सय दिनमा पर्यटन मन्त्रालयका ९५ प्रतिशत योजना सम्पन्न

सय दिनमा पर्यटन मन्त्रालयका ९५ प्रतिशत योजना सम्पन्न


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले एकसय दिनमा ९५ प्रतिशत काम सम्पन्न भएको दावी गरेका छन् । मन्त्री अधिकारीले १०० दिने कार्य योजनामध्ये अधिकांश पूरा गरेको भन्दै बाँकी ५ प्रतिशत काम पनि केही हप्ताभित्रै सकिने उनले दावी गरेका छन् ।

सरकार गठन भएको एक महिनाको अवधिमा सार्वजनिक गरिएका कार्यक्रमहरु सोचे अनुरुप नै सम्पन्न भएको मन्त्री अधिकारीले बताएका छन् । उनले मन्त्रालयमा रहेको ढिलासुस्तीको बाबजुद पनि सय दिनको अवधिमा महत्वपूर्ण काम भएको भन्दै कर्मचारीहरुको प्रशंसा गरे । सरकार गठन भएको एक सय दिनमा मन्त्रालयबाट भए गरेका काम सार्वजनिक गर्दै मन्त्री अधिकारीले वस्तुनिष्ठ योजना नभएको तथा कार्यशैली पनि पक्षपातरहित हुन नसकेको भन्दै अब सरकारले यसलाई परिवर्तन गर्नेमा जोड दिए ।

मन्त्रालय अन्तर्गतका सबै कर्मचारीलाई धन्यवाद दिँदै उनले भने,’ हामीसँग सिमित स्रोत र साधनहरु छन्। भएका स्रोत र साधनलाई प्रयोग गर्ने क्षमता कम छ । बढी निर्माण गरेर प्रयोग गर्ने कुरा त टाढाको कुरा हो । हाम्रा योजनाहरु वस्तुनिष्ठ छैनन् । लागत र आवश्यक्ता अनुसारको कार्य भइरहेको छैन। कार्यान्ययन र प्राविधीक क्षमता कमजोर छ। चुनौतीहरुको सामना गर्दै मन्त्रालयसँग सम्बन्धित निकाय र कर्मचारीहरुको सहयोगले काम गर्न सकिएको हो।’

मन्त्री अधिकारीले योजनाविहीन ढंगले चलेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सही ट्रयाकमा ल्याउन खोजेको बताऐ । ‘एअर ट्राफिक समस्याले ग्रसित विमानस्थललाई दैनिक २१ घण्टा संचालन गर्न सफल भएका छौं ।’ मन्त्री अधिकारीले भने, ‘आन्तरिक उडानलाई नयाँ तरिकाले संचालन गर्ने तयारीमा छौं ।’ उनले २ बर्षमा गौतम बुद्ध विमानस्थल र ३ बर्षमा पोखरा विमानस्थलको. निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिए ।

प्रतिव्यक्ति आय बढाउनु आफ्नो मूल उद्देश्य रहेको मन्त्री अधिकारीले कार्यक्रममा बताए । सय दिने कार्ययोजनामा त्रिभुवन विमानस्थल २१ घण्टे संचालन, सेन्ट्रल एसिको र चारैवटा ब्यागेज बेल्टको संचालन. एयरकन्जेसन न्यून गर्नका लागि सम्भावित क्षेत्रीय विमानस्थल (नागी डाँडा)को अध्ययन गरि प्रारम्भीक कार्य सुरु गरिसकेको योजना शाखाका सहसचिव डुन्डुराज घिमिरेले जानकारी गराए ।

घिमिरेका अनुसार राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निजगढ विमानस्थल निर्माणका लागि वातावरण मूल्याङ्कन स्वीकृति भइसकेको र निर्माता कोरियन कम्पनी एलएमडब्लुसँग दायित्व भुक्तानीका लागि मन्त्रालयले समन्वय गरिरहेको छ। दुई वर्षभित्र निजगढ अन्तराष्ट्रिय विमानस्थलको प्रारम्भिक तयारी सकिने मन्त्री अधिकारीले कार्यक्रममा बताए । मन्त्रालयका अनुसार गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग, टर्मिनल भवन लगायत निर्माण कार्य ३८ प्रतिशत सम्पन्न भइ मुआब्जा वितरण भइरहेको छ ।

मन्त्रालयले काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल संचालनका लागि भएको तयारीका बारेमा जानकारी गराएको छ । यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणको लागि वातावरणीय प्रभाव मुल्यांकन स्वीकृति, रानीपाखरीस्थित बालगोपालेश्वर मन्दिर पुननिर्माणको कार्य र मुलुकभरीका विभिन्न स्थानमा भएका पर्यटकीय क्षेत्रको पनि काम भइरहेको जानकारी गराएको छ ।

यस्तै, काठमाडौंमा रहेका रानीपोखरी, काष्ठमाण्डप, धरहरा लगायतका सम्पदा पुनर्निर्माण गर्न सुरु गरिएकोबारे कार्यक्रममा बताइएको छ । पाटनको कृष्ण मन्दिर, हनुमानढोकाको प्रताप मल्लको शालिक, लक्ष्मीनारायण मन्दिर, मणिमण्डप, कागेश्वर सरस्वती र महादेबको मन्दिर पुनर्निर्माण भइसकेको विवरणमा उल्लेख छ । सो अवसरमा स्वयम्भुस्थित अनन्तपुर र किमडोल गुम्बा, चाँगुनारायणको छिन्नमस्ता मन्दिर, महामञ्जुश्री सत्तल, सूर्यविनायक गणेश मन्दिर पुनर्निर्माण भएको सम्पन्न भएको छ भने तलेजु भवानीको मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको बताइएको छ ।