आजदेखि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन गर्ने

आजदेखि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन गर्ने


छविलाल बगाले
दैनिक १८ घण्टासम्म सञ्चालन हुँदै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालन हुने भएको छ । पूर्वाधार बाधक भएपनि सरकार चौविसै घण्टा विमानस्थल सञ्चालन गर्न तयार भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा संचालनमा ल्याएको हो । भइरहेका उडानलाई व्यवस्थित बनाउन र एयर ट्राफिकको समस्यालाई हटाउनको लागि मन्त्रालयले १८ घण्टामा सीमित विमानस्थलको सेवालाई बढाएर २१ घण्टा संचालन गर्न लागेको हो ।

विगतमा १२ घण्टामा सीमित रहेको विमानस्थलको सेवालाई १८ घण्टा पु¥याएपनि आगामी दिनमा चौविसै घण्टा सेवा दिने उद्धेश्यले २१ घण्टा विमानस्थल खुला राख्ने मन्त्रालयका सह–सचिव बुद्धि सागर लामिछानेले घटना र बिचारलाई जानकारी दिए । ‘हामीले आजदेखि चौविसै घण्टा विमानस्थल संचालन गर्न थालेका छौं ।’ उनले भने, ‘लक्ष्य लिएर अघि बढेपछि सफल भइन्छ ।’

सरकारी तथ्यांक अनुसार हाल नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको छ । मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने महत्वकांक्षी योजनालाई पूरा गर्नका लागि मन्त्रालयले विमानस्थलको सेवालाई बढाएको हो ।

अहिले विहान ६ बजेदेखि राति साढे १२ बजेसम्म आन्तरिक तथा बाह्य वायु सेवा कम्पनीहरुले उडान भरिरहेका छन् । २१ घण्टासम्म विमानस्थल सञ्चालन हुँदा सेवाग्राहीले भरपर्दो सेवा पाउने, एयर तथा ग्राउण्ड ट्राफिकमा कमी आउने र वायु सेवा कम्पनीहरुको संचालन खर्च घट्ने वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले जनाएको छ । हिजो आइतबारसम्म साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको छ । बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको बुझिएको छ ।

विमानस्थल सेवाप्रदायक संस्था हो भने वायुसेवाले सेवा किनेर यात्रुहरुलाई बेच्ने गर्दछन् । तर विमानस्थल नसुध्रिएका कारण विमान कम्पनी र यात्रुहरुले सास्ती खेप्दै आइरहेका छन् । सरकारले भने सन २०१९ भित्र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याइसक्ने र सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।