—मुक्तिनाथ भुसाल
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क भए पनि जिल्लाका ४२ गाविसका अधिकांश बासिन्दा सदरमुकामको नाम लिनुपर्दा ‘चुत्राबेसी’को नाम उच्चारण गर्छन् । सदरमुकाम सन्धिखर्कसँग जोडिएको पुरानो व्यापारिक केन्द्र ‘चुत्राबेसी बजार’सँगको लगाव नै यसको कारण हो । सन्धिखर्क र चुत्राबेसी बजारलाई फाँटखोलाले छुट्याएको छ । वारिपट्टि सन्धिखर्क र फाँटखोला पारिपट्टि चुत्राबेसी बजार रहेको सन्धिखर्कमा सरकारी कार्यालयहरू रहेका छन् भने चुत्राबेसी बजारलाई व्यापारिक केन्द्र मानिन्छ । प्रशस्त खेत अनि बगरले सजिएको सन्धिखर्क सदरमुकाममा सुसाइरहेको फाँटखोलामा स्थानीय सबैले नुहाइधुवाइ गर्ने, मोटरगाडी धुने काम गर्छन् । यसका अलावा आर्थिक विपन्नताबाट ग्रसित करिब पाँच सय नेपाली नागरिक यहाँको ढुङ्गा–बालुवासँग लडिबडी गर्दै साँझबिहानको छाक टार्ने गर्छन् । जाडोको मौसम होस् या गर्मीयाम, यसरी बिहानदेखि साँझसम्म पानीमा डुबुल्की मार्दै गिट्टी फोर्नेहरूको आ–आफ्नो कथा छ, तर सुन्दिने आजसम्म कोही पनि देखिएको छैन ।
कसैका श्रीमान् छैनन् त कसैको कत्ति पनि जमिन नभएको कारण सदरमुकामको छेउमा सस्तो कोठा भाडामा लिई आफ्ना कलिला बालबच्चालाई बगरमा छोडेर दिनभर महिला र पुरुष खोलाको बालुवा अनि बगरको ढुङ्गासँग जुझिरहेका हुन्छन् । तर, यिनको कमाइले साँझबिहानको छाक राम्रोसँग टार्न पनि पुग्दैन । दिनभरि गिट्टी फोर्दा र बालुवा चाल्दा यिनीहरूले उचित मूल्य पनि पाउँदैनन् । जिल्लाभित्रकै ठेकेदारहरूले केही खेत भाडामा लिई यिनीहरूलाई प्रयोग गरेका छन् । यसरी प्रयोग गर्ने क्रममा एक बेल्चा गिट्टी दुई रुपैयाँमा खरिद गरी बजारमा पाँच रुपैयाँ बेल्चा बेच्ने गर्दछन् । त्यसैगरी एक ड्रम बालुवा यिनीहरूबाट सत्तरी रुपैयाँमा खरिद गरी बजारमा दुई सयमा बेच्ने गर्दछन् । जसमा ट्याक्टर भाडा अलग तिर्नुपर्छ ।
खोलाको बगरमा काम गर्नेहरूले ठेकेदारको मातहतमा रहनु नपरे पनि यिनीहरूले दैनिक तयार पारेको गिट्टी र बालुवा दिनभरमा एक ट्याक्टरजति पनि जम्मा नहुने कारण ठेकेदारले गरेको मूल्यमा बिक्री गर्दै सबैभन्दा सस्तो चामल खरिद गरी आफ्नो निवासतर्फ फर्कन्छन् । कहिलेकाहीँ उसै दिन बिक्री नभएको बालुवा–गिट्टी अर्को दिन जाँदा राति नै चोरी भइसकेको हुन्छ । यिनीहरूलाई नजिकबाट हेर्ने हो भने शरीरमा फाटेका पातला लुगा अनि खाली खुट्टामा काम गरिरहेका छन् । उता बिहान–साँझ सस्तो मोटा चामल पकाएर थोरै आलुको पानीसँग खाना खाई बगरमा सङ्घर्ष गरिरहेको यो अवस्थाप्रति ध्यान पु-याउने कसले ? यिनका नानीबाबुहरू बगरको बालुवा र गिट्टीमाथि खेल्ने नाममा रोइरहेका हुन्छन् । धेरैपटक मन्त्री र विभिन्न राजनीतिक दलहरूमा प्रशस्त केन्द्रीय नेताहरू जन्माएको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भइरहेको मजदुर शोषण र गरिबीको पीडाप्रति कसैको ध्यान नजानु अत्यन्तै दुखद् कुरा हो ।
सदरमुकाम सन्धिखर्कबाट करिब १२ किलोमिटर यात्रामा जिल्लाकै सुगम मानिने स्थान जरेखोला पुग्न सकिन्छ । वाङ्ला, डिर्भना र ठूलापोखराको काखमा रहेको जरेखोलामा पनि बालशोषण र मजदुरहरूमाथि अन्याय भए पनि सरोकारवालाहरू नदेखेजस्तो गरी लाज पचाइरहेका छन् । जरेखोलाका आसपास बसोबास गर्न करिब पाँच सय मजदुर यो खोलामा दिनहुँ बालुवा र गिट्टी चाली समस्यासँग लडिरहेका छन् । आफ्ना स–साना नानीबाबुहरूलाई पनि काममा लगाउन उनीहरू बाध्य बनेका छन् । उनीहरू आफ्ना सन्तानलाई अरूले झैँ सुकिलोमुकिलो तुल्याएर सुविस्तापूर्वक विद्यालय पठाउन चाहन्छन् तर गरिबीका कारण मुटुमा गाँठो पारेर त्यो चाहना मार्न उनीहरू विवश छन् । अनेक अपमान खपेर पनि नम्रता प्रस्तुत गर्दै गाडीवालाहरूलाई खुसी बनाएर बालुवा–गिट्टी बेच्नुपर्ने बाध्यतामा परेका छन् यिनीहरू । फाँटखोलाको एकोहोरो सुसाईमा उनीहरूको वेदनाको आँसु त्यसै–त्यसै बगेर जान्छ, सुनिदिने कोही पनि छैन । वाङ्ला, पाली, बल्कोट, केरुङ्गा र ठूलापोखरा गाविसलाई छोएर जरेखोला अगाडि बढेको छ । करिब पाँचवटा गाविसमा बसोबास गरिरहेका पाँच सय मजदुर जरेखोलालाई नै आफ्नो दाता र भविष्य सम्झिएर दिनरात मिहिनेत गरिरहेका छन् । यी मजदुरमध्ये आधाभन्दा बढी विद्यालय जाने विद्यार्थी रहेका छन् । आफ्नो पढाइ खर्च आफैँले धान्ने र अभिभावकलाई पनि थोरबहुत मद्दत गर्नुपर्छ यी कलिला ‘भविष्यका कर्णधार’हरूले ।
संसारका मजदुरहरू एक होऔँ भन्ने नेपालका कम्युनिस्ट अनि बिपीको समाजवादको दर्शन छाँट्ने नेपाली काङ्ग्रेस र बालशोषणको अन्त्य हुनुपर्छ भन्दै डलरको खेती गर्दै हिँड्ने एनजीओ–आईएनजीओका ठेकेदारहरूलाई जानकारी नभएकै होला त सन्धिखर्कको जरेखोलामा बालशोषण र मजदुर शोषण भइरहेको यथार्थ ? मजदुरहरू भन्छन्, ‘सबै आउँछन् र फोटो खिचेर जाने गर्दछन्, तर हामीलाई कसैले सहयोगको हात बढाएको छैन ।’ यसरी विभिन्न राजनीतिक दलहरूमा केन्द्रीय नेताहरू जन्माएको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र ११ किलोमिटर कच्ची सडक यात्रामा पुग्न सकिने जरेखोलामा भइरहेको बालशोषण, मजदुर शोषण र गरिबीको पीडाप्रति कसैको ध्यान नजानु अत्यन्तै दु:खद् र विडम्बनाको विषय हो ।
प्रतिक्रिया