मुस्ताङमा मात्रै भारतको ४० करोड बढि लगानी

मुस्ताङमा मात्रै भारतको ४० करोड बढि लगानी


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भम्रणको सूचीमा हिमाली जिल्ला मुस्ताङ समेत रहेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने भएपछि मुस्ताङमा सुरक्षासहित ब्यापक तयारी गरिएको छ ।

छिमेकी जिल्ला म्याग्दीको सिमानादेखि उपल्लो मुस्ताङसम्म सुरक्षासहित स्थानीयले स्वागत गेटसहितको तयारी गरेका छन् । मोदीको भ्रमणलाई मुस्ताङीको प्राथमिकतामा पर्नुको अर्को कारण भारतीय दुतावासबाट मुस्ताङमा शिक्षा, स्वास्थ्य, सामाजिक, विकास निर्माण लगाएतका क्षेत्रमा भारतले देखिने गरी ४० करोडको हाराहारीमा लगानी गरेको छ । साविकको धौलागिरी अञ्चलभित्रका अन्य जिल्लाको तुलनामा ठुलो लगानी मुस्ताङमा केन्द्रित छ ।

मुस्ताङसंग सिमाना जोडिएको चिनको तुलनामा भारतको लगानी तेब्वरभन्दा धेरै छ । तिब्वतको सिमानामै पर्ने लोमान्थाङ र छोन्हुपमा रहेका गुम्बामा तिब्वती पाठ्यक्रमलाई सघाउन भारत सरकारले गुम्बा विद्यालयमा लगानीलाई प्राथमिकता दिएको छ । जिल्ला समन्वय समिति मुस्ताङले उपलब्ध गराएको विवरणमा पछिल्लो एकदशक यता भारतीयको लगानीमा सम्पन्न भएका आयोजनाको कुल लागत ३३ करोड ९ लाख ६१ हजार रहेको छ ।

भारतीय लगानीको ठुलो हिस्सा सामुदायिक विद्यालय र गुम्बा शिक्षामा रहेको जिसस मुस्ताङका प्राविधिक अनन्त बरालले जानकारी दिए । भारतीय लगानीमा नेपाली पाठ्यक्रम अध्ययन हुने सामुदायिक विद्यालय र गुम्बा शिक्षामा ठुलो लगानी रहेको छ । त्यस्तै नदी नियन्त्रण, समुदायिक भवन, धर्मशालामा करोडौ लगानी गरिएको छ । ‘भारतीय सरकारको लगानीबाट मुस्ताङमा आवश्यक धेरै संरचनामा सहज भएको छ ।’ जिससका इन्जिनियर रविन्द्र तिवारीले भने, ‘भारतीय प्राथमिकतामा मुस्ताङ पर्नुले मुस्ताङीलाई राहत मिलेको छ ।’ भारतीय लगानीमा सम्पन्न भएका संरचना प्रयोगमा आइसकेको बताउँदै आसन्न भारतीय प्रधानमन्त्रीको भ्रमणले समेत मुस्ताङमा आवश्यक लगानीमा भारत सरकारको प्राथमिकतामा पर्ने अपेक्षा समेत गरेका छन् ।

चीनको सिमाना जोडिएका गाउँमा रहेका जिर्ण गुम्बाको भारतीय लगानीमा धमाधम पूननिर्माणले छिमेकी देश चीनले समेत चासोपूर्वक हेर्ने गरेको छ । तिब्वती पाठ्यक्रम अध्ययन, अध्ययपन हुने गुम्बालाई परामर्श केन्द्रको रुपमा समेत हेर्न गरिन्छ । ‘तिब्वतकै सिमानमा करोडका संरचना भारतीय लगानीमा बन्न थालेका छन् ।’ एक स्रोतले भन्यो, ‘भारतको यहाँ धेरै चासो बढ्नुको कारण पत्ता लगाउन सकेका छैनौं ।’ स्रोतका अनुसार भारतीय लगानी तिब्वती भाषाको संरक्षण र भारतमा सञ्चालित गुम्बाको सहयोगमा मुस्ताङसम्म पुगेको बताए ।

गुम्बा शिक्षामा भइरहेको लगानीमा शिक्षाका अधिकारीले समेत चासो देखाउँदै आइरहेका छन् । भारतीय टोलीको स्थलगत अनुगमन तथा त्यहाँ पुगेर सिमित ब्यक्तिसंग छलफल गरी लगानी गर्ने गरिएको उनको भनाई छ । छिमेकी चीनले गुम्बामा लगानीभन्दा पनि सामुदायिक विद्यालयलाई प्राथमिकता दिने गरेपनि भारतीय लगानी गुम्बामा केन्द्रित रहेको प्रति मुस्ताङका दलका नेता समेत चिन्तित छन् ।

नयाँ संविधान जारी भएपछि भारतीय लगानी भित्रिएको छैन् । भारतीय लगानीमा उपल्लो मुस्ताङमा बनेका गोन्पा (गुम्बा)मा छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरका साथै विभिन्न जिल्लाबाट आउने गरेको गुम्बाका पुजारीको भनाई छ । चीन–नेपाल सम्बन्ध सुध्रिन थालेपछि चीनसँग सीमा जोडिएका जिल्लाहरूमा रणनैतिक रुपमा एकदशक यता प्राथमिकतामा राखेर लगानी गरिरहेको छ । चीनको सिमानामै भारतीय सहयोग पुग्नु, न्युन संख्या रहेका विद्यालयमा समेत करोडौका संरचना बन्नुलाई मुस्ताङ्गमा चीनको प्रभाव कम गर्न र भारतीय प्राभव कायम गर्न भारतीय परियोजना चलाएको स्रोतको दाबी छ ।
‘मोदीले मुक्तिनाथको विकासमा सहयोगको घोषणा गर्न सक्छन् ।’आगामी बैशाख २९ गते मुस्ताङको मुक्तिनाथको दर्शनका लागि आउने भारतीय प्रधानमन्त्रीले मुक्तिनाथ मन्दिरसहित सम्रग विकासका लागि प्याकेज घोषणा गर्न सक्ने सम्भावना रहेको स्थानीय सरोकारावालाको भनाई छ ।

मुक्तिनाथ मन्दिरमा हालसम्म भारतीयको प्रत्यक्ष लगानी नभएको अवस्थामा स्वयम मोदीको भ्रमणमा मन्दिर सहित आसपासका क्षेत्रको पूननिर्माण लगाएतका क्षेत्रमा सहयोगको सम्भावना रहेको बताइन्छ । ‘भ्रमणलाई सफल बनाउन दिनरात खटिएका छौं । उनकोे भ्रमणमा मुक्तिक्षेत्रको विकासमा सहयोगको घोषणा हुनेमा आशाबादी छौं ।’ बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष धारा गुरूङले भने । उनले भ्रमण सफल बनाउन गाउँपालिलाले समेत आफ्नो तयारी गरेको बताउँदै भारतीय प्रधानमन्त्रीको उपस्थिती नै इतिहाँसिक भएको बताए ।

मुक्तिनाथ भारतीय दुतावासबाट धर्माशाला र खानीपानीमा लगानी गरेको छ । स्थानीयको तयारीबाट समेत भारतीय टोली दंग पर्नेछ । सरकारी संगै गाउँपालिकाको तयारीलाई भारतीय दुतावासबाट पुगेका कर्मचारीले समेत खुसी ब्यक्त गरेका छन् । भूकम्पले मुक्तिनाथ मन्दिर आसपासका क्षेत्र चर्किएको छ । मुक्तिनाथ मन्दिरको भेटी समेत सदुपयोग नहुदाँ जिर्ण संरचना मर्मत तथा नयाँ बनाउन सकिएको छैन् । भारतीय टोली सडक मार्गको प्रयोग गरी तीनदिन अगाडी नै मुस्ताङ पुगिसकेका छन् ।

कुन क्षेत्रमा भारतको कति लगानी
– जनहित मावि जोमसोम २ करोड ५० लाख
– महाकरुणा साकेपा विद्यालय लोमान्थाङ २ करोड ५० लाख
– मुक्तिनाथ धर्माशाला २ करोड ६४लाख
– जनआर्दश मावि कोवाङ २ करोड ९९ लाख
– जनशान्ति मावि पुस्तकालय कागबेनी ४२ लाख ९१ हजार
– कालिगण्डकी नदी नियन्त्रण कागबेनी २ करोड ९६ लाख
– योगेन्द्र मावि टुकुचे ४ करोड ७८ लाख
– महाकरुणा साकेपा खानेपानी ट्याक्की ९ लाख ६४ हजार
– झारकोट सामाज घर ५२ लाख ३५ हजार
– कालिगण्डकी पक्की मोटरेवल पुल ४ करोड ९९ लाख
– मुक्तिनाथ धर्मशाला रानीपौवा खानेपानी आयोजना १ करोड ३ लाख
– मुन्चे पाङ्कर खम्चेनलिङ गुम्बा, किचन निर्माण ४ करोड ८५ लाख
– नाग्याल गुम्बा विद्यालय २ करोड ८२ लाख