नेपाल र भारतबीच सीमापार रेलमार्गसम्बन्धी चलिरहेका परियोजनाको कार्यान्वयन तथा रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना सञ्चालन समितिको १०औँ तथा संयुक्तकार्य समूहको आठौँ बैठक सम्पन्न भएको छ ।
शुक्रबार (२९ जेठ) सम्पन्न बैठकमा दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा विकास भइरहेको भारत-नेपालबीचको जयनगर-बिजलपुरा-बर्दिबास तथा जोगबनी-विराटनगर ब्रोडगेज रेलमार्गको कार्यान्वयन प्रगतिबारे छलफल गरेका काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
जनकपुर-अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन प्रारम्भ गर्न आवश्यक मानक सञ्चालन कार्यविधि, रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्गको अन्तिमस्थान निर्धारण सर्वेक्षण प्रतिवेदन, पूर्व-पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग तथा थप रेलमार्ग सम्पर्क विस्तारसम्बन्धी विषयमा पनि बैठकमा छलफल भएको थियो ।
दुवै पक्ष रेल क्षेत्रको सहयोगलाई थप सुदृढ बनाउन निकट समन्वय र सहकार्यलाई निरन्तरता दिन सहमत भएका दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया