नेपालको चीनसँग सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ । रसुवागढी नाकानजिकै निर्माण गरिएको भवनमा सो एक्स रे मेसिन राखेर सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्न लागिएको स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय नाकामा प्रविधिको अभावमा धेरै समस्या झेल्नुपरेकोले नाकामा प्रविधि जडान गरी उक्त सेवा दिने तयारी भइरहेको हो । प्रविधिले सीमामा अवैध गतिविधि रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाको पहल तथा भन्सार कार्यालयको समन्वयमा नाकामा सो प्रविधि जडान गर्न लागिएको हो ।
यसअघि पनि यस विषयमा पटकपटक योजना बनेको भए पनि कागजमै सीमित रहेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले स्थलगत निरीक्षण गरी आवश्यक सामग्रीका लागि भन्सार कार्यालय र विभागसँग निरन्तर पहल गरेपछि यस कार्यले मूर्तरूप लिएको हो ।
‘सीमामा देखिएका हरेक समस्याको समाधानका लागि हामीले योजना निर्माण गरेका छौँ,’ प्रजिअ पौडेलले भने । यात्रुको जाँच गर्ने स्थानमा प्रतीक्षालय निर्माणको प्रक्रिया पनि अघि बढाएको उनले बताए । उपकरण जडानपछि प्रहरीको निगरानी २४सै घन्टा रहने उनको भनाइ छ । यसअघि नाकामा प्रहरीको उपस्थिति दिउँसो तीन बजेसम्म मात्र रहँदै आएको थियो । उक्त स्थानमा सार्वजनिक शौचालय निर्माण र सडकबत्ती राख्ने काम पनि अघि बढाइएको छ ।
नाकामा चिनियाँ तथा विदेशी पर्यटकको चाप बढ्दै गएको र प्रविधि अभावमा झोला खोतल्ने र शरीर जाँच गर्दा समस्या आएपछि नाकालाई प्रविधिमैत्री बनाउन लागिएको हो । गत महिना नाकामा सीसीटीभी क्यामेरा जडान गरिसकिएको छ । ०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । चीनले यसलाई अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको हो । केरुङ र रसुवागढी नाकाको दूरी २४ किलोमिटर मात्र रहेको छ ।
प्रतिक्रिया