इतिहासबाट नसिक्नेहरूको गतिविधि !

इतिहासबाट नसिक्नेहरूको गतिविधि !


११ फेब्रुअरी १९७९ मा भएको क्रान्तिले इरानी राजा मोहम्मद रजा शाह सत्ता छोडेर भागे । उक्त घटनापश्चात् इरानी युवा यति खुसी भए कि क्षणभरमा मिठाई पसलहरू रित्तिए । खुसीले हर्षित भएका मानिसहरू शाहको तस्बिर च्यातिएका नोटहरू देखाउँदै सडकमा निस्किए । दुर्भाग्यवश इरानी जनताले स्वतन्त्रताको उपभोग गर्न पाएनन् । देशमा मुल्लाहरूको जगजगी सुरु भयो । एक्लोपन, आर्थिक अभाव र राजनीतिक दमनको बाबजुद ४५ वर्षपछि इरानी जनतामा गज्जबको आत्मविश्वास पलाएको छ । सांसारिक सुख-सुविधा भन्दा आत्मसम्मानलाई बढी महत्त्व दिने इरानी जनता संयमित छन् । कठिन परिस्थितिका बाबजुद देशको पक्षमा उभिन्छन् । स्वदेशी उद्योग र व्यावसायिकता मार्फत आत्मनिर्भर राष्ट्र बनाउन लागिपरेका छन् । इरानी जनता ‘संस्कृति र इतिहास’माथि गर्व गरिरहेका छन् ।

चर्को नाकाबन्दीको बाबजुद इरानी जनता र सत्ताले शक्तिशाली पश्चिमा मुलुकको स्वार्थलाई समर्थन गरेनन्÷गर्दैनन् । पश्चिमा मूल्य र मान्यताको सामु झुक्दैनन् । आफ्नै बलबुतामा, विश्वासमा, इमानमा, मिहिनेतमा उठ्दै छन् । असङ्ख्य आपत् विपतलाई कुशलतापूर्वक सामना गरिरहेका छन् । यतिबेला उनीहरू इजरायल र अमेरिकासँग औचित्यपूर्ण द्वन्द्वमा फसिरहेका छन् । सौभाग्यवश हामीले इरानको अवस्था ब्यहोरेका छैनौँ । पश्चिमा शक्तिको सम्पूर्ण आशीर्वाद सिंहदरबारले पाइरहेको छ । उनीहरूको इच्छा, चाहना, र मार्गमा हिँडिरहेका छौँ । ‘ब्रिटेन वुड्स’ संस्थाद्वारा निर्माण गरिएका नीति, कार्यक्रम पूर्णतया स्वीकार गरिरहेका छौँ । औपचारिक रूपमा हाम्रो दुस्मनी कसैसँग छैन । फेरि पनि हामी दिन दुई गुना रात चार गुना ओरालो लाग्दै छौँ, किन ? मुलुकले आफ्नै इतिहास बिर्सेको समयमा इरानको इतिहास शायद उपयुक्त नलाग्न सक्छ । यद्यपि इरानी जनताले ‘बुझेको देशभक्ति र गरेको सङ्घर्ष’ इतिहास बिर्सेको वर्तमान पुस्ताको निम्ति रामवाण बन्न सक्ने छ ।

मुलुकको कमजोर मानव विकास र सुशासनका सूचकहरूले प्रतिरोधी राजनीतिको लागि मलिलो जमिन उपलब्ध छ । ग्रामीण र शहरी संरचनामा रहेको विशाल असमानताले युवाहरूलाई छिटो तात्न मद्दत गरिरहेको छ । राजनीतिक स्वार्थहरू हाबी भएको मुलुकमा युवाहरू इतिहासबाट सिक्न चाहँदैनन् । राजनीतिक, सामाजिक घृणाले हिंसालाई उत्प्रेरित गर्दा सर्वसाधारण नागरिक पीडित बन्दैछन् । सिंहदरबारको त्रुटिपूर्ण नीतिको विरुद्ध युवाहरू आक्रोशित छन् । सामाजिक राजनीतिक रूपान्तरण एउटा जटिल प्रक्रिया हो भन्दै युवाहरू पलायनको बाटो रोज्दैछन् ।

‘गौरवपूर्ण’ इतिहास भुलेको पछिल्लो पुस्ता आर्थिक वृद्धि, असमानता र संरचनात्मक परिवर्तन लगायतका मुद्दाबाट रन्थनिएको छ । ‘आर्थिक विकास र सुशासन’लाई रहस्यमयी विषय बनाइएको समयमा ‘विचारधारा र राजनीतिक यथार्थ’ले द्वन्द्वलाई कुरेर बसेको छ । वैचारिक द्वन्द्वले उत्तेजित वातावरण सिर्जना गर्न भ्रमको साथ लिएको छ । नव शास्त्रीय अर्थशास्त्र आर्थिक विकासमा प्रवचन बोकेर उदाएको छ । नव उदारवादको अस्त्र निर्माण गर्दै चम्किएका पश्चिमा देशहरूको ‘विकास र औद्योगिक नीति’ धरमराएको छ । ‘राज्यको हस्तक्षेप र संरक्षणवाद’ आधुनिक आर्थिक सिद्धान्तको ठ्याक्कै विपरीत हो भन्दै वकालत गर्ने पश्चिमा शक्तिहरू विचित्रको अवस्थाबाट गुज्रिँदै छ । आफ्नो साम्राज्य यथास्थितिमा राख्न ‘स्वतन्त्र बजार र व्यापार’को बौद्धिक धोखाधडी गर्ने पश्चिमा नीति गरिब देशमा नियन्त्रित अस्थिरता निर्माण गर्न मरिहत्ते गरिरहेको छ । जसअन्तर्गत नालायकहरूलाई लायक स्थानमा पुऱ्याउने, देशभक्तहरूलाई निराश बनाउने र ‘उथलपुथलकारी’लाई संरक्षण गर्ने अभियान चलाइएको छ ।

सन् २००९ को आर्थिक मन्दी र कोभिड-१९ को महामारीपश्चात् उच्च आय भएका विकासशील देशहरूले स्वतन्त्र बजार सिद्धान्तलाई पालना गरेनन् । राजनीतिक र आर्थिक असमानता कायम राख्न राजनीतिक परियोजनाहरू निर्माण गर्ने शक्तिशाली देशहरूले निर्माण गरेका आधुनिक कार्यक्रमको चपेटामा गरिब मुलुकहरू नराम्रोसँग थलिएका छन् । निजीकरण, उदारीकरण र बजारवादको अन्धो पालनाले ‘असमानता र राजनीतिक अस्थिरता’ मात्र बढाएको छ । अर्थशास्त्रलाई राजनीतिबाट अलग गर्न सिकाउनेहरूको कथित स्वार्थमा मुलुक थलिएको छ । स्वतन्त्र बजार आदर्शको कथित विजयले राजनीति अपाङ्ग बनिसकेको छ । आर्थिक असन्तुलनले मुलुक नयाँ द्वन्द्वतर्फ लम्किँदै छ ।

आर्थिक वृद्धि र समग्र उत्पादकत्व वृद्धि गर्न नसकेको मुलुकले वैचारिक र बौद्धिक चुनौतीलाई पहिचान गर्न असम्भव छ । राजनीतिक अस्थिरता, निरन्तर आर्थिक सङ्कट र विधिको शासन हराएको मुलुकमा विदेशी हस्तक्षेप उकालो चढ्नु स्वाभाविक छ । विदेशीहरूको तीव्र रणनीतिक प्रतिस्पर्धामा कसरी सन्तुलन कायम गर्ने भन्ने सिंहदरबारले भुलेको छ । आर्थिक सिद्धान्त र चुनौतीहरूलाई सम्बोधन गर्न नसक्ने अवस्थामा पुऱ्याइएको/पुगेको सिंहदरबार ‘बदनामीको सट्टा गुमनाम’ हुन चाहेको देखिन्छ । चुच्चे नक्साले खल्बलिएको भारतसँगको सम्बन्धले आन्तरिक राजनीति कमजोर बनिरहेको छ । देखिने गरी हस्तक्षेप नभए पनि अन्तर्राष्ट्रिय फोरममा हाम्रो आवाज कमजोर सुनिएको छ ।

मुलुकको विकाश गर्न शिक्षा, स्वास्थ्य र मानव विकासमा कति प्रतिशत बजेटको व्यवस्था गरेका छौँ ? ग्लोबल करप्सन इन्डेक्समा हामी कहाँ पुगेका छौँ ? संविधानलाई काम लाग्ने या मुलुकमैत्री बनाउन किन सकिरहेका छैनौँ ? युवा र बौद्धिक पलायन रोक्न किन असफल हुँदैछौँ ? विधि, प्रक्रिया, सरकारी संस्थाहरूलाई मजबुत र कामकाजी बनाउन कसले रोकिरहेको छ ? दुर्भाग्यवश मुलुकको सोकल्ड शीर्ष नेतृत्व आफ्नै काण्डहरू लुकाउन, दसी प्रमाण मेटाउन, कुर्सीसमेत लिएर आर्यघाट जान मरिहत्ते गरिरहेको छ । विगतमा हामी भन्दा नराम्रो अवस्थामा रहेका थुप्रै मुलुकले हामीलाई पछाडि पारिसकेका छन् । पटके परिवर्तनपश्चात् प्राप्त तमाम उपलब्धि र तथ्याङ्कहरू निराशाजनक छन् । मानव विकास सूचकाङ्कमा हामी धेरै पछाडि परेका छौँ । मुलुकले इन्जिनियरिङ, अर्थशास्त्र, विज्ञान, कृषि, राजनीतिक शास्त्र, व्यवस्थापन र शिक्षा शास्त्रसँग सम्बन्धित विषयहरूमा हजारौँ स्नातकहरू उत्पादन गरिसकेको/गरिरहेको छ । ३४ वर्षदेखि हामीलाई सपना देखाउनेहरूले उनीहरू कहाँ छन्, के गर्दैछन् भन्नेबारेमा सोच्न सुरु समेत गरेको देखिँदैन । साथै ‘राजनीतिक ध्वंस र नीतिगत भ्रष्टाचार’मा माहिर कथित नेतृत्वले मुलुक कसरी सुदृढ र सम्पन्न हुनेछ भन्ने छेउटुप्पो समेत फेला पार्न सकेनन् ।

मुलुकका अर्थशास्त्रीहरू भन्ने गर्छन्, देशको ‘खनिज तथा खानी’ सार्वजनिक लगानी कोषको निम्ति मुख्य स्रोत हुन सक्छ । आर्थिक गतिविधिलाई गति दिन प्राकृतिक स्रोतको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । लिथियम ब्याट्रीको लागि आवश्यक पर्ने तामा जस्ता खनिज खोज्न मुलुक अझै हतारिएको छैन । विश्वव्यापी रूपमा नवीकरणीय ऊर्जा प्रणालीमा प्रयोग हुने तामालगायतका खनिजहरू खोज्ने सक्रियता कतै देखिएको छैन । विशेष गरी आजसम्म प्राकृतिक स्रोतहरू प्राप्त गर्न मुलुक सक्रिय भएको छैन । भू-राजनीतिक रूपमा अस्थिर क्षेत्रमा अवस्थित नेपालले खनिजहरूको उत्खनन् गर्न सोचेजस्तो सजिलो छैन । उचित रणनीतिक लगानी बिना गरिने कार्यमा गम्भीर किसिमको अवरोध हुनेछ ।

‘सहानुभूति’ शब्दको व्यापक दुरुपयोग हुने मुलुकमा हामी पनि थपिएका छौँ । मुलुकमा सहानुभूति शब्दले ठुलो स्थान जमाएको छ । समान स्वाद, स्वभाव र विचार भएका व्यक्तिहरू बीचको मेलमिलापले विचित्रको गडबडीलाई अनदेखा गरिरहेको छ । ‘ठग र भ्रष्ट’को कारण व्यक्ति र संस्थाप्रति सहानुभूति महसूस गर्नेहरूले विचित्रको अनुमोदन, वफादारी र समर्थनको भावना खोजिरहेका छन् । समाजमा ‘क्रूरता र बर्बरता’ छ । राजनीतिले मानवतालाई त्यागेको छ । ‘पीडा’को व्यापार चलिरहेको छ । हामीले आत्मनिरीक्षण गर्न छोडेका छौँ । मुलुकको शिक्षाको अवस्था गम्भीर र खतर्नाक छ । दशकौँदेखि शिक्षाको उद्देश्यपूर्ण उपेक्षाको परिणाम भोगिरहेका छौँ । हामी अराजनीतिक गतिविधिको सिकार भइरहेका छौँ । आफ्नै इतिहास भुल्ने इतिहास निर्माण गरिरहेका छौँ ।

मुलुक गरिब छैन भन्नेहरू धेरै छन् । अझ अगाडि बढ्दै ‘भर्जिन ल्यान्ड’ भन्नेहरूको तर्क आफैंमा दमदार छ । नेपालको सरहदभित्र सबैले देख्न सक्ने ‘मानव स्रोत र जलस्रोत’को समेत प्रयोग हुन नसकेको अवस्थामा वर्तमान प्रणालीले सिर्जना गरेका जटिलताहरूको भार वहन मुलुकले गर्न सक्दैन । दुनियाँले बुझेको छ, आलोचना समस्या समाधानको अभिन्न अङ्ग हो । दुर्भाग्यवश समस्या विश्लेषण गर्ने मुटु, दिमाग र हैसियत सरकारसँग रहेको देखिँदैन । यद्यपि मुलुकको प्रणाली जोगाउन मरिहत्ते गरेका शक्तिले विद्यमान कार्यशैली र नीतिप्रति असन्तुष्टि फैलाउने समूह र व्यक्तिलाई निरुत्साहित गर्न न्वारनदेखिको बल लगाइरहेको छ ।

राजनीतिक परिवर्तन, स्थिरता, विकास र सुशासनले सदैव कुर्बानी माग्छ । पटके परिवर्तनको नाममा मुलुकले असङ्ख्य कुर्बानीसमेत गरिसकेको छ । दुर्भाग्यवश नागरिकको कुर्बानी खेर गइरहेको छ । प्रस्टसँग भन्दा सर्वसाधारण नागरिकको कुर्बानीको फल ‘कथित र तथाकथित’हरूले बाँडिचुँडी खाइरहेका छन् । हामी अत्यधिक विश्वासमा डुबिरहेका छौँ । वर्तमान प्रणालीले नागरिकको शक्ति र चाहनाको खिल्ली उडाइरहेको छ । नीति निर्माण एक जटिल प्रक्रिया हो भन्दै सोकल्ड लिडरसिपले आफ्नो अयोग्यता ढाक्ने कोसिस गरिरहेको छ । सार्वजनिक पदमा पुग्न, टिक्न, अझ शक्तिशाली बन्न कथितहरूले गरिरहेको नाङ्गो प्रदर्शनलाई मुलुकले ‘लोकतन्त्र’ भनिरहेको छ । इतिहासबाट नसिक्नेहरूको गतिविधिले राजनीतिको पानी उम्लिरहेको छ । पटके परिवर्तनको नाममा आश्वासन, भ्रष्टाचार, नीतिगत भ्रष्टाचार र ठगीको कुटीर उद्योग चलाइरहेका ‘अराजनीतिक मुल्लाहरू’लाई उम्लिरहेको पानीले भतभती पोल्न मात्र बाँकी छ ।

www.pandeydipendra.com.np