माओवादीमा अनौठो अन्तरसङ्घर्ष

माओवादीमा अनौठो अन्तरसङ्घर्ष


तीनै नेताहरू सङ्कटमा -जयप्रकाश
एकीकृत नेकपा माओवादीभित्रको अन्तरसङ्घर्ष पहिलेको तुलनामा केही बढेको छ र विवादले राष्ट्रिय राजनीतिलाई प्रभावित गर्ने सम्भावना देखाएको छ । शान्ति स्थापना प्रक्रियालाई सकारात्मक निष्कर्षमा पुर्‍याई संविधान निर्माण गरेर मात्र प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न सकिन्छ भन्ने विश्वास राख्नुहुने डा. बाबुराम भट्टर्राई र तत्काल जनविद्रोहमा गई सम्पूर्ण सत्तामाथि नियन्त्रण कायम गर्नुपर्छ भन्ने पक्षमा रहनुभएका मोहन वैद्य किरणबीच वैचारिक एवम् अन्य प्रकारको प्रतिस्पर्धात्मक सङ्घर्ष हुनुपर्नेमा माओवादी पार्टीभित्रको विवाद नितान्त अनौठो र अस्वाभाविक चरित्रको छ । वैद्य र भट्टर्राईले दुई पृथक धारको प्रतिनिधित्व गरेको भए पनि उहाँहरूबीच सीधा टक्कर र सङ्घर्षको स्थिति छैन । बरु दुवै पक्षको सङ्घर्ष पार्टी अध्यक्ष प्रचण्डसँग रहेको छ । प्रचण्ड शान्ति र संविधानको पक्षमा इमानदारीपूर्वक नलागेको र जसका कारण राजनीतिक उपलब्धि गुम्ने स्थिति बनेको आरोप डा. भट्टर्राईको छ भने वैद्यको चाहिँ प्रचण्डले क्रान्तिकारी लाइन परित्याग गरी टालटुले नीति लिँदै सबैलाई गुमराहमा राख्ने प्रयास गरेको गुनासो छ । वैद्य र भट्टर्राई दुवैले प्रचण्ड आत्मकेन्द्रित र तानाशाही हुँदै गएको पनि ठान्न थालेका छन् । पार्टीका दुई प्रभावकारी नेताहरूसँग दूरी बढेपछि प्रचण्ड हैरान हुनुभएको बताइन्छ । उहाँले वैद्य र भट्टर्राईसँगको दूरी कम गराउन संवाद-प्रक्रिया आरम्भ गरिसक्नुभएको पनि छ । तर, उहाँले सुरु गर्नुभएको संवादको सकारात्मक प्रभाव पर्न सकेको छैन । गत साता मोहन वैद्यसँगको छलफलपश्चात् प्रचण्डको निराशा बढेको छ । भनिन्छ, प्रचण्डले भनेकै भरमा अब मोहन वैद्यले आफ्नो क्रान्तिकारी लाइन परित्याग गर्नुहुने छैन । वैद्यलाई सम्झाई-बुझाई गरेर व्यावहारिक बनाउन प्रचण्डले प्रयास गर्नुभएकोमा उल्टै वैद्यले प्रचण्डलाई सम्झाई-बुझाई गरेर क्रान्तिकारी धार पक्रन आग्रह गर्नुभएको बताइन्छ । प्रचण्ड आफू वैद्यको लाइन जस्ताको त्यस्तै अनुशरण गर्न सक्ने अवस्थामा हुनुहुन्न र वैद्यलाई आफ्नो लाइनमा ल्याउन पनि उहाँ असफल हुनुभएको छ । उता डा. भट्टर्राईसँगको विवाद शिथिल तुल्याउन सक्ने अवस्थामा पनि प्रचण्ड हुनुहुन्न । दुई नेताबीच विचारको भन्दा पनि व्यक्तित्वको टक्कर रहिआएको छ । बाबुराम भट्टर्राई आफूभन्दा लोकप्रिय एवम् प्रभावकारी भएको यथार्थ स्वीकार गर्न प्रचण्ड तयार हुनुहुन्न । उहाँहरूबीच व्यक्तित्वको टक्करकै कारण तीव्र मनोवैज्ञानिक समस्या पैदा भएको छ । सतहमा सैद्धान्तिक एवम् वैचारिक मतभिन्नता देखिए पनि प्रचण्ड वास्तवमा बाबुरामको विचारसँग धेरै टाढा मानिनुहुन्न । तर, व्यक्तित्वको टक्करका कारण उत्पन्न मनमुटावले उहाँहरूबीचको दूरी निकै बढाएको छ । पार्टीबाहिर जनस्तरमा रहेको बाबुरामको लोकप्रियता पार्टीभित्र सर्न नदिन प्रचण्ड प्रतिबद्ध देखिनुहुन्छ । कदाचित बाहिरझैं पार्टीभित्र पनि बाबुरामको लोकप्रियता बढ्ने हो भने आफ्नो राजनीतिक हैसियतमा पूर्णविराम लाग्न सक्ने बुझाइ प्रचण्डमा रहेको देखिन्छ । त्यसैले बाबुरामलाई बलजफ्ती दक्षिणपन्थी र विदेशी एजेन्टका रूपमा स्थापित गरिछाड्ने अभियान तीव्र पारिएको छ । पार्टीका हरेक मोर्चा र जनवर्गीय सङ्गठनहरूमा भट्टर्राई र्समर्थकहरूलाई छानी-छानी मानसिक तनाव दिने, एक्ल्याउने र उस्तै परे हातपातसमेत गर्नेजस्ता कार्य गरिएपछि डा. भट्टर्राईले आफूलाई सिध्याउनै खोजिएको रूपमा बुझनुभएको छ । आफूविरुद्ध सङ्गठित र नियोजित प्रहार हुन थालेपछि भट्टर्राई देश-दौडाहामा निस्कनुभएको छ । देशभरिका कार्यकर्तामाझ आफैं पुग्ने अभियानलाई डा. भट्टर्राईले तीव्रता दिनुभएको छ । यसअघि भट्टर्राई यति आक्रामक रूपले साङ्गठनिक गतिविधिमा कहिल्यै नलाग्नुभएको, प्रचण्डका आदेशहरूलाई शिरोधार्य गर्दै अह्राए-खटाएको काममा मात्र सीमित रहने गर्नुहुन्थ्यो । देशवासीले जतिसुकै मन पराए पनि पार्टीभित्रको आफ्नो हैसियत कमजोर भएको अवस्थामा राष्ट्रिय जिम्मेवारी पूरा गर्न मुस्किल हुँदोरहेछ भन्ने सत्यलाई भट्टर्राईले ढिलो भए पनि बुझनुभएको छ । यही बुझाइका कारण उहाँले अघोषित रूपमा राष्ट्रव्यापी जनसर्म्पर्क अभियान अघि बढाउनुभएको बुझिन्छ । अब बाबुराम प्रचण्डको घर्ुर्की, धम्की, चेतावनी या प्रलोभनमा नपर्ने अठोटका साथ दृढतापूर्वक अघि बढ्नुभएको विश्वास भट्टर्राई र्समर्थकहरूमा छ । जस्तोसुकै चुनौतीहरूको सामना गर्न पनि उहाँ तत्पर रहनुभएको र्समर्थकहरूले ठानेका छन् । त्यसैले प्रचण्डले सहजै भट्टर्राईलाई आफूतिर पल्टाउन सक्ने अवस्था छैन । बरु वैद्य या भट्टर्राई दुईमध्ये एउटासँग ‘आत्मर्समर्पण’ गर्नैपर्ने स्थिति परिपक्व हुँदै गएको छ । आफ्नै कुनै वैचारिक-सैद्धान्तिक लाइनमा नदेखिनुभएका प्रचण्डका अघिल्तिर बाबुरामको विचार स्वीकार गर्दै शान्ति र संविधानका पक्षमा जाने या किरणको वैचारिक नेतृत्व अङ्गीकार गर्दै जनविद्रोहमार्फत सम्पूर्ण सत्ता कब्जाको बाटोमा हिँड्नेबाहेकको अर्को विकल्प स्पष्ट देखिँदैन । विगतमा जस्तो ‘टालटुल’ गर्दै अघि बढ्ने सहज अवस्था नरहेको हुँदा प्रचण्डले किरण या बाबुराम दुईमध्ये एकलाई चुपचाप पछ्याउनुपर्ने स्थिति बन्दै गरेको छ । यसरी दुईमध्ये एउटासँग मिल्नैपर्दा प्रचण्ड कतापट्ट िलाग्नुहोला त ? विचारका दृष्टिले डा. भट्टर्राईसँग निकट मानिनुहुने प्रचण्ड व्यावहारिक एवम् मनोवैज्ञानिक रूपले उहाँबाट यति टाढा हुनुहुन्छ कि कुनै अप्रत्यासित घटना-परिस्थितिले बाध्य नतुल्याएमा प्रचण्ड-बाबुराम पुनर्मिलनको सम्भावना न्यून भएको छ । प्रचण्डले अगुवाइ गर्नुभएको बाटो हिँडेर कहीँ पनि पुग्न नसकिने ठम्याइ डा. भट्टर्राईमा रहेको देखिन्छ भने भट्टर्राईलाई नेता स्वीकार गरेर अघि बढ्ने मन प्रचण्डले बनाउनुहोला भन्ने निष्कर्ष निकाल्नु पनि शतप्रतिशत गल्ती हुनेछ । नीति अस्वीकार्य भए पनि प्रचण्डले नेताचाहिँ मोहन वैद्यलाई नै मान्नुहुन्छ । आफ्नो राजनीतिक प्रभाव र हैसियतमा कुनै प्रकारको प्रतिस्पर्धात्मक खतरा वैद्यका तर्फबाट उत्पन्न नहुने र वैद्यसँगको मित्रता बढाउँदा आफ्नो ‘क्रान्तिकारिता’ पनि जोगाउन पाइने हुँदा प्रचण्डको निरि्वकल्प ‘च्वाइस’ किरण नै हुने विश्वास गर्न सकिन्छ । जब प्रचण्डले किरण सँगको सम्बन्धलाई कसिलो बनाउनुहुनेछ त्यसपछि बाबुराममाथिको प्रहार अरू तीव्र एवम् निर्मम हुने निश्चित छ । त्यस्तो अवस्थामा डा. बाबुराम भट्टर्राईको राजनीतिक भविष्य के होला ? उहाँले कस्तो कदम चाल्नुहोला ? जवाफका निम्ति अरू केही समय प्रतीक्षा गर्नुपर्नेछ ।