आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक


उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा गत भदौ २० मा आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले आज (४ असोज) एक जनालाई सार्वजनिक गरेको छ ।

वडा कार्यालयनजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका ६ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरुबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेका थिए । अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ । आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ । प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि पुगेका थिए । कटारी अस्पत्तालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।

मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए । अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन् ।