सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आज थुनछेक आदेश हुने

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आज थुनछेक आदेश हुने


सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा प्रतिवादीहरुको तर्फबाट भईरहेको थुनछेक बहस सोमबार सकिएको छ । गत आइतवारदेखि प्रतिवादीहरुको तर्फबाट ५६ जना कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।

मुद्दामा ७५ जना कानुन व्यवसायीहरुले प्रतिवादीहरुको तर्फबाट बहस गर्न १ सय १५ वटा वकालतनामा पेश गरेका थिए । मोरङ जिल्ला अदालतका एक कर्मचारीका अनुसार थुनछेक बहस लम्बिएको भन्दै प्रतिवादीहरुतर्फ नै गुनासो आएपछि कानुन व्यवसायीहरुले बहस छोट्याएका थिए ।

सोमवारदेखि सरकारको तर्फबाट सरकारी वकिलहरुले प्रत्युत्तर बहस गरेपछि सम्भवतः आज थुनछेक आदेश हुने मोरङ जिल्ला अदालतले जनाएको छ । प्रत्युत्तर बहस ४ जना सरकारी वकिलले गर्ने बताइएको छ । सुन काण्ड र हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालयमार्फत ६३ जना विरुद्ध अभियोग पत्र दर्ता गराएकोमा ३० जना पक्राउ परेका छन् ।