किरणद्वारा स्वकारबाही र प्रचण्डको महामन्त्रीमा नियुक्ति

किरणद्वारा स्वकारबाही र प्रचण्डको महामन्त्रीमा नियुक्ति


bicharइतिहास-अर्जुन मल्ल
०४६ साल वैशाख–जेठ महिनामा भएको नेकपा (मशाल) को केन्द्रीय समितिको बैठकमा त्यसबेला महामन्त्री (त्यसबेला पार्टी महासचिवलाई महामन्त्री भनिन्थ्यो र यो नै सर्वोच्च पद थियो । त्यसबेला अध्यक्ष पद थिएन) मोहन वैद्य (किरण) ले आश्चर्यजनक प्रस्ताव पेस गरे– आफूलाई महामन्त्रीबाट हटाउने प्रस्ताव । यो प्रस्तावको कारणबारे किरणको भनाइ थियो– केही समय अगाडि पञ्चायती चुनाव बहिष्कारको क्रममा काठमाडौं नगरभित्र रहेका केही प्रहरी सेक्टर (अहिले प्रहरी बिट भनेजस्तै त्यो बेला प्रहरी सेक्टर भनिन्थ्यो) माथि हमला र तोडफोड गर्नु र त्यसको परिणामस्वरूप उपत्यकामा केही नेता तथा धेरै कार्यकर्तालाई गिरफ्तार भएर पार्टीलाई क्षति पुग्न गएको कुराप्रति नैतिक जिम्मेवारी लिँदै महामन्त्री पदबाट आफू तल झर्नु आवश्यक छ । साथै किरणले प्रचण्डभन्दा वरिष्ठ अरू दुई पोलिटब्युरो सदस्यहरू खम्बसिंह कुँवर र सीपी गजुरेललाई पनि सेक्टर काण्डमा नैतिक जिम्मेवारी भएकोले एक पद तल झर्नै कारबाही प्रस्ताव गरे । र, यसपछिको वरिष्ठतामा रहेका प्रचण्डलाई महामन्त्रीमा नियुक्ति गर्ने प्रस्ताव किरणले राखे । छलफलपछि यो प्रस्ताव सर्वसम्मतिले पारित भयो । ०४० सालमा केन्द्रीय समितिमा पुगेका प्रचण्ड ६ वर्षमा नै पार्टीको महामन्त्री बने । किरण पोलिटब्युरो सदस्य मात्रै बने । बादल पनि यसै बैठकबाट पोलिटब्युरोको पूर्ण सदस्य भए ।
सेक्टरकाण्डका कारण भएको भनिएको यो नेतृत्व परिवर्तन माओवादी पार्टीभित्र बहसको विषय बनिरह्यो र अहिलेसम्म पनि चलिरहेको छ । यस घटनाको सेरोफेरोमा पार्टीमा प्रचण्ड, किरण र बादलको नेतृत्वदायी क्रान्तिकारी टिम त बन्यो तर तीनजनामध्ये मुख्य नेता को हो भन्ने विषय स्पष्ट नहुँदा वा विवाद भइरहँदा पार्टी र जनयुद्धकै मुख्य नेता को हो भन्ने बहस चलिरह्यो ।
अहिले माओवादीको फुटपछि मोहन वैद्य (किरण) को नेतृत्वमा बनेको नेकपा (माओवादी) को महाधिवेशनमा किरणले पेस गर्नुभएको प्रस्तावमा उल्लेखित केही कुराहरूले त्यो बहस अझ चर्केको छ र रहस्यमय भएको छ । किरणको प्रस्तावमा भनिएको छ कि सेक्टरकाण्डकै कारण नेतृत्व परिवर्तन गर्नु उदारवादी गल्ती भएको छ । अर्थात् सेक्टरकाण्डकै कारण नेतृत्व छोड्नुहुने थिएन ।
०४६ सालको त्यो बैठकमा किरणले स्वकारबाही गरेर तथा अरू दुईजना वरिष्ठलाई पनि कारबाही गरेर प्रचण्डलाई महासचिव नबनाएको भए के हुन्थ्यो त ? यो अब अनुमान र इतिहासको विषय भइसकेको छ । त्यो बेलाको नेतृत्व परिवर्तनको कारणबारे प्रचण्डको भनाइ भने भिन्न रहेको छ । प्रचण्डले ०५७ माघ २६ देखि फागुन १ गतेसम्म भारतको भटिण्डा भन्ने ठाउँमा भएको नेकपा (माओवादी) को राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ, ‘वास्तवमा तत्कालीन मशालको नेतृत्व परिवर्तन सेक्टरकाण्डमा प्राविधिक कमजोरीका कारण भएको भनी प्रचार गरिनु– निमित्त कारणलाई प्रमुख कारणका रूपमा प्रस्तुत गर्ने गल्ती भएको हो । यसबाट तत्कालीन मशाल र पार्टी एकतापछि समेत काफी भ्रम रहिरह्यो । यो कुरा क. किरणले ‘नेपाली क्रान्तिका समस्याहरू भाग–१’ को भूमिकामा स्पष्ट गर्नुभएको छ ।’ (ऐतिहासिक दस्तावेजहरूबाट)
सोही दस्तावेजमा प्रचण्डको भनाइ रहेको छ, ‘पाँचौँ महाधिवेशन (०४१ साल) पछि मसालमा फुट भइछाड्यो । वस्तुतः यो फुटले विचार निर्माणमा नकारात्मक रूपले महत्वपूर्ण भूमिका खेल्यो । यसपछिको करिब चार वर्षको अवधि तत्कालीन मशालको मूल नेतृत्व क. किरण एवम् बादललगायत अन्य युवा क्रान्तिकारी कमरेडहरूसँगको बहस, अन्तरक्रिया, सहकार्य, अध्ययन, सङ्गठनात्मक सक्रियताका दृष्टिले क. प्रचण्डको वैचारिक विकासका लागि अत्यन्त ऊर्जाशील अवधिका रूपमा रह्यो । … वस्तुतः यो नयाँ कार्यदिशाको विकासमा सक्रिय र नेतृत्वदायी भूमिकाकै कारण क. प्रचण्डलाई मशालको महामन्त्री छानिएको हो ।’ (उही दस्तावेज)
अर्थात् प्रचण्डको भनाइअनुसार नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकासमा प्रचण्डको सक्रिय र नेतृत्वदायी भूमिकाको कारण नै उनलाई महामन्त्रीमा ०४६ सालमा छानिएको हो । अर्थात् किरण, प्रचण्ड, बादलमध्ये प्रचण्ड नै प्रमुख वैचारिक नेता भएकाले सङ्गठनात्मक रूपमा पनि प्रचण्डलाई नै प्रमुख नेता बनाइएको हो । यो कुरा ०५७ सालको राष्ट्रिय सम्मेलनमा प्रचण्डको प्रस्ताव स्वीकार गरेर सबैले सहमति जनाएको देखिन्छ । तर, प्रचण्डको प्रस्ताव नेपाली क्रान्तिका समस्याहरू भाग १ को भूमिकामा किरणले ०४६ सालमा नेतृत्व परिवर्तनको प्रसङ्ग नै उल्लेख छैन । र, कारणबारे पनि किटानी उल्लेख छैन । (हेर्नुहोस्–भाग १ को भूमिका)
अहिले किरणले सेक्टरकाण्डका कारण नेतृत्व परिवर्तन गर्नु गल्ती भएको भनेर नयाँ प्रस्ताव महाधिवेशनबाट पारित गराए पनि इतिहासको वस्तुगत परिणामले प्रचण्डलाई त्यो बेला नेतृत्व दिनु सही सावित नै गर्दछ । जनयुद्धको अन्त्य गरेर प्रचण्डले गलत गरे भन्ने नाममा प्रचण्डका त्यो बेलाका क्रान्तिकारी विचार र नेतृत्वको अवमूल्यन गर्नु आवश्यक र सही तरिका होइन । इतिहासमा नेताहरूले गर्ने गलतलाई गलत र सहीलाई सही भन्नुपर्छ । पछि गलत गरे भन्दैमा पहिला पनि गलत नै थिए भन्नु राम्रो पद्धति होइन ।
त्यसबेलाको नेतृत्व परिवर्तनमा बादलले किरणलाई नै महासचिवमा राखेर अघि बढ्नु राम्रो हुने तर्क गरेका थिए । तर, पछि किरणले ‘प्रचण्डले नेतृत्व लिन नमाने तपाईंले लिनुस्’ भनेर शेरसिंह (भक्तबहादुर श्रेष्ठ) लाई भन्न गएपछि प्रचण्डले नेतृत्व लिन तयार भएको र बादल पनि त्यसमा सहमति भएका थिए । किरणले प्रचण्डभन्दा वरिष्ठ सीपी गजुरेल वा खम्बसिंह कुँवर (काजीसाव) लाई किन महामन्त्री दिएनन् त ? किरण, प्रचण्ड, बादलका दृष्टिमा गजुरेल दक्षिणपन्थी खालका थिए र खम्बसिंह उमेर र बौद्धिक साङ्गठनिक क्षमताका कारणले योग्य थिएनन् । शेरसिंह (भक्तबहादुर श्रेष्ठ) चौथो महाधिवेशनको केन्द्रीय समितिको महासचिव भइसकेका थिए ।
वास्तवमा किरणले जनयुद्ध सुरुवात गर्न ध्यान केन्द्रित गर्ने तीव्र दबाब तथा जनयुद्धको तयारी र क्रान्तिकारी सङ्घर्ष गर्नु ठीक होइन भन्ने वाचस्पति देवकोटा (जो त्यो बेला वरिष्ठ केन्द्रीय सदस्य थिए) लगायतको दबाबबीच आफू हटेर तथा दुई वरिष्ठलाई कारबाही गरी प्रचण्ड र बादलसँगको टिम बनाउने निर्णय गर्नु सही निर्णय थियो ।
किरणले नेतृत्व नछोडेको भए के हुन्थ्यो होला ? के उहाँले जनयुद्धको नेतृत्व गरेर सफलतामा पु-याउन सक्नुहुन्थ्यो होला ? यसको जवाफ कल्पनामा होइन, बरु अब उहाँले व्यवहारमा नै दिनुपर्ने हुन्छ । किनभने प्रचण्ड बाबुरामबाट सम्बन्धविच्छेद गरेर नयाँ नेकपा (माओवादी) पार्टीको प्रमुख नेता (अध्यक्ष) आफैँ बन्नुभएको स्थिति किरण (मोहन वैद्य) ले त्यो कुरा व्यवहारमा पुष्टि गर्ने अवसर आएको छ ।
जनयुद्धको तयारी, सुरुवात, उत्थान र अवसान (अन्त्य) को इतिहासले प्रचण्ड नै मुख्य वैचारिक र साङ्गठानिक नेता थिए भन्ने पुष्टि भएको छ । प्रचण्डपछिको पहिलो पङ्क्तिका नेताहरूमा किरण, बाबुराम र बादल रहेका छन् । बाबुराम कसरी जनयुद्धमा जोडिए त ?
०४२ सालमा मशाल विभाजनको समयमा बाबुराम मोहनविक्रमकै समूहमा रहे । तर, ०४६ सम्म आइपुग्दा उनको मोहनविक्रमसँग विवाद बढेर गयो । ०४७ सालमा बाबुराम र शीतलकुमारलगायतले मोहनविक्रमबाट विद्रोह गरेर नयाँ (मसाल) पार्टी गठन गरे । त्यस नयाँ पार्टीमा शीतलकुमार एकजना मात्रै पुगेका थिए । ०४७ सालमा (एकता केन्द्र) पार्टी बनेपछि त्यसमा प्रचण्ड, किरण, बादलहरू अल्पमतमा पर्न लागेकाले हतारहतार मोहनविक्रमबाट विद्रोह गर्न लगाएर नयाँ मसाल बनाउन लगाए । त्यसबाट एकताकेन्द्रमा पाँचजना केन्द्रीय सदस्य बने । जसमध्ये बाबुराम भट्टराई एकैचोटि जिल्ला सदस्यबाट पोलिटब्युरो सदस्य बने ।
यसपछिको अन्तरसङ्घर्षमा बाहिर प्रमुख नेता को हो भन्नेमा प्रचण्ड र बाबुरामको प्रतिस्पर्धा, सङ्घर्ष, विलय आदि विवाद चल्दै रह्यो भने पार्टीभित्र प्रमुख नेता किरण हो कि प्रचण्ड हो भन्ने बहस पनि चल्दै रह्यो । ०५७ को राष्ट्रिय सम्मेलनमा आएर मात्रै प्रचण्ड नै मुख्य नेता हो भन्ने कुरा राम्रोसँग आधिकारिक रूपमा पार्टी दस्तावेजमा नै स्थापित भएको (उल्लेख गरिएको) देखिन्छ र किरण, बाबुराम, बादललगायत सबैले स्वीकार गरेको देखिन्छ ।
किरण २०३१ सालदेखि नै केन्द्रीय सदस्य भएर महामन्त्री भइसकेको तर प्रचण्ड ०४० सालमा मात्रै केन्द्रीय सदस्य भएकाले किरणभन्दा धेरै कनिष्ट हुनु, किरण नै वातावरण मिलाएर तथा दाउपेच गरेर प्रचण्डलाई पार्टीको महासचिव बनाइदिएको हुनु, प्रचण्ड पार्टीभित्र तथा बाहिर पनि स्थापित नहुनु र किरणलाई पनि ‘प्रचण्डलाई मैले नै महासचिव बनाइदिएको’ भन्ने अहंकार रहिरहनाले गर्दा मुख्य नेता प्रचण्ड कि किरण भन्ने अघोषित बहस लामो समय भइरह्यो । बाबुरामको समूहसँग एकता भएपछि भने बाबुराम बाहिर जनतामा पार्टी नेताको रूपमा स्थापित हुनु र प्रचण्ड भने बाहिर स्थापित नहुनुले गर्दा को मुख्य नेता भन्ने बहस पनि जारी रह्यो ।