नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । सो अवसरमा जापानमा भएको १२ औं सिजी निसिमुरा अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता रिमला राई र कांस्य विजेता पुरुषोत्तम पोखरेल सम्मानित भए ।
त्यस्तै भारतको राजस्थानमा भएको इमास एसियाली खुला कुमुते प्रतियोगिताका स्वर्णधारी चित्रप्रसाद श्रेष्ठ, एलोन श्रेष्ठ, कुइसाङ लामा, मिङमार लामा, सुस्मिता वाईबा, साजन दोङ, सागर चौलागाईं, नवराज पुरी, युवराज पुरी र रमिता माझीलाई सम्मान गरिएको थियो । रजत विजेता सुजन मल्ल र व्यवस्थापक नेत्रबहादुर भुजेल पनि सम्मानित भएका थिए ।
उक्त प्रतियोगितामा नेपाल १० स्वर्ण र १ रजतसाथ टिम उपविजेता भएको थियो । खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले सम्मानित गरेका थिए ।
सो अवसरमा संघको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख ३० गतेदेखि हुने पनि जानकारी गराएको थियो । प्रतियोगितामा ९ राष्ट्रको सहभागिता निश्चित भइसकेको नेपाल कराते महासंघका महासचिव समेत रहेका आयोजक संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए । बसुन्धारामा हुने दुईदिने प्रतियोगितामा ४ सय ९५ खेलाडीले विभिन्न ३७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया