खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा

खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले निष्क्रिय राष्ट्रिय खेलकुद सङ्घको दर्ता खारेज गर्ने बताएका छन् । विष्टले अन्तर्राष्ट्रिय पदकविजेता खेलाडीहरूलाई सम्मान गर्ने क्रममा उक्त कुराको खुलासा गरेका हुन् । विष्टको यो खुलासासँगै खेलकुदमा निष्क्रिय रहेका सङ्घका पदाधिकारी र सङ्घलाई मागिखाने भाँडो बनाउँदै गैरकानुनी कार्य गर्दै आएकाहरूको अहिले होस उडाएको छ ।

परिषद्मा दर्ता हुने तर लामो समयसम्म निष्क्रिय रहेका र खेलकुदका कुनै गतिविधि नगर्ने राष्ट्रिय खेलकुद सङ्घहरूको छानबिन भइरहेको सो अवसरमा विष्टले बताए । सङ्घसंस्था विभागले त्यस्ता सङ्घहरूको छानबिन गरिरहेको र विभागले छानबिन गरी सिफारिस गरेपछि त्यस्ता सङ्घहरूको दर्ता खारेज गरिने विष्टले जानकारी गराएका छन् ।

यतिबेला परिषद्मा दुई सयको हाराहारीमा राष्ट्रिय खेलकुद सङ्घहरू दर्ता भएका छन् । तीमध्ये औँलामा गन्न सकिने सङ्घहरू मात्र सक्रिय छन्, जसले आफ्नो उद्देश्यअनुरूप खेलकुदको विकास र विस्तारमा योगदान दिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सक्रिय रूपमा सहभागिता जनाएका छन् । खेलको नामबाट राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सफल भएका छन् । त्यस्ता सङ्घहरूलाई विशेष प्राथमिकतामा राखिने विष्टले जनाएका छन् ।

त्यस्तै अन्य सङ्घहरूको हकमा परिषद्मा दर्ता भए पनि त्यसको दुरुपयोग सङ्घका पदाधिकारीहरूले गर्दै आएको विष्टले खुलासा गरेका छन् । उनीहरूले खेलकुद सङ्घको आडमा विभिन्न गैरकानुनी र मेनपावरको धन्दा गरेर खेलकुदलाई नै बदनाम गर्ने काम गरेको चर्चा गर्दै विष्टले त्यस्ता सङ्घहरूको पहिचान गरी दर्ता खारेज गरिने बताएका छन् ।

यतिबेला विभिन्न सञ्चारमाध्यमले खेलकुद मेनपावरको अखडामा परिणत भएको समाचार संप्रेषण गर्दै आएका छन् । खेलकुदजस्तो रचनात्मक ठाउँमा सिर्जनात्मक कार्य गर्नुको साथै मेनपावरको अखडा बनाउन खोज्नु दुर्भाग्यपूर्ण हो । यदि यस्तो गतिविधिमा राष्ट्रिय सङ्घका पदाधिकारीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन् भने उनीहरूलाई कारबाहीको दायरामा ल्याइने विष्टले उल्लेख गरे ।

यस्तो गैरकानुनी गतिविधिमा चर्चित सङ्घहरूको सहभागिता देखिए त्यस्ता सङ्घका पदाधिकारीलाई पहिले चेतावनी दिने र नमानेमा कडा कारबाही गर्ने पनि बताए । वर्तमान अवस्थामा खेलकुदका चर्चित सङ्घका पदाधिकारीहरू पनि मेनपावरको धन्दामा लिप्त रहेको गोप्य सूचना राखेपलाई प्राप्त भएको खुलासा गर्दै त्यस्ता पदाधिकारीहरूलाई सच्चिनसमेत विष्टले अनुरोध गरेका थिए ।

यतिबेला विष्ट यस्तो अभिव्यक्ति जाहेर गरेर सार्वजनिक रूपमा चर्चामा आए पनि कार्यान्वयन पक्षमा कति सफल हुन्छन् त्यो हेर्न लायक भएको छ । विष्टले सङ्घको दर्ता खारेज गर्ने कुरा जति सहज रूपमा भने त्यसको कार्यान्वयन पक्ष त्यत्तिकै जटिल र चुनौतीपूर्ण छ । त्यसका लागि उनले फलामकै चिउरा चपाउनुपर्ने देखिन्छ । तर, यस्तो चुनौतीका बाबजुद पनि विष्ट यो कार्य गर्नमा सफल भए उनको स्वर्णकालको योजनामा चार चाँद लाग्ने पक्का छ ।