कलंकीको ‘अण्डर पास’ निर्माणको प्रगति ९५ प्रतिशत पूरा

कलंकीको ‘अण्डर पास’ निर्माणको प्रगति ९५ प्रतिशत पूरा


–छविलाल बगाले
काठमाडौं छिर्ने मुख्य नाका कलंकीमा यतिबेला सडक निर्माणको कार्य तिब्र गतिमा अघि बढिरहेको छ । लामो समयदेखि निर्माणाधिन यो सडक आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने गरी निर्माण पक्षले दिन रात काम गरिरहेको छ । कलंकीको सवारी जामलाई व्यवस्थापन गर्नका लागि सरकारले कलंकी चोकमा ‘अण्डर पास’ को निर्माण अघि बढाएको हो ।

यो काठमाडौंको कलंकी चोकमा निर्माणाधिन ‘अण्डर पास’ को दृश्य हो । यति बेला यो संरचना निर्माणले तिब्रता पाएको देख्न सकिन्छ । कलंकीको ट्राफिक व्यवस्थापन गर्नका लागि सरकारले पहिलेको आकाशे पुल भत्काएर सोही स्थानमा व्यवस्थित र सुविधायुक्त ‘अण्डर पास’ को निर्माण गरेको हो ।
यसै आर्थिक बर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ मुख्य नाका मानिने कलंकी चोकमा धुलो र धुँवाको कुनै प्रवाह नगरी मजदुरहरु एकोहोरो रटानमा लागिपरेका छन् । मुलुकमा गएको भूकम्प र नाकाबन्दीका कारण पहिलो पटक तोकिएको निर्धारित समयमा आयोजना निर्माण गर्न नसकेपछि सरकारले यसअघि एकबर्षको समय थप गरेको थियो । चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले असार मसान्तभित्रै काम सम्पन्न गर्ने जनाएको छ । निर्माण कम्पनीले ‘अण्डर पास’ सँगै कोटेश्वर–कलंकी–चक्रपथ आठ लेनको सडक विस्तारको काम पनि अन्तिम चरणमा पु¥याएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाको थप गरिएको १८ महिनाको असारको मध्यमा सकिँदैछ ।

सरकारले ०७० सालको भदौ १६ गते ०७३ सालको पुस मसान्तसम्म निर्माण सक्ने गरी चिनियाँ कम्पनी सांघाईलाई ११ किलोमिटर लामो कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा दिएको थियो । कोटेश्वरदेखि बल्खुसम्मको खण्डमा अधिकांश काम सम्पन्न भएपनि बल्खुदेखि कलंकीसम्मको खण्डमा सडक बनाउने काम भइरहेको छ । समयमा निर्माण कार्य नसकिदाँ सर्वसाधारणले धुलोका साथै ट्राफिक जामको पनि सामना गर्नुपरिरहेको छ ।

८ सय मिटर लामो भूमिगत सडकको ९५ प्रतिशत काम पूरा भइसकेको छ । निर्माण सम्पन्न भएपछि कलंकी हुँदै कालिमाटी र थानकोटतर्फ जाने बाहेकका सवारीसाधन भूमिगत सडक भएर मात्र ओहोरदोहोर गर्न पाउने छन् ।

कुल ११ किलोमिटर लामो सडक खण्डअन्र्तगत बालकुमारी, खसीबजार, बागमती खोला र बल्खु खोलामा ८ वटा मोटर गुड्ने पुल तथा कोटेश्वर, ग्वार्को र बागडोलमा तीन वटा आकासे पुल निर्माण गरिएका छन् भने कोटेश्वर–बल्खु खण्डमा आठ लेनमा विस्तार गरिएको सडकमा सवारीसाधन गुड्न थालिसकेका छन् । विस्तारित सडकमा सवारीसाधन गुड्न थाले पनि ढल तथा सडक पेटी ब्यवस्थापनको काम भने बाँकी छ । चीन सरकारले ५ अर्ब रुपैयाँ लगानी गरेको सडक विस्तारमा नेपाल सरकारको १ अर्ब रुपैयाँ खर्च भएको छ ।

बल्खु क्षेत्रमा सडक निर्माण कार्य थालिएका कारण एकान्तकुनादेखि नै जाम हुने गरेको छ । काठमाडौं चक्रपथ सुधार योजनाले धुलो र जामको समस्या अब धेरै समय कायम नरहने दाबी गरेको छ । निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

चिनियाँ कम्पनी सांघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकोमा योजनाले समन्वयको काम गरिरहेको छ । यो सडक खण्डमा धेरै काम सकिँदासमेत यी घरटहरा भत्काउन बाँकी ठाउँमा लामो समयदेखि काम रोकिरहेको हो । यससँगै पाइप लाइन, विद्युत्का पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समयसमयमा सडक निर्माणले गर्दा फुट्ने गरेको छ । मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई÷दुई लेनको सहायक लेन र त्यो बाहिर एक÷एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् ।

यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् । यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् ।