चुहावट नियन्त्रण र लागत कम गर्न पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरुमा लकिङ

चुहावट नियन्त्रण र लागत कम गर्न पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरुमा लकिङ


नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरुमा लकिङ प्रणाली शुरु गरेको छ । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धर र निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले संयुक्त रुपमा लकिङ प्रणालीको शुरुवात गरेको हो ।

भारतको रक्सौल र बरौनीबाट लोड भएर अमलेखगञ्ज स्थित क्षेत्रीय डिपोमा आउने ट्यांकरहरुबाट हुने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रणका लागि निगमले लकिङ प्रणाली शुरु गरेको हो । बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धरले लकिङ प्रणालीको शुरुवात गर्दै नेपाल आयल निगमले शुरु गरेको नयाँ प्रविधिले चुहावट नियन्त्रण र लागत कम गर्न मद्दत पुग्ने भन्दै आयल निगमको कार्यको प्रशंसा गरेको थियो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले लकिंङ प्रणाली अब सबै ट्यांकरहरुमा लागु गरिने बताए ।

रक्सौलबाट अमलेखगञ्ज, पोखरा, काठमाडौं, जनकपुर लगायतका क्षेत्रमा समेत पेट्रोलियम पदार्थ जाने गरेको र चुहावट प्रमूख समस्या देखिएकाले लकिङ प्रणालीको आवश्यक्ता निर्देशक भट्टराईको भनाई छ । नेपाल आयल निगम शुद्धीकरण अभियानमा रहेको र आन्तरिक सुधारका लागि चालिएको यो कदममा असहयोग गर्ने जोसुकैलाई पनि कारवाही गरिने कार्यकारी निर्देशक भट्टराई बताउँछन् ।