पुण्यप्रसाद प्रसाईं (लेखक एवम् प्रकाशक)
पच्चीसभन्दा बढी कृतिका सर्जक पुण्यप्रसाद प्रसाईं नेपाली साहित्यमा चिनिएको नाम हो । अनुवादक र सम्पादकका रूपमा समेत परिचित प्रसार्इं डिकुरा पब्लिकेसनका अध्यक्ष पनि हुन् । उनको प्रकाशोन्मुख कृति ‘युद्धका डोबहरू’ प्रकाशनअघि नै निकै चर्चामा छ ।
० तपाईंको प्रकाशोन्मुख उपन्यास युद्धका डोबहरूको निकै चर्चा सुनिन्छ नि, कस्तो उपन्यास हो यो ?
– यो उपन्यासले सपना देख्न प्रेरित गर्छ । यदि तपाईं मानिस हो भने तपाईंसँग सपना हुन जरुरी छ, ठूलाठूलै सपना । तपाईं आज के हुनुहुन्छ त्यो त्यति महत्व राख्ने कुरा होइन, बरु तपाईंसँग कत्रो सपना छ त्यो ठूलो कुरा हो । युद्धका डोबहरूले मानिसलाई सपना देख्न प्रेरित गर्छ । यो उपन्यासले भन्छ– जोसँग सपना छैन उससँग केही पनि छैन ।
० सपना देखेर मात्र हुन्छ त ? सपना त असम्भव कुरा हो नि, होइन र ?
– मानिसका सबै कुरा एउटा सपनाबाट सुरु हुन्छ । तपाईंको आजको सपनाले नै तपाईंको भविष्य निर्धारण गर्छ । तपाईं आज जे हुनुहुन्छ हिजोको सपनाको कारणले हुनुहुन्छ । मेरो उपन्यास युद्धका डोबहरूले सपना देख्न मात्र होइन सपनामा काम गर्न पनि प्रेरित गर्छ । असम्भव भन्ने कुरामा मेरो उपन्यास ‘युद्धका डोबहरू’ विश्वास गर्दैन । यसले भन्छ– यदि तपाईंसँग टाउको छ भने तपाईंसँग मस्तिष्क छ, तपाईंसँग मस्तिष्क छ भने तपाईं सपना देख्न सक्नुहुन्छ । यदि तपाईं सपना देखेर त्यस दिशामा काम गर्नुहुन्छ भने त्यो पूरा हुनसक्छ चाहे त्यो जति नै असम्भव लाग्ने खालको किन नदेखियोस् । त्यसकारण म सबैलाई भन्छु– सपना देख्न नडराउनुस् । ठूलो सपना देख्नुस्, एकदमै ठूलो ।
० तपाईं आफ्नो उपन्यास युद्धका डोबहरूको विज्ञापन ‘लाखौं प्रति बिक्रीको लक्ष्यसहित’ गरिरहनुभएको छ, तर यति सानो बजारमा लाखौं प्रति उपन्यास कसरी बिक्लान् ?
– यसको मतलब के होइन भने तपाईं अरू मानिसले आजसम्म नसोचेको कुराको कल्पना नै नगर्नुहोस् । सोच्नका लागि पनि ब्रह्माण्डले तपाईंलाई स्वतन्त्रता दिएको छ । तपाईं कुनै कुरा सोच्नुहुन्न भने पाउनुहुन्न । हाम्रो अवचेतनले पनि गुरुत्वाकर्षणको जस्तै नियमले काम गर्छ । हामी जुन कुरा पाउने छनोट गर्छौं, जे प्राप्तिको लक्ष्य राख्छौँ त्यो पाउन सक्छौँ । केबाट कुनै फरक पर्दैन भने त्यो कुरा कति ठूलो छ । कुनै पनि कुरा चाहे जति नै ठूलो होस् तपाईं सोच्न सक्नुहुन्छ, सपना देख्ने हिम्मत गर्नुहुन्छ भने त्यसलाई पाउन पनि सक्नुहुन्छ । युद्धका डोबहरूपछि अरू धेरै लेखकले एक लाख प्रतिको बिक्री लक्ष्य लिनेछन्, किनकि तेन्जिङको पैतालाले नटेकिएसम्म त सगरमाथाको चुचुरो सपनाभन्दा बढ्ता केही थिएन ।
० त्यस्तो के छ यो उपन्यासमा ?
– युद्धका डोबहरू एउटा त्यस्ता युवाको कथा हो जसले महान् सपना देख्ने हिम्मत गर्छन् र कायापलट गर्छन्, चमत्कार गर्छन् जीवनमा । सीमित साधन र स्रोतबाट अकल्पनीय परिणाम निकाल्न सक्ने एक साहसी युवकको कथा हो यो । यो उपन्यास एउटा आशा हो र हो आत्मविश्वास । युद्धका डोबहरूले असम्भवलाई खारेज गर्छ र केवल भन्छ, हिम्मत ! हिम्मत !! हिम्मत !!!
० पाठकको ध्यान कविता, गीतभन्दा बढी आख्यानले तानेको यो समय, तपाईंको नयाँ आउने उपन्यास युद्धका डोबहरूले कसरी आफूलाई अब्बल सावित गर्न सक्छ ?
– कविता र गीत कहिल्यै नमर्ने कुरा हुन्, किनकि यो मानव हृदयको भाषा हो । तर, पद्य कविता भने यस जगत्मा चाँडै लेख्न छोडिनेछ । सम्भवत: डाइनोसरकै हविगत हुनेछ पद्य कविताको । तर, यो युग आख्यानको युग हो । र, मलाई विश्वास छ– जसरी मैले उपन्यास छापामारमार्पmत नेपाली साहित्यमा छोटो–छोटो संवाद र प्रस्तुतिको फरक शैलीको सुरुवात गरेँ, त्यही धार समातेर आज धेरै युवा लेखिरहेका छन् र उनीहरूका कृति चर्चित पनि भइरहेका छन्, त्यसैगरी युद्धका डोबहरूपछि नेपाली साहित्यको लेखन धार नयाँ रूपमा देखापर्नेछ । अर्को तरिकाले पनि लेख्न सकिने कुरामा नेपाली लेखक चनाखो हुनेछन् ।
० साहित्य भएन भने मान्छेको जीवन कस्तो होला ?
– मान्छे नभएर पनि पृथ्वीमा अस्तित्व रहेजस्तो, साहित्य नभए पनि मानिसको अस्तित्व नरहने त होइन, तर साहित्यले जीवनलाई जीवन्त र कलात्मक बनाउँछ । जीवनलाई उत्सवमा परिणत गर्छ । यसले मानिसमा आत्मीय भाव र विवेकको विकास गर्छ ।
० तपाईं फ्लप उपन्यासकार कि हिट ?
– एक लाख प्रति बिक्री भएको डिकुरा पब्लिकेसनले छापेको सलिना थापाको उपन्यास पर्दाफास र साठी हजार बिक्री भएको कृष्ण अविरलको रक्तकुण्डलाई एकछिन अलग गर्ने हो भने यो देशमा नारायण वाग्लेको उपन्यास पल्पसा क्याफेपछि बीस हजारभन्दा बढी बिक्री भएको मेरो उपन्यास छापामारलाई उछिन्न अहिलेसम्म अरू उपन्यासले सकेको छैन । बिक्रीलाई आधार मान्ने हो भने म एउटा बेस्टसेलर राइटर भएँ । अब प्रस्तुति र शैलीकै कुरा गर्ने हो भने पनि तपार्इं छापामारसँगसँगै राखेर अरू कृतिहरू पढेर बुभ्mन सक्नुहुन्छ । अब तपाईं नै छुट्याउन सक्नुहुन्छ ।
० त्यसो भए बिक्री नै सबै कुरा हो त ?
– एफ. स्कट फिट्जर दुई उपन्यास ‘द ग्रेट ग्याट्स्वी’ र ‘टेन्डर इज द नाइट’लाई सदावहार सिर्जना मानिए पनि त्यतिबेला यी खासै बिकेनन् । बीसौँ शताब्दीको सुरुसम्म सम्पूर्ण महिलाले पनि यौनसम्पर्कको मजा लिन र उत्तेजनामा आउन पाउनुपर्छ भन्ने कुरा बन्देज थियो । मेरी स्टोप्सले गर्भनिरोधसम्बन्धी सिद्धान्तहरू ‘म्यारिड लभ’ र ‘वाइज प्यारेन्टहुड’ भन्ने पुस्तकहरू प्रकाशन गर्नुअघि ती पुस्तकलाई अमेरिकामा प्रतिबन्धित गरिएका थिए र इङ्ग्ल्यान्डमा जोडदार आलोचना गरिएको भए पनि ती दुवै पुस्तक धेरै बिके । विलियम गोल्डिङको उपन्यास लर्ड अफ फ्लाइज २१ वटा प्रकाशकले फिर्ता गरिदिएका थिए । जब छापियो तब अमेरिकन पाठकले धेरै मन पराए । यी सबै उदाहरण किनभने सफलताको मापदण्ड केवल एउटा मात्र हुन सक्दैन । बिक्री नै नभए पनि कति बुक महान् हुन सक्छन्, तर बिक्री सफलताको ठूलो आधार हो । संसारमा प्रकाशकले त्यही लेखकलाई माया गर्छन् जसका बुकहरू लार्ज स्केलमा बिक्री हुन्छन् ।
० तपाईं आफूलाई कुन स्तरको साहित्यकार मान्नुहुन्छ, अर्थात् तपाईं आफूलाई कोजस्तो लेखक भन्न मन पराउनुहुन्छ ?
– म न कोहीभन्दा कम (इन्फेरियर) छु न कोहीभन्दा ज्यादा (सुपेरियर) छु । हामी जे छौँ त्यसलाई निखार्ने हो र आफूलाई सम्मान गर्ने हो । जसले आफूलाई सम्मान र आदर दिँदैन त्यसले अरूलाई पनि त्यो दिँदैन । सर्वप्रथम हामीले आप्mनो अस्तित्व स्वीकार्नुपर्छ । दाँजिनु मूर्खता हो । साहित्यकारहरूको पोर्टफोलियो मिलाएर राखिँदैन । मतलब स्तर छुट्याइँदैन । हरेक लेखक केही न केही भन्न खोजिरहेका हुन्छन् । सबैका कुरा सुन्नुपर्छ ।
० तपाईंको खण्डकाव्य ‘बुद्धहरू युद्ध माग्दैनन्’ सेक्स र कामुकता र हिंसाको जोड भन्छन् नि ?
– नित्सेको सबैभन्दा महत्वपूर्ण कृति ‘दश स्पेक जराथुस्ट्र’ भन्ने हो जुन मैले अनुवाद पनि गरेको छु, तर उनको अर्को कृति ‘मेरी बहिनी र म’ ले उनको दमित यौनको यात्रा बताउँथ्यो, उनले गरेका मध्यमखाले यौन क्रियाकलाप र उनले जीवनमा देखेका असाध्य अश्लील यौन परिकल्पनाहरू लेखेका छन् ।
सन् १९६० मा लन्डनको एउटा अदालतले डी.एच. लरेन्सको उपन्यास ‘लेडी चटर्लीको प्रेमी’लाई सेन्सर नगरिकन छाप्न अनुमति दिएपछि एउटा नयाँ दशकको आरम्भ भयो, जसलाई स्विमिङ सिक्स्टीको दशक भनिन्छ । यसको मतलब के हो भने कुन विषयमा लेखिएको छ त्यसमा न्याय गर्ने कुरा हो । बुद्धहरू युद्ध माग्दैनन्मा मैले युद्धलाई हकारेर प्रेमलाई उभ्याएको छु । अब युद्ध छ भने हिंसा त छ नै र प्रेम छ भने यौन पनि सँगै हुन्छ किनकि यी एउटा सिक्काका दुईवटा पाटा हुन् ।
० लेखकीय योजना केही छन् कि ?
– अब म केही लेख्छु भने पाठकमा उत्साह, प्रेरणा र आशाको सञ्चार गराउने उद्देश्यले मात्र लेख्छु । ‘युद्धका डोबहरू’पछि म अर्को उपन्यास ‘कुम्लेल्यान्ड’ लेख्नेछु । र, त्यसपछि मेरो अधुरो रहेको गद्य महाकाव्य पनि सकाउने सोच बनाइरहेको छु ।
० अन्त्यमा… ?
– एक दिन कसैले हेलेन केलरलाई सोध्यो, ‘यो संसारमा अन्धो जन्मनुभन्दा नराम्रो कुरा अरू के होला ?’ हेलेनको जवाफ थियो, ‘आँखा भएर पनि सपना नदेख्नु ।’ त्यसकारण सपनाको महत्व छ र हरेक मानिससँग एउटा समृद्ध सपना हुन जरुरी छ भनेर ठूलो स्वरमा बोल्छ यो उपन्यास युद्धका डोबहरू ।
म चाहन्छु हरेक मानिसले आप्mनो सपनालाई सलाम गरोस् । र, अर्काको सपनामा नहाँसोस् । एक लाख प्रति बिक्री लक्ष्य कुनै हाँस्नुपर्ने कुरा हो जस्तो मलाईचाहिँ कहिल्यै लागेन ।
प्रतिक्रिया