टरीगाउँ विमानस्थल विस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी

टरीगाउँ विमानस्थल विस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी


  • गणेश आचार्य, तुलसीपुर

टरीगाउँ विमानस्थल विस्तारका लागि नागरिक उड्यन प्राधिकरणलाई तुलसीपुर उपमहानगरपाललिकाले जग्गा उपलब्ध गराउने भएको छ ।

उपमहानगरको २१औँ कार्यपालिका बैठकले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने निर्णय गरेको हो ।

मेयर टिकाराम खड्काका अनुसार नागरिक उड्यन प्राधिकरणले कपास विकास समितिको जग्गा आफूले पाएमा विमानस्थल बिस्तार गर्न सकिने लिखित आशय व्यक्त गरेको थियो । प्राधिकरणको मागबमोजिम उपमहानगरले टरीगाउँ विमानस्थलदेखि दक्षिणतर्फ रहेको कपास विकास समितिको तीन बिगाह जग्गा हकभोग अधिकारसहित नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्न भूमि व्यवस्था शाखालाई निर्देशन दिएको छ ।

टरीगाउँ विमानस्थलको रनवे हाल ७ सय ५० मिटर मात्रै छ । रनवे कम भएका कारण यहाँ टुइनअटर विमान मात्रै बस्ने गरेका छन् । तर, ती विमानको उडान नियमित छैन । उडान नियमित नभएपछि दाङलगायत साविक राप्ती अञ्चलवासी हवाई सेवाका लागि नेपालगन्ज र भैरहवा जान बाध्य छन् ।

तुलसीपुर उपमहानगरले नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघिबढाएसँगै रनवे बढाएर १८ सय मिटर पु¥याउने लक्ष्य राखिएको उपमेयर स्यानी चौधरीले जानकारी दिइन् । उपमेयर चौधरीका अनुसार कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गरी विमानस्थलदेखि उत्तरतर्फको जग्गा अधिग्रहण गरे रनवे १८ सय मिटरको बनाउन सकिने डिपिआर नागरिक उड्यन प्राधिकरणले तयार पारेको छ । सोही डिपिआरबमोजिम काम गर्नेगरी तुलसीपुर उपमहानगरले संघीय सरकारबाट बजेट माग गर्नेलगायतका काम अघि बढाएको छ ।