सामान्यतया महिला र भ्रष्टाचार या भ्रष्टाचार र महिलालाई जोडेर हेर्दा महिलाको छवि भ्रष्टाचार गर्नेको रूपमा नभएर भ्रष्टाचारविरुद्ध आवाज उठाउने या भ्रष्टाचारविरोधी अभियानमा संलग्न हुनेहरूको रूपमा अगाडि आउँछ । विश्वव्यापी रूपमै महिलाहरूले भ्रष्टाचारविरोधीका रूपमा आफ्नो छवि अगाडि बढाएका अनेक दृष्टान्त छन् । पतिले गरेको भ्रष्टाचारमा ऐस गरेर भ्रष्टाचारमा संलग्न भएको आरोप केही महिलालाई विगतमा लागेको थियो, विशेषगरी राजनीतिक क्षेत्रमा यसप्रकारका आरोपहरू अहिले पनि लाग्ने गरेका छन् । विश्व–इतिहासमा राष्ट्रप्रमुख पतिको ओहोदालाई दुरुपयोग गरेर सबैभन्दा बढी चर्चामा आएकी महिला इमेल्दा मार्कोस हुन् । फिलिपिन्सका पूर्वराष्ट्रपति फेरडिनान मार्कोसकी पत्नी इमेल्दा प्रथम महिला हुँदा उनीबाट भएको सरकारी कोषको दुरुपयोग अहिलेसम्मकै कुख्यात दृष्टान्त हो । आफ्ना पति दुईपल्ट राष्ट्रपति हुँदा श्रीमती मार्कोसले त्यतिबेला सात हजार पाँच सय टन त सुन मात्रै जोडेकी थिइन् रे । न्युयोर्कमा घरजग्गाको कारोबारदेखि अन्य विभिन्न मुलुकका बैंकमा पैसा हुँदै उनले अथाह सम्पत्ति जोडेकी थिइन् । कसैले धेरै जोर फेरी–फेरी जुत्ता लगाए भने अहिले पनि इमेल्दा मार्कोससँग जोडेर तिनका साथीहरूले व्यङ्ग्य गर्ने प्रचलन छ । उनका जुत्ताको एउटा जुत्तादानी मात्रै एक हजार ६० जोर जुत्ता अटाउने थियो भनिन्छ । हजारौँ ब्यागकी धनी उनका सात हजार पाँच सय जोर जुत्ता थिए रे । न्युयोर्क, रोम र कोपेनहेगनमा उनले गर्ने गरेका लाखौँ–लाख डलरका किनमेलले तत्कालीन परिवेशलाई आश्चर्यचकित बनाउने गरेको थियो । विश्वका दशौँ भ्रष्टाचारी राजनीतिकर्मीभित्र पर्ने मार्कोस श्रीमतीका कारणले निकै बद्नाम थिए, पछि इमेल्दा मार्कोस स्वयम् फिलिपिन्सको राजनीतिमा संलग्न भइन् । दश भ्रष्टाचारीभित्रै परेका फिलिपिन्सका अर्का राष्ट्रपति जोसेफ इस्टार्डाकी पत्नी लोई भने आफैँ पनि व्यावसायिक महिला (साइक्याट्रिस्ट) भएका कारणले यसप्रकारको बद्नामीबाट जोगिइन् । पद र शक्तिमा भएका व्यक्तिका पत्नीहरूले भ्रष्टाचारलाई मौलाउन झनै मद्दत गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । पत्नी मात्र होइन, शक्तिशाली महिलाका पति पनि यस्ता कुराबाट टाढा रहन सक्दैनन् भन्ने कुराको उदाहरण पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पति असिफ अली जर्दारी हुन् । बेनजीर प्रधानमन्त्री हुँदा उनलाई बद्नाम गराउनमा पति जर्दारीको निकै ठूलो भूमिका रहने गरेको थियो । तर, बेनजीर स्वयम् भने भ्रष्टाचारको प्रत्यक्ष आरोपबाट बचेकी थिइन् ।
इमेल्दा मार्कोसलगायत अन्य केहीका घटनालाई पन्छाएर हेर्दा महिलालाई विश्वमै भ्रष्टाचार गर्ने नभएर भ्रष्टाचारलाई न्यूनीकरण गर्ने र भ्रष्टाचार नगर्ने वर्गका रूपमा लिइन्छ । नाइजेरियाका पूर्वराष्ट्रपति सानी अबाचा विश्वका दशजना भ्रष्टाचारीको सूचीमा परे पनि भ्रष्टाचार न्यूनीकरणका लागि नाइजेरियाली महिलाले चालेको अभियान उदाहरणीय मानिन्छ । इजिप्टमा पनि महिलाद्वारा भ्रष्टाचारविरुद्ध चलाइएका अभियानलाई धेरैले अनुकरणीय भनेका छन् । विश्व बैंकले युरोप, अफ्रिका र एसियाका गरी एक सय ५० मुलुकमा गरेको अध्ययनले सार्वजनिक पदमा महिला भएका ठाउँमा भ्रष्टाचार कम हुँदै नभएको या कम हुने गरेको देखाएको थियो । प्रजातन्त्रमा कम भ्रष्टाचार हुने मान्यता पनि प्रजातन्त्रमा विभिन्न स्थानमा महिलाको प्रतिनिधित्व हुने भएकाले नै हो भन्ने गरिएको छ । माथिल्लो तहमा या नीतिगत तहमा महिलाको सहभागिता रहे भ्रष्टाचार स्वत: कम भएर जाने निष्कर्ष उक्त अध्ययनले निकालेको थियो । स्क्यान्डेनेभियन मुलुकहरूमा हरेक क्षेत्रमा महिलाको बढ्दो प्रतिनिधित्व र घढ्दो भ्रष्टाचारलाई लिएर महिलाहरू माथिल्लो तहमा पुगे भ्रष्टाचार हुँदैन भन्ने मान्यताप्रतिको विश्वास झनै बढेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको वार्षिक सर्वेक्षणले पनि महिलाहरू भएका स्थानमा भ्रष्टाचार कम हुने नै देखाएको छ । तर, हाम्रो मुलुकका केही दृष्टान्तहरूले भने महिलाहरू पदमा गए पनि पुरुषभन्दा खासै फरक केही गर्लान्जस्तो देखाइरहेको छैन । जसका कारण मानिसमा थप निराशा छाउने हो कि भन्न सक्ने अवस्था छ । विशेषगरी पछिल्लो चरणमा प्रधानमन्त्रीपत्नी हिसिला यमीको नाम आर्थिक क्रियाकलापका ‘डिलिङ’हरूमा जसरी जोडिँदै आएको छ त्यसले महिलाबाट कुनै नयाँ र उदाहरणीय काम हुने छैन भन्ने प्रकारको सन्देश फैलिएको छ । बाटोघाटोदेखि विभिन्न नियुक्ति हुँदै जहाज खरिदसम्म उहाँले देखाएको रुचीले उहाँ र पति डा. भट्टराईलाई बद्नाम मात्र गरेको छैन, महिलाहरू ठाउँमा पुगे भने यस्तै हुन्छ भन्ने प्रकारको सन्देशले पनि त्यत्तिकै ठाउँ लिएको छ । हिसिला यमी बाबुराम भट्टराईकी गृह व्यवस्थापक पत्नी मात्र नभएर आफँै राजनीतिमा सक्रिय महिला भएका कारण उहाँबाट जनताले थप अपेक्षा गर्नु स्वाभाविकै थियो, हो । नेपालका थोरै अग्रपङ्क्तिका महिला नेतृहरूमा नाम गनिने हिसिला यमीले यदि अहिले प्रचारमा आएझैं काम गर्नु नै भएको हो भने यसले नेपाली महिलाको नीतिगत तहमा उपस्थितिलाई पर धकेल्न निकै मद्दत पुगेको ठहरिनेछ । यसअघि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाको नेपाली राजनीतिमा उपस्थिति र उहाँका क्रियाकलापले उपल्लो तहमा महिलाको सहभागिताले मुलुकलाई कुनै फरक नपार्ने छाप जनमानसमा परिसकेको छ । बाबु प्रधानमन्त्री हुँदा धमिजादेखि लाउडासम्म ठेक्कापट्टादेखि जागिर र सरुवाबढुवासम्ममा उहाँको हस्तक्षेप नेपालको इतिहासमा लिपिबद्ध भइसकेको छ । मुलुकको परराष्ट्रमन्त्री हँुदा उहाँले गरेका कार्य र दिएका अभिव्यक्ति पनि महिला नेतृत्वका रूपमा प्रेरणादायी भन्न लायक थिएनन् ।
अहिलेको समय भनेको मुलुकका लागि मात्र नभएर नेपाली महिलाका लागि पनि सङ्क्रमणकालको समय हो । कतिपय पुराना नराम्रा मूल्य–मान्यतालाई छोड्दै पुरानै तर राम्रा मूल्य–मान्यतालाई लिँदै नयाँ मान्यता स्थापित गर्नुपर्ने चुनौती महिलालाई छ । सार्वजनिक जीवनमा महिलाको उपस्थितिले मुलुकलाई फरक पार्छ, सही गन्तव्यतिर डो-याउँछ भन्ने कुरा स्थापित गर्नका लागि महिला स्वयम् लागिपर्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा पुरुषले गरेकाभन्दा महिलाले गरेका कामलाई अतिरञ्जित गरिन्छ । हाम्रोजस्तो समाजमा महिलालाई बद्नाम गर्न र खुट्टा तान्न सजिलो पनि छ । तर, यावत् अवरोधका बाबजुद राम्रो काम गर्न सके सकारात्मक छवि स्थापित गर्न गाह्रो पनि छैन । अघिपछिको कुरा मात्रै हो, समय लागे पनि राम्रो कामको परिणाम राम्रै हुन्छ । नेपाली काङ्ग्रेसकी नेतृ शैलजा आचार्यले कृषिमन्त्री हुँदा मन्त्रालयमा भ्रष्टाचारको जालो व्याप्त रहेको अभिव्यक्ति दिएका कारण पदबाट राजीनामा गर्नुपरेको थियो । अहिले आएर जताततै भ्रष्टाचारको जालो व्याप्त भएपछि उहाँको सम्झना गर्न थालिएको छ । उहाँ पदमा हुँदा भ्रष्टाचारको प्रसङ्ग कहिल्यै पनि उहाँसँग जोडिएर आएन बरु विरोधका स्वरहरू सुनिए । अहिले हाम्रो मुलुकको अवस्था के हो, मुलुक कता जाँदै छ भनेर यसै भन्न सक्ने अवस्था छैन । यस्तो बेथितिको अवस्थाबाट मुलुकलाई मुक्त गर्न पनि विभिन्न क्षेत्रमा रहेका महिलाको आवाज सार्वजनिक हुनु आवश्यक छ । भ्रष्टाचार भन्ने कुरा पैसासँग मात्र जोडिएको या जोडिने कुरा होइन । अहिले यो मुलुकको भविष्यमाथि नेतृत्वमा रहेकाहरूले जसरी खेलिरहेका छन् यो पनि भ्रष्टाचार हो ।
प्रतिक्रिया