जेलका कर्मचारीलाई किन कारबाही गर्ने ?

जेलका कर्मचारीलाई किन कारबाही गर्ने ?


-वसन्तराज कुँवर
जेल सुधारसम्बन्धी गोष्ठीमा भाग लिन इन्डोनेसिया जाँदै थिएँ म । इन्डोनेसिया जाने कुराले मलाई रोमाञ्चित बनाएको थियो, किनकि म केटाकेटी हुँदा बुबा फिलिपिन्समा अध्ययनका लागि जानुभएको थियो । त्यतिबेला मेरो बुबा कहाँ हुनुहुन्छ भनेर हामी संसारको नक्सामा खोज्ने गर्दथ्र्यौं र त्यो देश इन्डोनेसियाको छेउछाउमा पर्छ भनेर जानकारी हासिल गथ्र्यौं ।
प्रहरी जीवनमा रहँदा पनि मैले जेलको सुधार सम्बन्धमा रुचि राख्दथेँ । म सोच्ने गर्दथेँ कि कानुनको हद नाघेका कारणले मात्र होइन परिबन्द वा षड्यन्त्रले पनि व्यक्ति जेल जान सक्दछ । जेल जानु एउटा पाटो हो । जेलबाट फर्कंदा ऊ आदर्श व्यक्ति भएर फर्कनु अर्को पाटो हो । मलाई लाग्थ्यो पुलिसले सकभर समाजका कसैलाई पनि जेल जानै नपर्ने अवस्था सिर्जना गर्नुपर्छ र यदि जानैपर्ने अवस्था भयो भने पनि ऊ पुनः फर्कनुहुँदैन । यसका लागि जेलमा उसको आत्मालाई शुद्धीकरण गर्ने कार्यक्रम हुनुपर्छ । जेलबाट फर्कंदा उसभित्र समाजमा पुनर्स्थापित हुने क्षमता बढ्नुपर्छ । यसैले त आजको दुनियाँमा जेललाई सुधारगृह भन्ने गरिन्छ र खुल्ला जेलको अवधारणासमेत सरकारले अघि सारेको छ । यो कुरा बुझेर नै हो प्रहरी जीवनमा म बरि्दया, सर्ुर्खेत तथा सप्तरी जहाँको इन्चार्ज हुँदा पनि त्यहाँका जेलहरूमा मैले नमस्ते परिवार नामक सुधारात्मक कार्यक्रम चलाएँ । जो यस कार्यक्रममा सहभागी भए ती छुटेपछि फेरि जेल फरि्कएर आएनन् । प्रहरीमा उच्च तहमा पुगेको भए जेल सुधारमा महत्त्वपूर्ण काम गर्ने मेरो इच्छा थियो तर यो इच्छा कृष्णप्रसाद सिटौला र ओमविक्रम राणाजस्ता कायर मन्त्री र प्रहरी महानिरीक्षकहरूको षड्यन्त्रले पूरा हुन सकेन तर पनि अवकाशपछि नेपालमा मैले जेल सुधारको क्षेत्रमा दिएको योगदान कसैले अनुगमन गरिरहेको रहेछन् । अन्तर्राष्ट्रिय क्रिमिनन नाम गरेको अमेरिकाको एक संस्था जसले जेलमा परेका नागरिकहरूलाई समाजमा पुनः सभ्य र आदर्श नागरिक भएर फर्कन आवश्यक पर्ने क्षमता बढाउन मद्दत गर्दोरहेछ त्यस संस्थाले मलाई नेपालको प्रतिनिधि बनाई आज इन्डोनेसियाको एक जेलको अध्ययन भ्रमणमा लाँदै थियो । हवाईजहाजमा पनि यस कुराले मलाई खुसी तुल्याइरहेको थियो कि मैले अवकाशपछि पनि जेलमा परेका नागरिकहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा इन्डोनेसियामा अध्ययन गर्ने मौका पाइरहेको थिएँ, जुन मौका मैले प्रहरी पोसाक लगाएकोबखत पाइनँ ।
इन्डोनेसियाको जकार्तास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जेलका अधिकृतहरू मलाई लिन इमिग्रेसनभित्रै आएका रहेछन् । भर्खरभर्खरका ती अधिकृतहरूले आफू करेक्सनल अफिसर भएको बताए । बाटोमा म कुरा गर्दै गएँ । त्यहाँ जेल हेर्ने छुट्टै विभाग रहेछ जसलाई ‘डिपार्टमेन्ट अफ करेक्सनल’ भनिँदोरहेछ । महानिर्देशक रहनेे त्यस विभागअन्तर्गत चार सयजति जेल रहेछन् । महानिर्देशकले जेललाई चाहिने कर्मचारीहरू आफैं भर्ना गर्दा रहेछन् र त्यो विभागको आफ्नै तालिम केन्द्र पनि रहेछ । जेलमा काम गर्न इन्छुक प्रहरीहरू पनि फ्री कम्पिटिसन लडेर करेक्सनल सेवामा आउँदा रहेछन् । उनीहरू जेलमा काम गर्न पाएकोमा खुसी देखिन्थे । प्रफुल्ल देखिन्थे । नेपालमा कारागारमा काम गर्न नचाहने र खटाइहालिए पनि सजाय ठान्दै छिटोभन्दा छिटो सरुवाको दिन कुर्ने कर्मचारीहरू मात्र देखेको मेरा लागि ती इन्डोनेसियाका कर्मचारीहरूको जोस-जाँगर अच्चमलाग्दो थियो । त्यहाँ पुग्दा र ती अधिकृतहरूलाई भेट्दा म तीनछक परेँ ।
मलाई करेक्सनल तालिम केन्द्रको गेस्टहाउसमा राखियो । वास्तवमै अति सुन्दर र विशाल रहेछ त्यो तालिम केन्द्र । तालिम गर्नेहरूलाई परिवारसहित बस्ने सुविधा पनि रहेछ । भोलिपल्टबाट मेरो गोष्ठी सुरु भयो । तिनका तालिम केन्द्र हेरेँ । उनीहरूको पाठ्यक्रममै मानअधिकारदेखि जेल प्रशासनमा जान्नुपर्ने सम्पूर्ण शिक्षा रहेछ । दोस्रो दिन एउटा जेल अवलोकन गर्न लगियो । विशाल त्यो जेलमा पस्नुअघि बाहिर ठूलो घर थियो जहाँ आफ्ना सम्पूर्ण सामानहरू लकरमा राख्नुपर्ने रहेछ । त्यहाँ हातले र्सच गरेपछि एक्स-रे पनि गरिँदोरहेछ । एक्स-रे पछि पनि थुप्रै चेक जाँच गरेपछि मात्र जेलको मुख्य द्वारमा पुगिँदोरहेछ । जेलभित्र क्रिमिनन् तालिम सञ्चालन भइरहेको थियो जहाँ कैदी बन्दीहरू दिनको झन्डै पाँच घन्टा अध्ययन गर्दारहेछन् । मैले तिनले पढ्ने सम्पूर्ण पाठ्यपुस्तकहरू हेरेँ । कैदी बन्दीहरू कसैलाई फुर्सद देखिँदैन थियो । इन्डोनेसियामा जेल हेर्ने छुट्टै मन्त्री पनि रहेछन् जसलाई मानवअधिकार मन्त्रालयअन्तर्गत राखिएको रहेछ । मन्त्रीले हामीलाई रात्रिभोज पनि खुवाए ।
वास्तवमै म त्यहाँको जेल प्रशासन र सुधार देखेर निक्कै प्रभावित भएँ । उनीहरूसँग पर्याप्त श्रोत पनि थियो, मजबुत सङ्गठन पनि थियो र कैदी बन्दीहरूलाई सुधार्ने पाठ्यक्रम पनि थियो । नेपालमा फरि्कएर त्यो कार्यक्रम लगाउन मैले खुव प्रयास गरेँ । थोरै सफलता पनि पाएँ तर पनि मैले के देखेँ भने जो जेल प्रशासनमा खटिएका छन् उनीहरू नै त्यो जिम्मेवारीसँग खुसी छैनन् । जब जेल प्रशासनमा खटिएका अधिकारीहरू नै खुसी छैनन् भने त्यो देशको जेल कस्तो होला ? गृहमन्त्री हुनेलाई खालि प्रहरीबाट कति कमिशन आउँछ, कहाँ कति कार्यकर्ता भर्ना गर्न पाइन्छ, सीडीओ र प्रहरी अधिकृत आफ्नो मान्छे कसरी लैजाने, कसरी विरोधीहरूलाई ठेगान लगाउने भन्ने मात्र धुन छ । तिनलाई जेल सुधारको कुनै चासो छैन । जब मन्त्री र सचिवलाई नै चासो छैन भने त्यो सङ्गठनको हाल कस्तो होला ?
हालै जेलभित्र पेस्तोल पुग्यो र अन्सारीमाथि आक्रमण भयो भन्ने समाचार आएको छ । म त्यस घटनालाई अचम्म साथ हेरिरहेको पनि छैन किनकि जुन सरकारले जेल प्रशासनलाई कुनै महत्त्व नै दिएको छैन, त्यसको सङ्गठन मजबुत बनाउन र भौतिक अवस्था राम्रो गराउन कुनै लगानी नै गरेको छैन साथै कारागारमा रहोका कैदी बन्दीहरूलाई सुधार गर्ने कुनै कार्यक्रम नै तय गर्न सकेको छैन भने त्यो सरकारले यहाँका जेल प्रशासनबाट किन ठूलो उपलब्धिको आशा गरिरहेको छ ? यो म बुझ्न सकिरहेको छैन । ६ सयभन्दा बढी सांसदलाई बसी-बसी संविधान नै नबनाउँदा पनि भत्ता दिएर पाल्न सक्ने, चुनाव हारेको मानिसहरूले पनि दुई दिनका लागि गृहमन्त्री भएकै भरमा राज्यको कोषबाट किनेको एक करोडभन्दा बढीको गाडी घर लान सक्ने तर जेल प्रशासनको सानो ढोका मर्मत गर्न नसक्ने यो सरकारलाई जेलका कर्मचारीहरूमाथि कारबाही गर्ने कुनै नैतिक अधिकार नै छैन । प्रहरीका उच्च अधिकृतहरूका घरमा पाले बस्ने जति पनि सुविधा नभएको जेलमा कुनै घटना घट्यो भन्दैमा आफू जोगिन तल्ला तहलाई बलिको बोको बनाई आफू ओभानो बन्न खोजेको उच्च प्रहरी अधिकृत तथा गृह प्रशासकहरूको प्रयास पनि हास्यास्पद देखिन्छ । पहिला जेलको सुधार गर्नुहोस् अनि कारबाही गर्नुहोस् । जेलको सुधारमा केही गर्न नसक्ने तर कारबाहीमा रुचि राख्ने अहिलेको तरिका ठीक छैन ।
म प्रधानमन्त्री र मन्त्रीज्यूहरूलाई हालैको अन्सारी गोली काण्डबारे के निवेदन गर्न चाहन्छु भने यदि जेलमा यस्ता घटना नघटोस् भन्ने तपाईंहरूको चाहना हो भने चाहनाअनुसारको काम गर्नुहोस् । जेल हेर्ने छुट्टै मन्त्री तोक्नुहोस् । मन्त्री हुन मरिहत्ते गर्नेहरूको कमी पनि छैन । ती मन्त्रीअन्तर्गत छुट्टै करेक्सनल विभाग बनाउनुहोस् र त्यो विभागलाई चाहिने जेल प्रशासनमा कर्मचारी र सुरक्षाकर्मीहरू आफैं भर्ना गर्न दिनुहोस् । ती कर्मचारीहरूका लागि जेलमा आवश्यक पर्ने सबै ज्ञान र सीप दिने पाठ्यक्रम तयार गर्नुहोस् र छुट्टै तालिम केन्द्र बनाइदिनुहोस् । सम्पूर्ण जेलमा सीसीटीभी, एक्स-रे र आधुनिक निगरानीका सामान दिनुहोस् । त्यसपछि प्रत्येक जेलका कैदी बन्दीहरूलाई क्रिमिनन् तालिमजस्ता सुधारात्मक कार्यक्रमहरू लागू गरी पुनः समाजमा सम्मानजनक रूपमा आदर्श जीवन बिताउन सक्ने क्षमता बढाइदिनुहोस् । यदि जेल सुधारमा मेरो पनि अनुभव काम लाग्छ भने सूचना गर्नुहोस् म आफ्नो समय र सीप यस कामका लागि निःशुल्क रूपमा दिन तयार छु । मलाई गाडी पनि चाहिँदैन, सुविधा पनि चाहिँदैन र पैसा पनि चाहिँदैन । म केवल देशका लागि काम गर्न चाहन्छु ।
अहिले एक लात दिँदा भत्किएलाजस्तो जेलमा, मलाई सजायस्वरूप यहाँ खटाइएको हो भन्ने विश्वास गर्ने डिप्रेसनका बिरामीजस्ता कर्मचारीलाई जबर्जस्ती खटाएर, सरुवा ठीक ठाउँमा परेन भन्दै गुनासो गर्दै हिँड्ने सुरक्षाकर्मीहरूद्वारा जेल हेर्ने मन्त्री नै नभएको विभागले जेल प्रशासनसम्बन्धी तालिम नै नगरेका कर्मचारीहरूद्वारा धन्न जेलको अस्तित्व यतिसम्म पनि बचाइराखेका छन् । यसका लागि जेल प्रशासनमा काम गर्ने निरीह, गरिब र सुकुम्बासीजस्ता कर्मचारीलाई कारबाही होइन बरु धन्यवाद दिनुपर्छ । दुई दिन मन्त्री भएकै भरमा करोडौँको गाडी व्यक्तिगत बनाउने मन्त्रीहरूबाट गाडी खोसी लिलाम गर्नुहोस् र त्यो पैसा जेलको सुधारमा लगाउनुहोस् । त्यसपछि गर्नुहोस् न गल्ती गर्दा गाली । सरकारले केही नदिने खालि गाली मात्र गर्ने ? खालि कारबाहीको धम्की दिने ? कसरी पच्छ कर्मचारीहरूलाई । मलाई लाग्छ अहिले जेलमा जे-जस्ता कमजोरी भएका छन् त्यसको दोष स्रोत र साधन दिन नसक्ने मन्त्रिपरिषद् र त्यस्तो कुरा उठाउन नसक्ने प्रहरी र गृहका ठूला हाकिमहरूलाई जान्छ । अन्तमा मेरो त भनाइ यही छ कि स्रोत-साधन नभएको यस निरीह जेल र जेलका कर्मचारीहरूलाई किन कारबाही गर्ने ?