अमेरिकामा शुभारम्भ
नेपालमा आफ्नो स्थापनाकालको तीन दशक पार गरिसकेको तेक्वान्दोको छुट्टै पहिचान र इतिहास छ । प्रतिबन्धसँगै पहिचान र पहिचानसँगै इतिहास बनाएको तेक्वान्दोलाई यहाँसम्म पु-याउन थुप्रै प्रशिक्षक र खेलाडीको महत्वपूर्ण योगदान रहेको छ । मार्सल आर्टस्को यो विधा अर्थात् तेक्वान्दोलाई नेपालमा नम्बर एक बनाउन ज्ञात–अज्ञात प्रशिक्षक र खेलाडीले आफ्नो रगत र पसिना सुकाएका छन् । उनीहरूकै अथक प्रयास र मिहिनेतले तेक्वान्दोले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ठूलो फड्को मार्न सफल भएको थियो । यसपछि तेक्वान्दो लोकप्रियताको शिखरमा मात्र नभई नेपालीले शानका साथ छाती फुलाएर भन्न सक्ने एउटा प्रभावशाली खेलको रूपमा उदय भएको थियो । जसले आफ्नो शान र साखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यद्यपि अनुशासित रूपमा कायम राख्न सफल भएको छ । नेपालको आवरणमा अहिले पनि तेक्वान्दोले आफ्नो उत्कृष्ट प्रदर्शनका कारण आमखेलप्रेमीमा छुट्टै स्थान बनाउन सफल भएको छ ।
यसरी सफलतामाथि सफलताको ऐतिहासिक झन्डा गाडन सफल भएको तेक्वान्दोमाथि केही समय पहिले कसैको ‘गिद्दे’ नजर नपरेको पक्कै होइन । सत्ता र शक्तिको दुरुपयोग गर्दै राज्यस्तरबाटै तेक्वान्दोको मानमर्दन भएको जगजाहेर छ । एउटा नेपाल तेक्वान्दो सङ्घ छँदाछँदै त्यसमा सौता हाल्ने काम अवश्य भएकै हो । जुन तेक्वान्दो खेलको रूपमा अहिले पनि राष्ट्रिय खेलकुद परिषद्मा ‘ओटी’को रूपमा रहेकै छ । के उद्देश्यवाट प्रेरित भएर तेक्वान्दोमाथि सौता हालिएको थियो त्यसको अहिलेसम्म ठोस जवाफ आएको छैन । जब तेक्वान्दोमाथि सौता हाल्ने राज्यले निर्णय ग-यो तब राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले त्यसको प्रतिवाद गरेका थिए । तर, विडम्बना ! गलत कार्यलाई रोक्न सदस्यसचिवले व्यक्तिगत रूपमा गरेको प्रयास असफल भएको थियो । अर्थात् उनले सत्ताका अगाडि घँुडा टेक्नुपरेको थियो । यो तीतो सत्य त्यतिबेला जगजाहेर भएकै कुरा हो । राजनीतिक नियुक्ति पाएर खेलकुदमा आएका लामाले यो नीति–नियमसङ्गत छैन, यस्तो गैरकानुनी कार्य राखेपले गर्न मिल्दैन भन्दा झन्डै उनले सदस्यसचिवको पदबाट हात धुनुपरेको थियो । सत्ता र शक्तिको आडमा सीमित व्यक्तिहरूको स्वार्थ पूरा गर्न अन्तिममा अर्को तेक्वान्दो सङ्घको उदय भएको थियो । जुन राखेपको नजरमा समेत आफैँमा गैरकानुनी थियो ।
स्यालले बाघको खोल ओड्दैमा ‘बाघ’ बन्दैन, कुराको यथार्थ अहिले खेलकुदमा प्रस्ट रूपमा देखिएको छ । नेपाल तेक्वान्दो सङ्घको छवि हिजो पनि आसमानमा थियो भने अहिले पनि छ । उसको मान, सम्मान र प्रतिष्ठामा रति बराबर पनि आँच आएको छैन । उल्टै अझ सशक्त र प्रभावकारी ढङ्गले अगाडि बढ्न सफल भएको छ । हिजो तेक्वान्दोमाथि सौता हाल्ने सरकारले नै तेक्वान्दोको विकास र विस्तारका लागि करोडौँ रुपैयाँको बजेट विनियोजन गरेर भव्य एकेडेमी निर्माणमा आफ्नो अग्रसरता देखाएको छ । जसले गर्दा सरकारले विगतमा गरेको पुरानो निर्णय गलत भएको यो कुराले पनि पुष्टि गरेको छ । अर्कोतर्फ राखेपका सदस्यसचिव युवराज लामाले नेपालमा तेक्वान्दो एउटै छ भनेर बारम्बार दोहो-याउनु र तेक्वान्दो एकेडेमीको उद्घाटन गर्नुले पनि प्रकाशशमशेर राणा अध्यक्ष र दीपराज गुरुङ महासचिव रहेको तेक्वान्दो नै वास्तविक तेक्वान्दो भएको प्रमाणित गरेको छ । अझ युनियनको साधारणसभामै सदस्यसचिव लामाले तेक्वान्दो सङ्घसँग मिल्नुको विकल्प छैन, तपाईंहरू मिलेर जानुहोस् भनेपछि सौता हालिएको अर्को तेक्वान्दोलाई राखेपको वैधानिक मान्यता छैन भन्ने कुरा जोकोहीले सहजै अड्कल र अनुमान लगाउन सक्छ ।
नेपालमा विकसित भएको तेक्वान्दोको यही वास्तविकतालाई आत्मसात् गर्दै संयुक्त राज्य अमेरिकामा रहेका अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो सङ्घ (इन्टा) र अन्तर्राष्ट्रिय तेक्वान्दो युनियन (एन्टा)ले आपसी सहमति गरेर एकबद्ध भएर अगाडि बढ्ने निर्णय गरेका छन् । पूर्वनेपाली तेक्वान्दो खेलाडीले यी दुई संस्थाको उद्देश्य एउटै भएकाले होस्टेमा हैंसे गर्दै अगाडि बढ्ने निर्णय गरेका हुन् । एउटै उद्देश्य अर्थात् समग्रमा नेपाली तेक्वान्दोको विकास र विस्तारमा योगदान दिने भएकाले सङ्गठित रूपमा अगाडि बढ्दा अझ प्रभावकारी हुने ठहर गर्दै दुवै सङ्घले एक हुने निर्णय गरेका हुन् । विगतमा विभिन्न कारणले अमेरिकामा दुईवटा तेक्वान्दो सङ्घको गठन भए पनि इन्टाका उपाध्यक्ष जगनलाल श्रेष्ठ ‘विपिन’ले आपसी मनमुटावलाई बिर्सिएर एउटै तेक्वान्दो सङ्घ बनाउन अग्रगामी कदम चालेका थिए । विपिनले एन्टाका अध्यक्ष लवप्रसाद गोर्खालीसँग एकताका लागि कुरा चलाएपछि यसप्रति गोर्खालीले सकारात्मक धारणा प्रस्तुत गरेका थिए । यसपछि अमेरिकाको भर्जिनिया राज्यमा हालै सम्पन्न भएको नेसनल क्यापिटल तेक्वान्दो प्रतियोगितामा दुवै सङ्घका पदाधिकारीबीच छलपल भएको थियो । उक्त छलफलमा इन्टुका तर्फबाट अध्यक्ष गोर्खाली, महासचिव कुमारबहादुर कार्की र सदस्यमा दुर्गा गुरुङ रहेका थिए भने इन्टाकातर्फबाट अध्यक्ष यमबहादुर पुन र उपाध्यक्ष जगनलाल श्रेष्ठ ‘विपिन’ले सहभागिता जनाएका थिए ।
निकै सुमधुर वातावरणमा सम्पन्न भएको उक्त छलफलमा इन्टाका उपाध्यक्ष विपिनले दुवैै संस्था एउटै उद्देश्यबाट प्रेरित भएकाले किन दुवै संस्था एक नहुने भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । यसपछि इन्टुका अध्यक्ष गोर्खालीले यो प्रस्ताव निकै सान्दर्भिक भएको टिप्पणी गर्दै तेक्वान्दोको समग्र विकास र विस्तारका लागि कोसेढुङ्गा सावित हुने प्रस्ट पारेका थिए । छलफलमा नेपाल र नेपालबाहिर रहेका पूर्वखेलाडी र प्रशिक्षकको हकहित र तेक्वान्दो खेललाई सबैजना मिलेर के–कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा समेत गम्भीर छलफल भएको थियो । नेपालमा तेक्वान्दोका जतिवटा सङ्घ खुले पनि विश्व तेक्वान्दो महासङ्घले एउटै सङ्घ अर्थात् नेपाल तेक्वान्दोे सङ्घलाई मात्र आधिकारिक मान्यता दिने प्रावधान रहेकाले सोही सङ्घसँग सहकार्य गरेर अगाडि बढ्नेमा समेत दुवै पक्षको सहमति भएको थियो । इन्टाका अध्यक्ष यमबहादुर पुनले भविष्यमा दुवै संस्था एकसाथ सहकार्य गर्दै जाने ठोकुवा गर्दै व्यक्तिगत स्वार्थमा नलागी तेक्वान्दो खेलको विकास र विस्तारमा दुवै संस्था मिलेर जानुपर्ने धारणा राखेका थिए । त्यस्तै, इन्टुका महासचिव कुमार कार्कीले नेपाल तेक्वान्दो सङ्घसँग सहकार्य गरेर जानुपर्ने र छलफलमा उठेका सुझावलाई तेक्वान्दो सङ्घमा पेस गर्नुपर्ने बताएका थिए । दुवै संस्था आपसमा मिलेर सहकार्य गर्ने भएपछि खुसी व्यक्त गर्दै नवौँ ग्रान्ड मास्टर सुची केलीले आगामी दिनमा नेपालमा तेक्वान्दो खेलको विकास र विस्तारमा सहयोग पुग्ने धारणा राखेका थिए ।
दुवै संस्थालाई एउटै बनाएर लाने आफ्नो उद्देश्य सफल भएकोमा निकै प्रसन्न देखिएका विपिनले यो एकतालाई ठूलो सफलताको संज्ञा दिएका छन् । विपिनले दुवै संस्थाका पदाधिकारी आफ्ना मनमुटावलाई त्यागी एउटै छाता सङ्गठनमा रहेर कार्य गर्न जारी भएकोले यसले भविष्यमा तेक्वान्दोमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । विपिनले अहिले छलफलको माध्यमबाट ‘सेतु’को निर्माण गरिएको छ, भोलि सँगै हिँडिन्छ भन्दै यसका लागि आफू विशेष होमवर्कका लागेको प्रस्ट पारेका छन् । उनले आफूहरूमा कुनै व्यक्तिगत स्वार्थ नभएको खुलासा गर्दै बाँकी ठोस निर्णय आगामी बैठकमा बसेर गर्ने बताएका छन् । यी दुवै संस्थाको आगामी बैठक मिचिगनको वाटरफोर्ड सिटीमा बस्ने तय भएको छ । कामना गरौँ, एउटै उद्देश्यबाट प्रेरित दुई संस्थाको आपसी मिलन होस्, एकता गाँठो सदाका लागि बलियो भएर गाँसियोस्, तेक्वान्दो खेलको विकासमा नयाँ तरङ्ग पैदा होस्, नेपाल र नेपालीको शान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढोस् ।
लुम्बिनी करातेमा राष्ट्रिय टिम च्याम्पियन
३९औँ राष्ट्रिय लुम्बिनी कराते प्रतियोगितामा राष्ट्रिय टोली च्याम्पियन बनेको छ । उक्त प्रतियोगितामा राष्ट्रिय टोलीले ११ स्वर्ण, एक रजत र एक कास्य पदक जितेर च्याम्पियन बनेको होे । प्रतियोगितामा कुल १९ समूहमा भिडन्त भए पनि राष्ट्रिय टोलीले १४ समूहमा सहभागिता जनाएको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन् । प्रशिक्षक श्रेष्ठले उक्त प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका बताए । त्यस्तै, नेपाल प्रहरीले तीन स्वर्ण, तीन रजत र तीन कास्य हात पार्दै दोस्रो स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको नेपाली सेनाले दुई स्वर्ण, तीन रजत र चार कास्य जित्न सफल भएको थियो । त्यस्तै पहिलोपटक सहभगिता जनाएको विश्वविद्यालयको टिमले दुई स्वर्ण, एक रजत र ६ कास्य जित्दै चौथो स्थान हासिल गरेको थियो । महिलातर्फ एपीएफकी गंगा अधिकारी उत्कृष्ट खेलाडी भइन् भने पुरुषतर्फ गण्डकीका गणेश पाइजा प्रतियोगितामा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट खेलाडीको पुरस्कार, गिफ्टहेम्पर स्पोर्टस् लिकका प्रोप्राइटर पर्शुराम बास्तोलाले सौजन्य गरेका थिए ।
महिला ५० केजीमा राष्ट्रिय टिमकी अनु अधिकारीले बाजी मारिन् । उनले राष्ट्रिय टिमकै रोजी नगरकोटीलाई उपाधि भिड्न्तमा ७–२ ले स्तब्ध पारेकी थिइन् । महिला ५५ केजीमा नेपाल प्रहरीकी मल्लिका थापाले स्वर्ण पदक जितेकी थिइन । उनले दशौँ सागकी रजत विजेता विश्वविद्यालयकी अमृता शाक्यलाई ८ अङ्कको फराकिलो ९–१ ले अन्तरले पराजित गरेकी थिइन् ।
मल्लिका राष्ट्रिय टिममा प्रशिक्षणमा रहेकी नवप्रतिभावान खेलाडी हुन् । यसैगरी महिलाकै ६१ केजीमा राष्ट्रिय टिमकी सपना लामाले स्वर्ण आफ्नो झोलीमा हालिन् । उनले फाइनलमा नेपाल प्रहरीकी रोशनी खड्कीलाई ७–२ ले पाखा लगाएकी थिइन् । महिला ६८ केजीमुनिको फाइनलमा नेपाली सेनाकी रिता कार्कीले राष्ट्रिय टिमकी कल्पना बस्नेतलाई ६–२ ले पराजित गरेकी थिइन् । महिला ६८ केजीमाथि राष्ट्रिय टिमकी गंगा अधिकारीले स्वर्ण जितिन् । गंगासँग ५–० ले पछि परेपछि बागमतीकी निर्मला राईले खेल परित्याग गरेकी थिइन् । महिला टिम कुमुतेमा विश्वविद्यालय च्याम्पियान बन्न सफल भएको थियो ।
त्यसैगरी पुरुष ६० केजीमा राष्ट्रिय टिमका विनोद महर्जनले उपाधि भिडन्तमा एपीएफका मोहन कार्कीमाथि हाइस्कोरका आधारमा १३–३ को सहज जित निकालेका थिए । ६७ केजीमा पनि राष्ट्रिय टिमबाट खेलेका एपीएफका मुकुन्द महर्जन स्वर्ण जिते । उनले नेपाली सेनाका गोविन्द बिसंखेलाई ५–२ ले पाखा लगाएका थिए । ७५ केजीको फाइनलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले बाजी मारेका थिए । उनले सेनाका लेखनाथ मैनालीलाई हाइस्कोरका आधारमा ९–१ ले परिणाम आफ्नो पक्षमा पारेका थिए । ८४ केजीमुनिको फाइनलमा राष्ट्रिय टिमका भीमबहादुर तामाङले हाइस्कोरकै आधारमा गण्डकीका दिवस थापालाई १४–६ ले पाखा लगाएका थिए । ८४ केजीमाथि नेपाल आर्मीका सीताराम विकले स्वर्ण जितेका थिए । उनले फाइनलमा सगरमाथाका श्रजेश श्रेष्ठलाई ९–३ ले पराजित गरेका थिए ।
प्रतियोगितामा टिम कातातर्फ नेपाल प्रहरीले बाजी मारेको थियो । राष्ट्रिय टिमका केदारबहादुर सिम्खडा, गणेशबहादुर थिङ र मन्देकाजी श्रेष्ठको आकर्षक कला प्रदर्शनका अगाडि एपीएफका नारायणदत्त पन्त, सत्रुधन राना र गोपीराम घलेको कला प्रदर्शन फिका सावित भएको थियो । कातामा नेपाल प्रहरी ५–० ले विजयी भएको थियो । पुरुष टिम कुमुतेतर्फ नेपाल प्रहरीले स्वर्ण जितेको थियो । अन्तिम दिन १३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका विजेतालाई राखेप सदस्यसचिव युवराज लामा तथा आयोजकका अध्यक्ष दावा गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १४ अञ्चल, नेपाल प्रहरी क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लब, विश्वविद्यालय र राष्ट्रिय टिम तीन सय ९९ खेलाडीको सहभागिता रहेको थियो ।
समापनका अवसरमा सदस्यसचिव लामाले अब लुम्बिनीबाट कराते नयाँ युगमा प्रवेश गरेको बताएका थिए । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लामाले विश्वमा शान्तिको सन्देश फैलाउन यो प्रतियोगिता फलदायी हुने विश्वास व्यक्त गर्दै परिषद्ले प्रतियोगितालाई महत्वपूर्ण रूपमा हेरिरहेको बताएका थिए । सदस्यसचिव लामाले यो प्रतियोगितामार्फत नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश फैलाउन पनि जरुरी रहेकोमा जोड दिएका थिए । सदस्यसचिव लामाले विगतमा कराते सङ्घमा रहेको कमी–कजोरीलाई केलाउनुभन्दा पनि त्यसलाई सुधार गरी वर्तमान सङ्घ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
बक्सिङ प्रशिक्षक कृष्णमानको निधन
बक्सिङका सहायक प्रशिक्षक एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी कृष्णमान श्रेष्ठको निधन भएको छ । नसासम्बन्धी रोगले लामो समयदेखि पीडित श्रेष्ठको उपचारको क्रममा गत बिहीबार राति टिचिङ अस्पतालमा निधन भएको हो । ०२२ साल जेठ ८ गते जन्मेका श्रेष्ठ बक्सिङ खेलमा लाग्दै १९९१ मा श्रीलंकाको कोलम्बोमा आयोजित पाँचौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक र १९९५ मा भारतको मद्रासमा आयोजित सातौँ दक्षिण एसियाली खेलकुदमा कास्य पदक प्राप्त गर्न सफल भएका थिए । हाल उनी राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत धादिङमा सहायक प्रशिक्षकमा करारमा कार्यरत थिए । स्वर्गीय श्रेष्ठको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा राखिएको थियो । उनको पार्थिव शरीरमा नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले बक्सिङ सङ्घको झन्डा ओडाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने सङ्घका पूर्वअध्यक्ष एवम् ओलम्पियन रविराज थापा, राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी, बक्सिङ सङ्घका पदाधिकारी एवम् खेलाडीले श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको निधनमा नेपाल बक्सिङ सङ्घले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनले बक्सिङ खेलमा अपूरणीय क्षति भएको भन्दै स्वर्गीय श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गरेको छ । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
बुल्स दोस्रो ब्याडमिन्टन प्रतियोगिता हुने
बुल्स इन्डोर स्पोर्टस् क्लब, नख्खुको आयोजनामा बुल्स दोस्रो ब्याडमिन्टन प्रतियोगिता चैत ७ देखि १० गतेसम्म सञ्चालन हुने भएको छ । चारदिने प्रतियोगितामा ६ इभेन्ट पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, भेट्रान डबल्स (४५ वर्षमाथि), सुपर भेट्रान (५५ वर्षमाथि) समावेश गरिएको छ । पुरुष एकल, डबल्स र महिला डबल्सको विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुने खेलाडीले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आयोजकका अनुसार निजीस्तरको क्लबमा यो आयोजना हुने यो सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो । एक सयभन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा झन्डै १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्बाट ब्याडमिन्टनमा १६औँ बरियतासम्म प्राप्त खेलाडीले प्रतियोगितामा भाग लिन पाउने छैनन् । ०५७ पछि विभिन्न कारणले प्रतियोगितालाई नियमित आयोजना गर्न नसकिएको जनाउँदै बुल्सका अध्यक्ष कृष्ण पुनले आउँदा वर्षहरूमा नियमित रूपमा आयोजना गरिने जानकारी दिएका थिए ।
प्रतिक्रिया