रहेनन् ‘नेपाली म्याराडोना’

रहेनन् ‘नेपाली म्याराडोना’


नेपाली फुटबलका चर्चित खेलाडी तथा पूर्व राष्ट्रिय फुटबल टीमका कप्तान मणि शाहको निधन भएको छ । उनी ५१ वर्षका थिए । शाहको आज (३१ वैशाख ०७५) अपरान्ह ५ बजेर ४२ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी गराएका छन् ।

विगत केही वर्षदेखि कलेजोको समस्याले पीडित शाहको उपचार पहिलेदेखि नै नर्भिक अस्पतालमा चलिरहेको थियो । केही दिनअघि समस्या जटिल बनेपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । शाहको अवस्था नाजुक बन्दै गएपछि उनलाई आज भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो ।

शाहले १७ बर्ष उमेरमा राष्ट्रिय फुटबल टीममा डेब्यु गरेका थिए । दोश्रो दक्षिण एसियाली खेलकुदमा डेब्यु गरेका शाहले बंगलादेशमा सम्पन्न छैठौं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फुटबलमा स्वर्ण पदक दिलाउन सफल भएका थिए । उक्त साफ गेममा नेपालले फुटबलमा मात्र एउटा स्वर्ण पदक जितेको थियो । जुन स्वर्ण पदक दिलाउन मणि शाहको विशेष योगदान रहेको थियो । उनले फ्रि किकबाट गरेको गोलकैै कारण नेपालले स्वर्ण पदक जित्न सफल भएको थियो ।

फुटबलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण मणि शाहलाई नेपाली फुटबलमा म्यारोडोनाको रुपमा चिनिन्थ्यो । उनी नेपालको राष्ट्रिय फुटबल टीमवाट १० नम्बरको जर्सी लगाएर खेल्ने गर्दथे ।