चीन पठाइने गैँडाको बच्चा भारतबाट उद्धार

चीन पठाइने गैँडाको बच्चा भारतबाट उद्धार


भारतबाट उद्धारपछि चितवन सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई पनि ‘पिट बोमा’ (सानो खोर)मा राखिएको छ । चीन पठाउनका लागि अन्य गैँडाको बच्चा राखिएको बोमानजिकै अर्को बोमा बनाएर उसलाई पनि बोमामा राख्न शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पु¥याएको थियो । गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याएर पालनपोषण गरिँदै आइएको थियो ।

अन्य तीनवटा गैँडाको बच्चालाई हालै मात्र निकुञ्जबाट नियन्त्रणमा लिई बानी पार्न पिट बोमामा राखिएको छ । सोही नजिक अर्को बोमा तयार गरी भारतबाट उद्धार गरिएको केटोलाई समेत राख्न थालिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल केटो तन्दुरुस्त रहेको बताउनुहुन्छ । उहाँले निकुञ्जबाट हालै ल्याइएका अन्य गैँडासमेत तन्दुरुस्त रहेको र सबै खानेकुरा सजिलै खान थालेको जानकारी दिनुभयो ।

अहिले यहाँ राखिएका चारवटै गैँडालाई दूध, फलफूल, घाँसलगायत खानेकुरा दिएर नियमित अनुगमन गर्ने गरिएको छ । पशु चिकित्सकसहितको टोलीले ती गैँडाको निगरानी गरिरहेको छ ।

सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी गैँडा नेपालले उपहार दिँदैछ । एक जोडी गैँडा भने आगामी असारसम्ममा पठाइने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । विभिन्न देशमा गरेर नेपालले अहिलेसम्म दुई दर्जनभन्दा बढी गैँडा उपहार दिइसकेको छ ।

तस्बिर रासस