्षेत्रको प्रयासले मात्र पर्यटक आएका हुन् भन्ने कुरा देशभरका पर्यटन क्षेत्र घुम्यो भने स्पष्ट हुन्छ । यसका केही तथ्य छन् ।

भारतमा जस्तो खुला शौच गर्ने परिपाटी नेपालमा निकै कम भइसकेको छ । तराई र केही अति दुर्गम बस्तीहरूमा अझै बाँकी छ । तराई क्षेत्रमा भने भारतको प्रभाव भएकोले खुला शौचको समस्या खुला सिमाना रहेसम्म हट्न नसक्ने स्पष्ट देखिन्छ । भारत सरकार अहिले पनि ट्वाइलेट प्रयोग र निर्माणमा खर्बौँ बजेट खर्च गरिरहेको छ । तर, अन्धविश्वासले त्यो रकम बालुवामा पानी हालेजस्तो भइरहेको छ ।

हाम्रो तराई क्षेत्रमा पनि हालत त्यही हो । भारतसँगको सांस्कृतिक सम्बन्धले सानो प्रयासबाट तराईको शौच समस्या हल हुनेवाला छैन । पहाड र हिमाली क्षेत्रमा भने तराईमा भन्दा चेतनास्तर निकै भिन्न छ । अधिकांश नागरिकले आफ्ना घरमा शौचालय बनाएका छन् ।

हाम्रो देश सुन्दर छ, अहिले शान्त पनि छ, तर सफा छैन । हरेक पर्यटक आफैंमा ठूला प्रचारक हुन् । यहाँबाट फर्केर गएपछि घुमेको ठाउँको वर्णन गर्छन् । हाम्रो फोहोर वातावरणले गर्दा सुन्दर र शान्त मुलुकको विशेषता नै विलीन बनाइदिएको छ ।

पर्यटक पेइङ गेस्ट (पैसा तिरेर बस्ने पाहुना) हुन् । त्यो घरमा पाहुना पटकपटक आउँछन्, जुन घर सुन्दर, शान्त र सफा हुन्छ । हाम्रो देश सुन्दर छ, अहिले शान्त पनि छ, तर सफा छैन । हरेक पर्यटक आफैंमा ठूला प्रचारक हुन् । यहाँबाट फर्केर गएपछि घुमेको ठाउँको वर्णन गर्छन् । हाम्रो फोहोर वातावरणले गर्दा सुन्दर र शान्त मुलुकको विशेषता नै विलीन बनाइदिएको छ । ‘धेरै पर्यटकको मनोभावना बुझ्न सकिन्छ, तिम्रो देशमा ट्वाइलेट बनाऊ, सफा राख, हामी फेरि पनि घुम्न आउनेछौँ ।’

सरकारको इच्छाशक्ति मात्र हुनुपर्छ, प्रत्येक राजमार्ग, सडक र चोकमा ट्वाइलेट बनाउन सक्छ । यसका लागि ठूलो बजेट चाहिने योजनाको तनाव व्यहोर्नुपर्दैन । हरेक सार्वजनिक ट्वाइलेट संरक्षण र सफाइमा सरकारी कर्मचारी भर्ती गर्नुपर्छ । जसरी सभ्य र विकसित मुलुकले यही गरिरहेका हुन्छन् । जति ठूला विकास भए पनि ट्वाइलेट निर्माणमा सरकार गम्भीर नभएसम्म घुम्न आएका पर्यटक अर्कोपटक फर्केर आउने छैनन् । यसका हजारौँ उदाहरण हाम्रो मुलुकमा मात्र होइन, भारत र बंगलादेशलगायत दक्षिण एसियाका देशलाई हेरे प्रस्ट हुन्छ ।

विकासले भन्दा बढि सफाइले पर्यटकको मन जित्छ । आएका पर्यटकलाई फेरि फर्काउने, नयाँ लाखौँ पर्यटक भित्र्याउने मुख्य आधार भनेकै सफाइ हो । यसको शुरुवात सरकारले देशभरमा हजारौँ ट्वाइलेट निर्माण गरेर देखाउन सक्नुपर्छ ।