महानगरमा ‘बाँदर बाठो’ हुँदा !

महानगरमा ‘बाँदर बाठो’ हुँदा !


बाँदर बाठो भएर मालिकको दाह्री काट्न खोज्दा नाक काटिदिएको कथा धेरै नेपालीले पढेका छन्, सोही कथालाई सम्झाउने काम काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने क्रममा गरेका छन् ।

गत शनिबार (वैशाख २९ गते) राजधानीको राष्ट्रिय सभागृहमा भारतीय प्रधानमन्त्रीलाई काठमाडौं महानगरका तर्फबाट अभिनन्दन कार्यक्रम राखिएको थियो । त्यस क्रममा मोदीलाई दिन तयार गरिएको सम्मानपत्रको व्यहोरा नेपाली र गुजराती भाषामा लेखियो । नेपालको तर्फबाट गरिने अभिनन्दनमा सम्मानपत्रको व्यहोरा र भाषा कस्तो प्रयोग गर्ने भनेर भारत सरकारलाई अवश्य सोधिएन । जो–जसको ‘बुद्धि’को करामत भए पनि महानगरका तर्फबाट गरिने कामको जस (यस) या अपयस (अपजस) महानगरप्रमुखलाई नै दिनुपर्ने हुन्छ । त्यसैले अभिनन्दनपत्र नेपाली र गुजराती भाषामा तयार गरेर विद्यासुन्दरले आफूलाई राष्ट्रवादी देखाउन र नरेन्द्र मोदीलाई प्रसन्न तुल्याउन खोजेको बुझ्न सकिन्छ ।

भारत भन्नेबित्तिकै संसारले हिन्दी भाषालाई सम्झने गर्छ र भारतले हिन्दीलाई नै आफ्नो सम्पर्क भाषा र अन्तर्राष्ट्रिय पहिचानको भाषा बनाउने कसरत गर्दै आएको छ । स्वयम् नरेन्द्र मोदी गुजरातका भए पनि हिन्दीमा बोल्न रुचाउनुहुन्छ । तथ्य यसप्रकारको हुँदाहुँदै पनि विद्यासुन्दर शाक्यले हिन्दी भाषाको प्रयोग नगरेर आफूलाई ‘राष्ट्रवादी’ देखाउन खोजेको स्पष्ट रूपमा बुझिन्छ ।

मोदीलाई प्रसन्न तुल्याउन यसो गरिएको हो भने पनि यस्ता कार्यले उनको खुसी बढ्ने या घट्ने ठानिँदैन । तर, गुजराती र नेपाली भाषामा सम्मानपत्र तयार गरेर शाक्यले नेपाली भाषा हिन्दीको स्ट्याटसको नभई भारतको क्षेत्रीय भाषाको समकक्षी भाषा भएको सन्देश दिएका छन् । सम्मानपत्र अङ्ग्रेजी भाषामा मात्र तयार गरिएको भए त्यसलाई कसैले अन्यथा नमान्नुपर्ने हुन सक्थ्यो । हिन्दी र नेपाली दुई भाषामा लेखिएको भए पनि एकै स्तरका भाषाको प्रयोग भएको मान्न सकिन्थ्यो । तर, शाक्यले नेपालको आधिकारिक भाषासँगै भारतको क्षेत्रीय भाषालाई प्रयोग गर्दा दुई मुलुकको समान स्तर नभएको गम्भीर सन्देश प्रवाहित हुन पुगेको छ । यसलाई विश्लेषकहरूले ‘बाँदर बाठो भएको’ घटनाको रूपमा स्मरण गरेका छन् ।