फेरि गठबन्धन सरकारकै पुनरावृत्ति ?

फेरि गठबन्धन सरकारकै पुनरावृत्ति ?


प्रधानमन्त्री बालेन्द्र साहले संसदमा ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री मात्र आलोचित नभइ सिङ्गो रास्वपा नै संकटमा पर्ने देखिएको छ ! जनताले भारी मतका साथ रास्वपालाई झण्डै दुई तिहाई पुग्ने गरी प्रतिनिधिसभामा पठाएकोमा मतदाताहरू नै अहिले आफैलाई कोस्दै छन् ! र, तिनै जनता अहिले सडकमा बालेन्द्र साहको विरोधमा उत्रिएका छन् ! रास्वपामाथि विश्वास र भरोसा गरेकाहरू यतिबेला रास्वपाबाट प्रधानमन्त्री बनेका ब्यक्तिका कारण रवि लामिछानेको भविष्यसमेत बिग्रनसक्ने ठानेर पछुतो मान्दैछन् ।

प्रधानमन्त्री बालेन्द्र साहका कारण खुम्चिएको रास्वपा सभापति लामिछानेको ‘कद’ भारतीय सत्तारुढ दलको निमन्त्रणामा पाँच दिवसीय भारत भ्रमण गरेपछि एकाएक उठेको छ ! उनको मनोवल यस भ्रमणमा पाएको स्वागत/सम्मानले उर्ध्वगतिमा उठेको छ ! लामिछानेलाई भाजपा र भारतिय सरकारबाट गरिएको सम्मान ‘अदभुत’ छ ! नेपालको प्रधानमन्त्रीकै भ्रमण जस्तै उनलाई उच्च सम्मान र सोही हैसियतमा स्वागत गरेको देखिनु सामान्य विषय रहेन ।

भ्रमण समयमा उनले नेपालका तर्फबाट राखेका धारणा र त्यसप्रति भारतीय पक्षबाट गरिएको रेस्पोन्स के लामिछानेले पार्टी सभापतिका हैसियतले पूरा गर्न सक्छन् त ? यो प्रश्न स्वयं रवि लामिछानेले आफैसँग पनि गरिसकेको हुनुपर्छ ! र, भारतीय पक्षबाट पनि यसको उत्तरको बाटो खोज्नु पर्नेछ !

दुई पटक गृहमन्त्री भइसकेका रवि लामिछानेले भारतमा पाएको सम्मानपछि राजनीतिक उचाइको नयाँ आयाम आफैभित्र खोज्दै होलान् । राजनीतिमा डुबेपछि प्रधानमन्त्रीको ओहदा प्राप्त गर्ने मकसद हुनु स्वभाविक हुन्छ । रविमा पनि भारत भ्रमणले यो भाव पक्कै जागृत गराएको अनुमान गर्न सकिन्छ ।

आगामी अषाढ ७ बाट हुने भनिएको रास्वपाको महाधिवेशनपछि रविको लागि राजनीतिक सिद्धिको अवस्था सृजना हुने देखिन्छ । त्यही अधिवेशनपछि लामिछानेले आफूलाई प्रधानमन्त्री बनाउने तयारीमा जोडबलले लागिपर्ने अडकल गरिँदैछ ।

प्रधानमन्त्री बालेन्द्र साहले अहिलेसम्म अन्तरमनले रास्वपालाई स्विकार गरेको अनुभूति गर्न सकिएको छैन । तथापि, सरकार प्रमुखको नेतृत्व फेर्ने प्रयास लामिछानेका लागि त्यति सहज भने हुने देखिन्न । यस कदमले अन्ततः रास्वपामा बिग्रह आउने सम्भावना टड्कारो देखिन्छ । त्यस्तो परिस्थितिमा रास्वपाले एक्लै सरकार निर्माण गर्न सक्ने हैसियत गुमाउन सक्छ । रास्वपामा बिग्रह आउँदा ‘रास्वपा संस्थापन’ र ‘इतर समुह’मा विभक्त भएपछि दुवै पक्षसँग संसदमा १३८ संख्या पुग्न सक्दैन र देशमा पुनः गठबन्धनको सरकार निर्माणकै पुनरावृत्ति हुन सक्छ ।

यस्तो राजनीतिक परिदृष्यको निर्माण स्वयम् प्रधानमन्त्रीको अहिलेसम्मको राजनीतिक गतिविधिबाट देखिन्छ, जस्तोकि रवि लामिछाने र प्रधानमन्त्री बनेपछिका बालेन्द्र साहबीच सरकार बनेदेखि नै राजनीतिक सौहार्द्धता देखिएको छैन । सरकारमा गृहमन्त्रीको नियुक्तिदेखि उपसभामुख हुँदै प्रधानन्यायाधीश बनाउनेसम्ममा आफ्नो असहमति हुँदाहुँदै पनि सहमति दिनुपर्ने बाध्यता लामिछानेमा आएको बताइन्छ !

रवि लामिछाने दिल्लीबाट फर्केलगत्तै ‘हल्ला गरेर, ढोल पिटेर सीमाविवादको समस्या समाधान हुँदैन’ भन्ने जो अभिव्यक्ति दिए, यो प्रधानमन्त्री बालेन्द्र साहतर्फ लक्षित हो भन्ने टिप्पणी हुन थालेको छ । अर्थात्, भारतको भ्रमणपछि रविमा राजनीतिक उत्साह वा महत्वाकांक्षा निकै उर्लिएको छ र प्रधानमन्त्री बनेपछि मात्र त्यो जागृत भाव शान्त हुन सक्छ । यस आधारमा स्वभावतः प्रश्न उठ्छ – के मुलुक पुनः गठबन्धन सरकारको बाटोतर्फ अग्रसर हुँदैछ ?