विलक्षण प्रतिभाशाली सन्तनेता किशुनजीःतारिणीदत्त चटौत

विलक्षण प्रतिभाशाली सन्तनेता किशुनजीःतारिणीदत्त चटौत


सन्तनेता किशुनजी (श्री कृष्णप्रसाद भट्टराई) ले नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापनामा ऊर्जाशील युवाकालदेखि परिपक्व एवम् अनुभवी वृद्धावस्थासम्म सम्पूर्ण जीवन हाँसी-हाँसी राष्ट्रकै लागि उत्सर्ग गर्नुभयो निस्पृह भएर । वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस र पछि २००६ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस एवम् नेपाल प्रजातान्त्रिक काङ्ग्रेसका संस्थापक नेतामध्ये एक हुनुहुन्थ्यो किशुनजी । स्वतन्त्रता र प्रजातन्त्र मानवअधिकार एवम् प्रजातन्त्रका लागि प्राथमिक तत्त्व हो भन्ने दृढभावनाले ओतप्रोत किशुनजी सन् १९४२ मा महात्मा गान्धीद्वारा सञ्चालित सत्याग्रह आन्दोलनमा पढाइको पर्वाह नगरी सक्रिय सहभागी हुनुभयो । फलतः आफ्ना दाजु गोपालप्रसाद भट्टराईसँगै जेल पर्नुभयो । यस आन्दोलनमा किशुनजीका जेठा दाजु बटुकप्रसाद भट्टराई पनि थुनामा पर्नुभयो । यसरी भारतमा गान्धीको नेतृत्वमा भएको अङ्ग्रेसविरुद्धको सत्याग्रह एवम् क्विट इन्डिया (भारत छोडो) आन्दोलनमा सक्रिय सहभागी भएका किशुनजी त्यसपछि आजीवन सत्याग्रही एवम् गान्धीवादी नेता हुनुहुन्थ्यो । अत्यन्त सादगीपूर्ण, सरल एवम् निष्ठापूर्ण सत्याग्रही जीवन रह्यो किशुनजीको ।
‘स्वतन्त्रता मानवको जन्मसिद्ध अधिकार हो’ भन्ने धारणाप्रति प्रतिबद्ध किशुनजी युवाकालदेखि नै विलक्षण प्रतिभाशाली पनि हुनुहुन्थ्यो । त्यसैकारण उहाँले नेपाली काङ्ग्रेसको संस्थापक नेता एवम् लामो समयसम्म सभापतिको महत्त्वपूर्ण भूमिका सफलता साथ निभाउनुभयो । किशुनजीको सत्यवादी एवम् निस्पृह व्यवहारकै कारण ०१५ सालको प्रथम आमचिर्वानमा उहाँ पराजित हुनुपर्‍यो । तर पनि किशुनजीको कुशाग्र बौद्धिकता एवम् विलक्षण प्रतिभाकै कारण होला बीपी कोइरालाले उहाँलाई संसद् ? प्रतिनिधिसभा) को सभामुखमा प्रस्तावित गर्नुभयो । संसद्को प्रथम सभामुख भएर पनि किशुनजीले अत्यन्त कुशलता साथ आफ्नो भूमिका निभाउनुभएको ऐतिहासिक तथ्य सबैसामु स्पष्ट छ । तर, राजा महेन्द्रले ०१७ साल पुस १ गते बीपी, गणेशमानजी, किशुनजी ? प्रधानमन्त्री, मन्त्री, सभामुख) सहित अन्य मन्त्री र नेताहरूलाई थुनेर संसद् विघटन गरेपछि किशुनजीले सबैभन्दा बढी जेलजीवन ? लगातार १० वर्ष) बिताउनुभयो- सत्याग्रही भएर । किशुनजीको सत्याग्रही ब्रतका अगाडि राजा महेन्द्र अन्य नेताहरूभन्दा दुई वर्ष ढिलो गरी किशुनजीलाई रिहा गर्न बाध्य हुनुपर्‍यो । पञ्चायतको उत्कर्षकालमा जेलबाट रिहा भएपछि किशुनजी विश्रान्त भएर देश भ्रमणमा लाग्नुभयो- नेपाली काङ्ग्रेसको सङ्गठनलाई गति दिन । ०३३ साल पुस १६ गते बीपी कोइराला एवम् गणेशमानजी जब भारतको प्रवास परित्याग गरी ‘राष्ट्रिय एकता एवम् मेलमिलाप’ को नीति लिएर स्वदेश फर्कनुभयो, किशुनजीको अविचलित सत्यनिष्ठा, सैद्धान्तिक प्रतिबद्धता एवम् विचक्षण प्रतिभाकै कारण किशुनजीलाई कार्यवाहक सभापतिको गहन जिम्मेवारी पूर्णभरोसा एवम् विश्वाससाथ निर्धक्क भएर सुम्पिनुभयो ।
०३९ सालमा बीपीको असामयिक दुःखद् देहावसानपछि गहिरो शोकमा डुबेको नेपाली काङ्ग्रेस र गम्भीर रूपमा सङ्कटग्रस्त नेपाल परेको बेला सभापति किशुनजीको नेतृत्वमा नेपाली काङ्ग्रेसले ०४२ सालमा सत्याग्रह गरेर पञ्चायतको जग हल्लाइदियो । तत्पश्चात् लौहपुरुष गणेशमानजीको नेतृत्वमा भएको ०४६ सालको जनआन्दोलनमा किशुनजी अध्यक्ष र गिरिजाबाबु महामन्त्रीका रूपमा प्रेरणादायी भूमिकामा रहनुभयो । ०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको अभ्युदय भयो । राजा वीरेन्द्रले गणेशमानजीलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा गणेशमानजीले पार्टी सभापति किशुनजीको नाम प्रस्तावित गर्नुभयो र किशुनजी प्रधानमन्त्री बन्नुभयो २०४७ वैशाख ६ गते । यसरी किशुनजीको गहिरो सैद्धान्तिक प्रतिबद्धता, सत्यनिष्ठा एवम् विलक्षण प्रतिभाको पुनः कदर गरियो बीपीपछि गणेशमानजीबाट पनि । सन्तनेता किशुनजीले प्रधानमन्त्रीका रूपमा सुखसयल र व्यक्तिगत लाभ प्राप्तिबाट निस्पृह भएर जनता एवम् राष्ट्रका लागि अविचलित भई निरन्तर लागिरहनुभयो लक्ष्य प्राप्तिमा । फलस्वरूप ६ महिनामै नेपालमा पहिलोपल्ट जनता सार्वभौम अधिकारसम्पन्न भएको संविधान निर्माण गर्न र अर्को ६ महिनामा सार्वभौम जनताका प्रतिनिधिको निर्वाचन गराउन सफल हुनुभयो । यसरी एक वर्षभित्रै जनता सार्वभौम भएको संविधान र त्यसअन्तर्गत आत्मनिर्वाचन गराउन सफल हुनुमा किशुनजीको सत्यनिष्ठा, निस्पृहता, प्रजातन्त्रप्रतिको अटुट आस्था एवम् विलक्षण प्रतिभाकै कारण सम्भव भएको हो । दुर्भाग्यबस सन्तनेता किशुनजी आफू भने यस निर्वाचनमा हार्नुभयो- तर पनि जनतालाई सार्वभौम अधिकारसम्पन्न भई राष्ट्रलाई सुस्थिर भई विकास निर्माणमा अघि बढ्न जग बसाउनुभएको थियो ।
बीपी, गणेशमानजीपछि तेस्रोपल्ट सभापति गिरिजाबाबुले बहुआयामिक व्यक्तित्वशाली किशुनजीलाई सम्मान गरेर ०५६ सालको आमनिर्वाचनमा प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुभयो । यस निर्वाचनमा किशुनजीले पनि जित्नुभयो र नेपाली काङ्ग्रेस पनि पूर्ण बहुमतमा आयो ११३ सिटमा विजयी भएर । किशुनजी पुनः प्रधानमन्त्री बन्नुभयो निर्वाचित भएरै । सौभाग्यबस उहाँको यस क्याबिनेटमा म पनि मन्त्री भएको थिएँ । दुई/दुईपल्ट शक्तिशाली प्रधानमन्त्री भएर पनि किशुनजी त्यही सरल एवम् स्वच्छ छविका साथ बाहिरिनुभो सिंहदरबारबाट तथा बालुवाटारबाट । सदाझैं सन्तनेतासँग सुराही, छाता र सुटकेस (बाक्सा) मात्रै थिए साथमा ।
सन्तनेता किशुनजी हामीबीच नरहे पनि उहाँले अवलम्बन गर्नुभएको प्रेरणादायी आदर्शले हामीलाई सदैव अभिप्रेरित गरिरहनेछ । किशुनजीसँगका सरल, सहृदयी एवम् विनोदप्रिय अनेकौँ संस्मरण मेरा मस्तिष्कमा अहिले पनि छन् । उहाँ अस्पताल भर्ना हुनुपूर्व २२ गते पुस र १३ गते माघ दाजु बीडी चटौतसहित मेरो किशुनजीसँग भएको अन्तिम भेट संस्मरणयुक्त छ । यो भेटमा किशुनजीले लामो अन्तरंग वार्तासँगै उहाँका अनन्य मित्र एवम् राजनीतिक सहयात्री स्व. एनडी ‘प्रकाश’ दाजुका विषयमा मन्तव्यमा हस्ताक्षर गरेर दिनु पनि भएको थियो । त्यसका केही दिनपछि किशुनजी अस्वस्थ भई नरि्भक अस्पताल भर्ना हुनुभयो र दुर्भाग्य त्यहाँबाट उहाँको पार्थिव शरीर मात्रै बाहिरियो । आज राष्ट्र यस्तो सङ्क्रमणकालमा छ । यस्तो बेला नेपाली काङ्ग्रेसले मात्रै आफ्ना संस्थापक नेता गुमाएन अपितु राष्ट्रले नै पूर्वप्रधानमन्त्री, अभिभावक एवम् प्रेरणादायी सन्तनेता गुमाएको छ । राष्ट्रमा शान्ति स्थापना र समयमै लोकतान्त्रिक संविधान निर्माण गरेमा मात्रै सन्तनेता किशुनजीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।