कुराँस खेलाडी वाईपास

कुराँस खेलाडी वाईपास


– श्रीविक्रम भण्डारी

नेपाल कुराँस संघ पुनः विवादमा तानिएको छ । आउँदो भाद्र २ गतेदेखि इन्डोनेसियाको राजधानी जकार्तामा संचालन हुन गैरहेको १८ औं एसियाली खेलकुद प्रतियोगितामा विना छनोट हचुवाको भरमा खेलाडीहरूको नाम सिफारिस गरेपछि संघ विवादमा तानिएको हो ।

प्राप्त जानकारीका अनुसार संघले आगामी एसियाडका लागि दुईजना खेलाडी र एक प्रशिक्षकको नाम सिफारिस गरेर केहि महिना अगाडि नै पठाएको थाहा भएको छ । संघले सिफारिस गरेर पठाएको दुईजना खेलाडीहरूमा महिलातर्फ भगवती माझी, पुरुषतर्फ उपेन्द्र थापा र प्रशिक्षकमा दीपक श्रेष्ठ रहेका छन् ।

संघले सिफारिस गरेका तीनजना खेलाडी र प्रशिक्षकमध्य भगवती माझी मात्रै कुराँसकि खेलाडी हुन् । अर्का खेलाडी उपेन्द्र थापा र प्रशिक्षक दीपक श्रेष्ठ विशुद्ध जुडो खेलाडी हुन् । यी दुवैले अहिलेसम्म कुराँस खेलको कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका छैनन् । साथै कुराँस खेलको नीति नियमको वारेमा उनीहरूलाई कुनै जानकारी छैन् । र, पनि यी विशुद्ध जुडोका खेलाडी र प्रशिक्षक १८ औं एसियाडको लागि खेलाडी र प्रशिक्षकरुपमा कसरी छनोटमा परे त्यो अहिले खेलकुदमा व्यापक चर्चा विषय बनेको छ ।


नेपाल कुराँस संघले हचुवाको भरमा कसैको स्वार्थसिद्ध गर्न वास्तविक खेलाडीलाई पाखा लगाएपछि अहिले कुँरासका खेलाडीहरूले आफुहरूमाथि संघले अन्याय गरेको बताएका छन् । कुराँसका राष्ट्रिय खेलाडीद्वय अस्मिला छन्त्याल र जयन्ती श्रेष्ठले कुराँस संघले छनोट नै नगरि आफुखुशी खेलाडी छनोट गरेर एसियाडमा पठाएको आरोप लगाएका छन् ।

संघले छनोट नै नगरि एसियाडको लागि खेलाडीहरू छनोट गरेको जानकारी पाएपछि उनीहरूले संघका अध्यक्ष ध्रुब न्यौपानेसंग सम्पर्क गर्दा उनले खेलाडी र प्रशिक्षकको छनोट पहिल्यै भैसकेको जानकारी गराएको बताएका छन् । के आधारमा छनोट गरियो भन्ने खेलाडीहरूको जिज्ञासमा अध्यक्षले मौनता साँध्दै राष्ट्रिय खेलकुद परिषदले पठाएको दुईवटा कोटामा खेलाडी छनोट भैसकेको बताउँदै तिमीहरू जान चाहने भए आफ्नो खर्चमा जानुपर्ने खेलाडीहरूलाई भनेको थाहा भएको छ ।

स्मरण रहोस, अस्मिला छन्त्याल र जयन्ती श्रेष्ठ कुराँसका वास्तविक खेलाडी हुन् । यी दुवै खेलाडीले सन २०१७ मा आयोजना भएको ओलम्पिक डे रनमा आफ्नो तौल समुहमा स्वर्ण पदक जितेका थिए । त्यस्तै यी दुवै खेलाडीले सेप्टेम्वर २०१७ मा तुर्केमिनिस्तानमा सम्पन्न भएको एसियन इन्डोर गेममा सहभागिता जनाएका थिए । अस्मिला त्यस्ती खेलाडी हुन जस्ले एक महिना उज्वेकिस्तानमा कुराँसको प्रशिक्षण लिएकि थिइन् । तर अहिले यी खेलाडीहरूलाई संघले किन वाइपास गरेर जुडोका खेलाडीलाई नक्कली कुराँसका खेलाडी बनाएर एसियाडको लागि नाम पठायो त्यो रहस्य र खोजीको विषय बनेको छ । यसमा षडयन्त्रको गन्ध आएको छ ।

छन्त्याल र श्रेष्ठले आफुहरू खेलाडी भएर पनि खेल्न पाउने हक अधिकारबाट बन्चित भएको गुनासो पोख्दै एसियाडको लागि कुराँस संघले खेलाडीहरूको छनोट गर्नुपर्ने बताए । आफुले यसको जानकारी संघका अध्यक्षलाई मौखिक र लिखित रुपमा गराइसेकेको बताउँदै संघले कुनै सुनुवाई नगरे राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई आफुलाई परेको मार्काको वारेमा जानकारी गराउने प्रस्ट पारे । हामीलाई विश्वास छ, संघले हाम्रो हक अधिकारमाथि हस्तक्षेप गरेपनि राखेपले गर्दैन भन्ने ।

हामी कुँरास खेलमा कुनै विवाद गर्न चाहदैनौं, किनकि हामी कुराँसका खेलाडी हौं । हाम्रो जिज्ञासा भनेको एसियाडमा कुराँसको खेलाडीको छनोट कसरी भो र कुन मापडण्ड नीति–नियमअनुरुप भो ? यति मात्रै हो । अर्को कुरा कुराँस खेलाडी छँदाछँदै किन जुडोका खेलाडीको नाम एसियाडमा पठाइयो ? यसप्रति हाम्रो ठूलो असहमति छ । त्यस कारण अव छनोट हुनुपर्छ, जो जित्छ त्यहीँ एसियाडमा जान्छ, हाम्रो माग यति नै हो ।

त्यस्तै अहिले पनि कुराँसमा दुईजना प्रशिक्षक रहेको जानकारी प्राप्त भएको छ । ती प्रशिक्षकहरूमा प्रदीप श्रेष्ठ र प्रताप घिसिङ रहेको स्रोतले जनाएको छ । यी दुईमध्य श्रेष्ठले कुराँसको वल्र्ड च्याम्पियनसिपमा पदक जित्नुको साथै भियतनाममा सम्पन्न एसियन गेम तथा उज्वेकिस्तानमा प्रशिक्षणको ट्रेनिङ लिएको बुझिन आएको छ । त्यस्तै प्रतापले ओलम्पिक डे रनमा प्रशिक्षणको भूमिका निभाएका थिए । तर कुराँस संघले यी प्रशिक्षकलाई वाइपास गर्दै कुराँस खेलको कुनै जानकारी नभएका जुडोका दीपक श्रेष्ठलाई एसियाडमा प्रशिक्षक बनाएको छ । उपेन्द्र थापा खेलाडी र दीपक श्रेष्ठ प्रशिक्षक नभएको कुराँस संघका अध्यक्ष ध्रुव न्यौपानेले पनि बताएका छन् । अध्यक्ष न्यौपानेसँग फोनवार्ता गर्दा श्रेष्ठ कुराँस खेलाडी भएको र श्रेष्ठले नै थापालाई प्रशिक्षण गराइरहेको बताएका थिए । साथै यतिबेला संघका कुनै पनि प्रशिक्षक नभएको दाबी पनि गरेका थिए ।

जुडोका खेलाडीलाई नक्कली कुराँस खेलाडी र प्रशिक्षक बनाएर एसियाडको लागि नाम सिफारिस गरेर पठाएपछि अहिले संघका पदाधिकारीबीचमै विवाद उत्पन्न छ । संघको छलफल र निर्णयविना कसरी हचुवाको भरमा खेलाडी छनोट गरियो त्यसको वारेमा संघका अध्यक्ष न्यौपानेलाई ¥याक¥याक पारेको स्रोतले बताएको छ । त्यस्तै संघले एसियाडका लागि सिफारिस गरिसकेकी भगवती माझीलाई भारतको दिल्लीमा किक बक्सिङ खेल्न पठाएको बारेमा पनि प्रश्न उठेको छ । माझी कुराँसको खेलाडी भएर कसरी किक बक्सिङ खेल्न गइन त्यसको जवाफ अध्यक्ष न्यौपाने कसरी दिन्छन् त्यो प्रतिक्षाको विषय बनेको छ ।