नेपाल बक्सिङ संघको तत्वावधान तथा अखिल नेपाल खेलकुद संघको आयोजनामा प्रथम प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता असार ३ गतेदेखि हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा स्व. प्रकाशको स्मृतिमा प्रतियोगिता हुने लागेको हो ।
प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ८ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१ र ९१ केजी तथा ९१ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ केजीमा भिडन्त हुनेछ ।
अध्यक्ष केसीले विगतमा पनि संघले राष्ट्रिय स्तरका बक्सिङ प्रतियोगिता आयोजना गरिसकेको बताउँदै यस पटक स्व. प्रकाशको स्मृतिमा राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता आयोजना गर्न लागिएको बताए । व्यवसायी एवं संयोजक पवन अग्रवालले बक्सिङमार्फत अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण क्षेत्र खेलकुदसंग पहिलो पटक जोडिन खोजेको बताए ।
बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रतियोगिताले खेलाडीलाई ‘एक्सपोजर’ दिनुका साथै नयाँ खेलाडीको पहिचान हुने बताउदै प्रतियोगिता सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितामा विभिन्न जिल्ला, क्लब र विभागीय टिमका गरी करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
नगद पुरस्कार हाल यकिन नभए पनि खेलाडीको हौसला अभिबृद्धि गर्न टिम च्याम्पियन, उत्कृष्ट खेलाडी र प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेलाई नगदबाट पुरस्कृत गरिने राखेपका सदस्य समेत रहेका अध्यक्ष केसीले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।
प्रतिक्रिया