गएको आइतबार माओवादी नेता बाबुराम भट्टराईले आफ्नै गृहजिल्ला गोरखा पुगेर सार्वजनिक रूपमै आफ्नो पार्टीका संस्थापन पक्षीयहरूका कारणले आफू भीमसेन थापा सेरिएझैं सेरिनुपर्ने सम्भावनातर्फ इङ्गित गरेपछि राजनीतिक वृत्तमा आएको तरङ्ग बढ्दो छ । अनौपचारिक नै सही, माओवादी केन्द्रीय पदाधिकारीहरूको बैठकमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वयम् बाबुरामसँग हुर्मत लिने शैलीमा स्पष्टीकरण मागेपछि यो घटनाले माओवादी पार्टीभित्र आएको भूकम्प कति ठूलो स्केलको छ- सहजै अनुमान गर्न सकिन्छ ।
माओवादी पार्टीभित्र यतिबेला मूलतः दुई प्रकारका मतभिन्नता छन् । पहिलो, सैद्धान्तिक र नीतिगत । दोस्रो, सत्ता र पार्टीमा कसले कब्जा गर्ने भन्ने । यसमा पनि दोस्रो पक्ष बलवान छ । कम्युनिस्टलगायत एकदलीय सैद्धान्तिक मान्यता राख्ने पार्टीमा गुटगत स्वार्थलाई पनि सिद्धान्त र नीतिकै लेपन लगाएर प्रस्तुत गरिन्छ । त्यसो त कम्युनिस्ट विचार र दल भनेकै सिद्धान्त र व्यवहार दुवै रूपले सैन्य सोचप्रधान पार्टी नै हो र हुन्छ । यसो भएपछि उसले विपक्षीलाई मात्र ‘कब्जा’ गर्ने होइन । आफ्नै पार्टीका असहमतलाई पनि ‘ध्वस्त’ पार्ने हो । चाहे त्यो कपट र षड्यन्त्रपूर्वक होस् वा बलपूर्वक । सिद्धान्ततः लोकतान्त्रिक पद्धति अपनाएर जित हासिल गर्ने वा हार स्वीकार गर्ने प्रणाली कम्युनिस्टहरूको होइन । भिन्न विचारमाथि मतले होइन, भौतिक विजय गरिएका दृष्टान्तहरू विश्व कम्युनिस्ट आन्दोलनमा प्रशस्तै छन् ।
नेपाली माओवादीभित्रको बाबुराम प्रकरणलाई पनि यही सैद्धान्तिक र साम्यवादी चारित्रिक विशेषताअनुसार नै हेरिनुपर्ने हुन्छ । कम्युनिस्ट सिद्धान्त र शासन प्रणालीमा फरक मत निषेध हुने भएकाले पार्टीभित्रै पनि फरक मत निषेध हुन्छ । जुन शासन प्रणालीले देशमा मात्र होइन संसारमै आफूबाहेकको फरक मतको अस्तित्वसमेत स्वीकार गर्दैन । त्यहाँ, आफ्नै पार्टीभित्रको फरक मतले कसरी बाँच्न पाउँछ ? अनुदार हुनु त प्रवृत्ति हो । छिमेकीसँग अनुदार हुने कोही भाइसँग चाहिँ उदार हुन सक्तैन । साम्यवादको सैद्धान्तिक चरित्र र प्रवृत्ति अनुदार नै हुने भएकाले बाहिर मात्र होइन, आफैंभित्र पनि त्यो त्यही रूपमा प्रस्तुत हुन्छ, प्रकट हुन्छ ।
वर्तमान एमाले माले हुँदा अर्थात् सैन्य सोचबाट निर्देशित भएका बखत एकजना बहालवाला महासचिवलाई कञ्चटमा पेस्तोल ताकेर राजीनामा गराइएको थियो । केही समयअघि मात्रै माओवादीमै पनि फरक विचार राखेकै कारणले यिनै बाबुरामलाई माओवादी सैनिकहरूले बन्दी बनाएर श्रमशिविरमा ढुङ्गा-गिट्टी कुटाएका थिए । धन्न ‘मृत्युदण्ड’ दिइएन ।
यतिबेला उनलाई उनको गृहजिल्लासमेत जान अघोषित प्रतिबन्ध लगाइएको छ । जसलाई उनले चुनौती त दिएका छन् । उनको फरक विचारलाई मात्र राख्न नदिएको होइन । त्योभन्दा अघि बढेर जिल्ला जान नसक्ने परिस्थिति बनाउने जुन प्रयत्न भएको छ । त्यसलाई हर्ेदा बाबुराम पार्टीभित्रैबाट कठिन राजनीतिक मोडमा रहेका छन् भन्ने प्रस्टिन्छ । उनले किन इतिहासमा भीमसेन थापा मारिएझैं मारिन सक्छु भन्ने सार्वजनिक घोषणा गरे ? यो अझ महत्त्वपूर्ण कुरा छ । कम्युनिस्ट पार्टीभित्रको अनुदार चरित्र बुझ्ने मानिसहरू शङ्का गर्न थालेका छन्- कतै बाबुराम मारिने त होइनन् ? आफ्नै पार्टीभित्रबाट † बाह्य शत्रुको ‘सफाया’ गर्नेहरूले आन्तरिक शत्रुलाई चाहिँ ‘प्रेमालाप’ गर्छन् र ?
प्रतिक्रिया