बढी शौचालय बनाउनेमा झापा पहिलो

बढी शौचालय बनाउनेमा झापा पहिलो


रेजिना गौतम, झापा

एक वर्षमा ३४ हजार बढी शौचालय निर्माण गरेर वार्षिक रूपमा सबैभन्दा बढी शौचालय निर्माण झापा पहिलो भएको छ ।

पटक–पटक खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्षित मिति असफल भएपनि एक वर्षमा ३४ हजार ३२० वटा शौचालय निर्माण गरेर झापाले देशभरमै नयाँ रेकर्ड राखेको खानेपानी सरसफाई तथा सामाजशास्त्री कमल अधिकारीले जानकारी दिनुभयो ।

झापालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानको रफ्तार सुरु भएसँगै झापाका हरेक स्थानीय तहमा शौचालय निर्माणको कार्यले तीव्रता पाएको छ ।

कुल १ लाख ८२ हजार ९ सय बढी घरधुरी रहेको झापामा ९७ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको युएन ह्यावीटाटका जिल्ला संयोजक विनोद शर्माले जानकारी दिनुभयो ।

वार्षिक रुपमा सबै भन्दा बढी शौचालय निर्माण गरेर रेकर्ड राखे पनि ३ प्रतिशतका कारण जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न अवरोध भएपछि जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समिति/खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाको आयोजना एवम् खानेपानी तथा ढल निर्माण विभागको सहयोगमा विर्तामोडमा जनप्रतिनिधि साथै सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागी स्थानीय तहका प्रतिनिधिहरुले शौचालय निर्माणका लागि सप्लाई साइड व्यवस्थापन गर्न सके जेठ १५ भित्रमा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षता तथा विभागका उपनिर्देशक मधु घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभागका देवेन्द्र झा, कमल अधिकारी, भोगेन्द्र अर्याल, युएन ह्यावीटाटका जिल्ला संयोजक विनोद शर्माले सहजीकरण गर्नुभएको थियो ।

रुद्र न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा डिभिजन कार्यालयका सिताराम काफ्ले स्वागत गर्नुभएको थियो ।