चालु आर्थिक वर्षमा ५ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान

चालु आर्थिक वर्षमा ५ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान


सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ को समग्र स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण सदनमा पेश गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको हालसम्म भएका आर्थिक गतिविधि तथा समग्र आर्थिक अवस्थासहितको सर्वेक्षण पेस गरेका हुन् । सर्वेक्षणअनुसार चालू आर्थिक बर्षको मूल्यवृद्धि ६ प्रतिशतमा कायम रहने र आर्थिक बृद्धि ५ दशमलव ९ रहने अनुमान छ ।

सर्वेक्षणअनुसार कूल ग्राहस्थ उत्पादनको १५ प्रतिशत रकम बचत हुने अर्थमन्त्री डा. यूवराज खतिवडाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमा वार्षिक उपभोक्ता मुद्रास्फिति ७ कायम राख्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा यस्तो मुद्रास्फिति ४ प्रतिशत १ प्रतिशत रहेको छ ।

‘नियमित विद्युत आपूर्तिका कारण आन्तरिक उत्पादन क्षमतामा आएको वृद्धि, आपूर्ति व्यवस्थामा भएको सुधारका कारण चालु आर्थिक वर्षमा मुद्रास्फिति प्रक्षेपित सीमाभन्दा कम रहेको हो ।’ उनले भने, ‘६० लाखभन्दा बढि गरिवीको रेखामुनी रहेको जनाएको सर्वेक्षणमा सरकारी खर्च बढेर बजेट घाटा बढ्न थालेको, सेयर बजार स्थिर रहेको र बैंक तथा वित्तीय संस्था कर्जा बृद्धिदरको तुलनामा निक्षेपको वृद्धिदर कम रहेको औंल्याएको छ ।’

हाल बैंकमा निक्षेप २४ खर्ब र कर्जा २२ खर्ब पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत आर्थिक वर्षमा ३७ मध्ये २६ संस्थान नाफा कमाउन सफल भएको र ११ घाटामा गएको आर्थिक सर्वेक्षणले औंल्याएको छ । आर्थिक सर्वेक्षणमा शोधानन्तर स्थिति ऋणात्मक देखिए पनि राज्यको ढुकुटीमा सञ्चित विदेशी मुद्राले दस महिनाको आयात धान्न सक्ने र २०७४ फागुन मसान्तमा देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको मन्त्री खतिवडाले बताए ।

सरकारले लामो समयदेखि अस्थिर रहेको देशको राजनीति स्थिरतातर्फ अग्रसर भएसँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको निष्कर्ष निकालेको छ ।