व्यवसायीको दबाबमा परेर सरकारले दुर्गम क्षेत्रको हवाई भाडा बढायो

व्यवसायीको दबाबमा परेर सरकारले दुर्गम क्षेत्रको हवाई भाडा बढायो


छविलाल बगाले
सरकारले आन्तरिकतर्फको दुर्गम क्षेत्रमा हवाई भाडा बढाउने निर्णय गरेको छ । राज्यले दुर्गम क्षेत्रमा विशेष अनुदानमार्फत राहत दिएर हवाई सेवा संचालन गर्नुपर्ने भएपनि उल्टै व्यवसायीको दवावमा परेर भाडा बढाउने निर्णयमा पुगेको हो ।

प्रत्येक २-२ बर्षमा हवाई भाडा समायोजन गर्नुपर्ने प्राबधान रहेपनि सरकारले ८ बर्षपछि हवाई भाडाको विषयमा मुख खोलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हवाई व्यवसायीहरुको प्रस्तावमा ५४ प्रतिशतसम्म भाडा बृद्धि गर्ने निर्णय गरेको हो । गत वैशाख २६ गते मन्त्रालयले दुर्गममा हवाई भाडा बढाउन स्वीकृत दिएको थियो । मन्त्रालयको स्वीकृतिसँगै अब देशभरका ७६ वटा दुर्गमका रुटमा हवाई भाडा बढ्ने निश्चित भएको हो ।

मन्त्रालयले २०७३ मा बैज्ञानिक तरिकाले हवाई भाडा निर्धारण गर्न बनाएको समितिले निर्धारण गरेको भाडामा हेरफेर गरेर बृद्धि गरिएको जनाएको छ । दुर्गम क्षेत्रमा राज्यले विशेष अनुदानमार्फत राहत दिनुपर्नेमा व्यवसायीको दवावमा उल्टै भाडा बढाउने प्रस्तावलाई सदर गर्नु सरकारको कमजोरी रहेको यात्रुहरुको गुनासो छ । गुनासो आएपनि मन्त्रालयले भाडा बढाउने निर्णय कार्यान्वयनका लागि नागरिक उड्यन प्राधिकरणमा पत्रचार समेत गरिसकेको मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेले घटना र बिचारलाई जानकार िदिए । उनका अनुसार विगत ८ बर्षदेखि नै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले प्राधिकरणमा भाडा बढाउने प्रस्ताव गर्दै आएपनि भाडा बृद्धिको प्रक्रिया भने अघि बढ्न सकेको थिएन् । तर प्राधिकरणले मन्त्रालयमा हवाई बृद्धिका लागि दुई वर्षअघि नै पत्र पठाएपनि सुनुवाई भने हुन सकेको थिएन् । आयोनले दुर्गमका जिल्लाहरुमा हवाई सेवा सञ्चालनका लागि निकै महंगो हुँदै गएकोले मन्त्रालय, प्राधिकरण र व्यवसायीहरुको सहमति अनुरुप भाडा बृद्धि गरेको आयोनका प्रवक्ता घनश्याम राज आचायले जानकारी दिए ।

मन्त्रालयले न्युनतम भाडा ५४ प्रतिशतले बढेको भएपनि फ्युल सरचार्जसँग हिसाव मिलान गर्दा २८ प्रतिशतमात्रै भाडा बढ्ने जनाएको छ । सरकारले हवाई भाडा बढाउने सहमति दिएसँगै दुर्गम क्षेत्रमा एक घन्टा उडान दूरीको न्युनतम भाडादर फ्युल सरचार्जबाहेक ५ हजार ९ सय ४ रुपैयाँ पर्ने व्यवसायीहरु बताउँछन् । यसअघि एकघन्टा दूरीको हवाई भाडा दुर्गम क्षेत्रमा ३ हजार ८ सय २८ रुपैयाँ रहेको थियो ।