तालिमपछि भूकम्पप्रतिरोधी घर

तालिमपछि भूकम्पप्रतिरोधी घर


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

भूकम्पले पूर्ण रुपमा क्षति पुऱ्याएको जिल्ललाको विकट गाउँ गुम्बामा अहिले भूकम्पप्रतिरोधी आवास निर्माणले तीव्रता पाएको छ । पहिलेदेखि नै डकर्मीको काम गरिरहेकासहित थप नयाँ डकर्मीलाईसमेत गरीबी निवारण कोषले तालिम दिएपछि स्थानीयस्तरबाटै भूकम्पप्रतिरोधी घर निर्माण सम्भव भएको हो ।

गरिबी निवारण कोषले स्थानीय साझेदार संस्था जनहित ग्रामीण सेवा समितिसँगको सहकार्यमा डकर्मी तालिम दिएपछि सुरक्षित पुनर्निर्माणले तीव्रता पाएको हो । कोषले दुई चरणमा गरी सात सात दिनको सुरक्षित आवास निर्माण सम्वन्धी तालिम सञ्चालन गरेको थियो । साझेदार संस्था जनहितले आफ्नो कार्य क्षेत्र गुम्बा, पाङताङ, बराम्चीमा पहिलो चरणमा २३ जना र दोस्रोमा २६ जना गरी जम्मा ४९ जना स्थानीयलाई सो तालिम दिएको कार्यक्रम संयोजक रुपमाया तामाङले बताइन् । ‘हामी सकेसम्म गाउँमा अब भने भूकम्प थेग्ने घर बनोस् भन्ने चाहन्थ्यौं,’ जिम्बाले भनिन् ‘हाम्रो चाहना अनुसार कोषले हामीलाई आर्थिक सहयोग उपलब्ध गरायो र हामीले तालिम सञ्चालन गऱ्यौं । अहिले भने गाउँहरूमा सुरक्षित घर निर्माणले तीव्रता पाएको छ ।’

पहिले पनि गाउँघरमा पहिलेदेखि नै डकर्मीको काम गरिरहेका गुम्बाका हिराबहादुर तामाङले राम्रो घर बनाउने गरेको भएपनि सुरक्षित घर बनाउन भने नसकेको स्वीकार्छन् । उनले बनाएका धेरै घरहरूले भूकम्प थेग्न सकेन । आफूले बनाएका सबै घर जमिनमा मिलेपछि आफ्नो सीप माथि शंका उत्पन्न भएपछि उनी तालिम लिन हौसिएका थिए । अहिले उनी भूकम्पप्रतिरोधी घर निर्माणमा खटिएका छन् भने अरुलाई पनि भुकम्पप्रतिरोधी घर बनाउन सल्लाह दिइरहेका छन् । ‘पहिले त ढुङ्गा माटोको थुप्रो मात्रै लगाइएको रहेछ । बल्ल अहिले पो घर बनाउन थालेकको छु ।’ तामाङले भने ‘जनहितको तालिमले अहिले बल्ल घर बनाउन सक्ने भएको छु ।’

भूकम्पबाट सर्वाधिक क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकमा शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा बढी धनजनको क्षति भएको पाइएपछि कोषले सो तालिम सञ्चालन गरेको कार्य प्रबन्धक अर्जुन सापकोटाले बताए । ‘शहरी क्षेत्रमा आरसिसि मोडलका घरहरू भएर कम क्षती भएको भएपनि ग्रामीण इलाकामा कमसल घर बनेका कारण नै बढी क्षति भएको हामीले अनुमान लगायौं ।’ सापकोटाले भने ‘त्यसैले पनि ग्रामीण क्षेत्रमा सुरक्षीत घर बनाउनको लागि सो तालिमको आयोजना गरेका थियौं ।’ अहिले तालिमका सबै सहभागीहरू सुरक्षित आवास निर्माणमा सक्रिय भएको र सुरक्षित घरहरू बनिरहेको जनहितकी रुपमायाले बताइन् ।