राष्ट्रिय ब्याडमिन्टनमा जेसिकालाई दोहारो सफलता

राष्ट्रिय ब्याडमिन्टनमा जेसिकालाई दोहारो सफलता


झापाकी जेसिका गुरुङले योनेक्स सनराईज सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधिसंगै राष्ट्रिय च्याम्पियन बनेकि छिन् । गुरुङले महिला एकल र यु–१९ तर्फ उपाधि जितेकी हुन् । तामाङ्ग परिवारको एक छत्र राजलाई तोड्दै गुरुङले सेमिफाइनलमा नम्बर एक खेलाडी नङ्गशल तामाङ्ग र फाईनलमा सेनाकी रशिला महर्जनलाई सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण पदक जित्न सफल भएकि थिइन् ।

दोहोरो स्वर्ण जितेपछि प्रफुल्ल हुँदै गुरुङ्गले आफु नयाँ प्रशिक्षक तथा नयाँ प्रशिक्षण स्थल प्राप्त गर्नाका कारण प्रतियोगितामा जित निकाल्न सकेको बताईन् । गुरुङ्गलाई हाल पूर्व प्रशिक्षक बिकास श्रेष्ठले जेष्ट ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण प्रदान गर्दै आईरहेका छन् ।

गुरुङ्गले महिला एकलतर्फ नगद ५० हजार र यु १९ तर्फ नगद १५ हजार गरि ६५ हजार नगद सहित मेडल प्रमाण पत्रका साथै ट्रफी प्राप्त गरिन् । महिला एकल तर्फ दोश्रो हुने खेलाडीले २५ हजार र तेश्रोले १० हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै यु १९ तर्फ दोश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ हजार र तेश्रोले ४ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

महिला जोडी तर्फ जितको आशा जितेकी गुरुङ्ग फाईनलमा सेनाका नङ्गशल तामाङ्ग र अनु राईको जोडीसंग सोझो सेटमा पराजित भएकि थिइन् । गुरुङ्गको जोडी सुनैना मुखिया थिईन् । बिजेता टिमले पहिलो भए बापत २० हजार, दोश्रोले १० र तेश्रोले ५, ५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

एमाले भातृ संगठन खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ आफ्नो जितलाई निरन्तरता प्रदान गर्दै सेनाका रत्नजित तामाङ्ग बिजयी भए । उनले एपीएफका धामीलाई सोझो सेटमा पराजित गरेका थिए । तामाङको पुष्पलाल स्मृतीमा यो छैटौं बिजय हो । जितसंगै तामाङ्गले नगद ५० हजार मेडल र ट्रफी प्राप्त गरे । उपबिजेता धामीले नगद २५ हजार र तेश्रो हुनेले नगद १०, १० हजार प्राप्त गरे ।

पुरुष जोडी तर्फ सेनाका नम्बर एक रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले सफलता हात पा¥यो । तामाङ्ग र श्रेष्ठको जोडीले दिपेश धामी र बिजित थापामगरको जोडीलाई सोझो सेटमा पाखा लगाउंदै स्वर्ण जितेका हुन् । तामाङ्ग र श्रेष्ठको जोडीले नगद २० हजार, धामी र थापा मगरको जोडीले १० हजार र तृतिय हुने टोलीले नगद ५,५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष यु १९ तर्फ सेनाका प्रफुल महर्जनले आफ्नै क्लबका रुकेश महर्जनलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । यो समुहमा पहिलो नगद १५ हजार, दोश्रोले ७ हजार र तेश्रोले नगद ४, ४ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको भेट्रान्स जोडी तर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधानको जोडी ललितपुरका सुनिल शाक्य र सुगतरत्न शाक्यको जोडी माथि भारी परे । श्रेष्ठ र प्रधानको जोडीले शाक्य जोडीलाई सोझो सेट पराजित गरेका थिए । श्रेष्ठ र प्रधान जोडीले नगद १५ हजार, शाक्य जोडीले १० र तेश्रो हुनेले ५, ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री तथा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, डिआईजी तथा ब्याडमिन्टन खेलाडी ज्ञानबिक्रम शाह लगायतले पुरस्कार बितरण गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि लाई आयोजक संघका अध्यक्ष एवं राखेप सदस्य बीरेन्द्र श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए ।