जनगणना, जुद्धशमशेर र जेराल्डहरू-शिवजी श्रेष्ठ

जनगणना, जुद्धशमशेर र जेराल्डहरू-शिवजी श्रेष्ठ


केही दिनअघि मात्रै डा. चन्द्र लक्सम्बा (सीएनएसका संस्थापक सदस्य) को इमेल प्राप्त गरेको थिएँ, जसमा अल्डरसट क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद जेराल्ड होवार्थले त्यस क्षेत्रमा बढ्दो नेपाली आप्रवासीको विषयलाई लिएर प्रधानमन्त्री डेभिट क्यामरुनलाई लेखेको पत्रको विरुद्धमा दबाबमूलक कार्यक्रमलाई लिएर सोलिड्यारिटीका कुरा थियो । फेरि उहाँले फोनमा ‘हामीले अहिले (जनगणना) को मौकालाई सदुपयोग गरेनौँ भने हामी सबैलाई पाप लाग्नेछ’ भन्नुभएपछि यसभित्र अझ गहिरिन मन लाग्यो । यी दुवै घटनाक्रम थिए, ‘नेपाली’ हुनु र ‘नेपाली’ भनेर चिनिनुसँग सम्बन्धित । केही समयअघि अर्का मित्र डा. कृष्ण अधिकारी (सीएनएस निर्देशक)को फोन र इमेलहरू यसैसँग सरोकारका थिए । उहाँहरूको यस गहिरो सरोकारमा म डा. गोविन्द दाहाललाई पनि सम्भिरहेको थिएँ, जब उहाँहरूसँग सन् २००८ मा नेपालीको जनगणनामा हातेमालो गरिरहेको थियो । तब म आफूले भर्खरै प्राप्त गरेको बेलायती जनगणनाको प्रश्नावली फाराम पल्टाउँदै थिएँ । र्सलक्कर्-र्सलक्क पल्टिइरहेको फाराम पेज नं. ८ मा पुगेपछि टक्क अडियो, जहाँ बुँदा नं. १६ (सी)मा ‘कुन इस्निक गु्रपको हो ? ‘ भन्ने प्रश्नावलीको सम्भावित कोष्ठहरूमा उल्लिखित नामहरू थिए, जहाँ क्रमशः ‘इन्डियन’, ‘पाकिस्तानी’, ‘बंगलादेशी’, ‘चाइनिज’ त्यसपछि- ‘एनि अदर्स ब्याकग्राउन्ड’ थियो । सायद मेरो मनले त्यहाँ ‘नेपाली’ भन्ने अर्को कोष्ठ खोजिरहेको थियो ।
त्यतिखेर म लगभग एक शताब्दीअगाडिको नेपाल-भारतसम्बद्ध इतिहासतिर घोत्लिँदै थिएँ । जब अङ्ग्रेज शासित भारतको राजधानी कलकत्ता (सन् १९१८ अगाडि) थियो । अङ्ग्रेजहरूले गरेको र्सर्भेमा कलकत्ता सहरको क्षेत्रफल अठार कोस निस्कियो, यही कुरा नेपालस्थित तत्कालीन अङ्ग्रेज राजदूतले श्री ३ चन्द्रशमशेरलाई सुनाउँदा उनले पनि काठमाडौंको क्षेत्रफल आफ्नै र्सर्भेयरबाट गराए र कलकत्ताबराबर अठार कोस नै निकाल्न लगाए । यही कुरा अङ्ग्रेज राजदूतलाई कलकत्ता र काठमाडौं बराबरै रहेछ भनेर प्रसङ्गबस सुनाउँदा अङ्ग्रेज राजदूतले जनसङ्ख्या त बराबर नहोला कि भनेर हाँस्दा छेउमै उभिएका जुद्धशमशेरले गनेर ल्याउने हो भने ‘उस्तै-उस्तै’ हो भनेका थिए रे । आखिर जो, जहाँ, जस्तो अवस्थामा रहे, भए पनि राष्ट्रवादिता, आफ्नो चिनारीप्रति सबैलाई ‘अहम्’ अझ भनौँ गौरव त हुन्छ नै । सायद यही कुरा डा. लक्सम्बाको ‘हामीलाई पाप लाग्छ’ भित्र लुकेको थियो । झन् सांसद जेराल्डको पत्रले यसको सान्दरि्भकता अझ प्रासङ्गिक र प्रभावकारिता महसुस गराएको छ ।
ती सांसदको आप्रवासी नेपालीको जनघनत्वप्रति देखिएको आपत्तिमा म साउथल, पेकमरायतिर बरालिँदाको क्षणसँग दाँजिरहेको थिएँ । साउथलमा बेलायती आदिवासी देखिँदा जोगबनीमा घुम्न आएको बेलायती पर्यटकजस्तो देखिने अनि पेकमरायमा देखिएका ब्रिटिस आदिवासी केन्याको नैरोबीमा घुम्न आएका बेलायती पर्यटकजस्तो देखिने अवस्थामा पनि आपत्ति भएन । अझ भनौँ साउथलमा रहँदा पान खाएर पिच्छ थुकेको थुकबाट तर्किएर हिँड्ने अनि पेकमरायको सडकमा केराको बोक्रामा चिप्लेर लड्दा आफैं ‘सरी’ भन्दै उठेर हिँड्न खोज्नेहरू ग्रेटार रसमोर क्षेत्रमा चलिरहेको नियम-कानुनलाई पालना गरेर बसेका ‘नेपाली’हरू बोझ भए, किन ? मैले यसलाई यिनीहरूको अभिलेखमा देखिएको हाम्रो उपस्थिति र चिनारीको परिणाम हुनसक्छ भन्ने लाग्यो । प्रत्येक दस वर्षमा हुने राष्ट्रिय जनगणनामा सन् २००१ को जनगणनामा नेपालीको सङ्ख्या ५९४० (पाँच हजार नौ सय चालीस) मात्र देखिन्छ । कानले सुन्ने मात्र तर रेकर्ड बोल्ने यस देशमा भारतीय, पाकिस्तानी वा बंगलादेशीको उपस्थिति रेकर्डले नै बोलेको हुँदा त्यसलाई यिनीहरूले चाहेर पनि नजरअन्दाज गर्न नसक्ने अवस्थामा छन् । आफैंले भीसी दिएर भीसीविजेतालाई भिसा नदिने अभिलेख निर्देशित प्रशासन र राजनीति चल्ने देशमा अहिलेको जनगणना हामी नेपाली आप्रवासी (?)का लागि उपयुक्त अवसर हुनसक्छ ।
राष्ट्रिय जनगणना त्यो देशको जनसङ्ख्या पत्ता लगाउने मात्र होइन कि कस्ता र कुन समूहका मानिस बस्छन्, तिनका आवश्यकतालाई इंगित पनि गर्छ । जसबाट केन्द्र सरकार र स्थानीय सरकार (काउन्सिल) लाई आगामी दिनका लागि नीति निर्माण गर्दै शिक्षा, स्वास्थ्य, यातायातलगायत आवश्यक क्षेत्रहरूको योजना तर्जुमा तथा बजेट निर्माणमा समेत मार्गनिर्देशन प्राप्त हुन्छ । जो एक दशक (१० वर्ष) का लागि निर्णायकसमेत हुन हुँदा यसको असरदायी भूमिका रहिरहन्छ । चिनी, मट्टीतेल, पेट्रोलको घन्टौं लाइन बस्न र लोडसेडिङको बीचमा बिजुलीको बिल तिर्न, चुनावमा मत खसाल्न घन्टौं लाइन बस्न अभ्यस्त भइसकेका हामी घरमै ल्याइदिएको जनगणनाको प्रश्नावली भर्न र सरकारले नै तिरिदिएको खाममा हालेर घरछेउको पोस्टबक्समा खसाल्न वा जतिखेर चाह्यो प्रयोग गर्न सकिने इन्टरनेटको सुविधालाई उपयोग गर्दै ‘कम्प्युटरको माउस’ क्लिक गर्दै आफ्नो र हाम्रो सामूहिक परिचय र आवश्यकताको कुराहरू भरेर पठाउने सजिलो मौका र अवसरलाई अधिकतम् सदुपयोग गर्न सक्नु, आफू र आफ्नो समुदाय (इथ्विक समूह) तथा स्थानीय सरकारका लागि समेत सहयोगीसिद्ध हुन्छ । यदि आफ्ना लागि आफ्नो समुदायको चिनारीका लागि नसोच्ने हो भने पनि वा बेपरवाह नै बन्ने हो भने पनि यो देशको कानुन मान्नैपर्छ । यो देशको कानुनले भन्छ, ‘जनगणनाको फाराम नभर्नेले कानुन उल्लङ्घनको मुद्दा खेप्दै आपराधिक अभिलेखको सामना गर्दै एक हजार पाउन्डसम्म जरिवाना’ बेहोर्नुपर्ने हुनसक्छ । यस प्रसङ्गमा केही समय अगाडि सीएनएसमार्फत बेल्सका अफिस अफ नेसनल स्टाटिस्टिक्स (ओएनएस) का मेनेजरसँग सहकार्यका लागि अन्तरक्रिया भएको थियो । जसमा स्थानीय मेनेजर श्रीमती हेडले जनगणनाको फराम भरेपछि हुने फाइदाहरू बताउँदै नभरेमा हुने कानुनी कारबाहीको व्यवस्था बताइसकेपछि हामीले सोधेकी थिई, ‘तिमीहरू (नेपाली) को कम्युनिटी अघिल्लो कुराले बढी प्रभाव पार्छ कि पछिल्लोले ? ‘ मेरो मनमा रहेको जुद्धशमशेरकालीन राष्ट्रवादिता जुर्मुराइहाल्यो र जवाफ दिए ‘होइन, हामी जुन देशमा छौँ, त्यो देशप्रति इमानदार हुन्छौँ, तसर्थ पहिलो कुराले नै बढी प्रभाव पार्छ ।’ तिनको अगाडि आफ्नो समुदायको बखान गरे पनि मनमनमा सोचेँ, ‘हामीलाई सायद पछिल्लो कानुनी कुराले नै प्रभाव पार्छ होला, अर्थात् एक हजार पाउन्ड जरिवाना ।’
हामीले सबैभन्दा ढुक्क हुनुपर्ने कुरा के हो भने हामीले भरेको प्रश्नावलीको गोपनीयता कानुनी रूपमै ग्यारेन्टी गरिएको छ, व्यक्तिगत जनगणनाको सूचना कहिले पनि अरू सरकारी कार्यालय, स्थानीय निकायसँग आदानप्रदान नहुने र गोप्य र कानुनी रूपमा सुरक्षित रहने हुँदा हामीले द्विविधा लिनुपर्ने पनि देखिँदैन । व्यक्तिगत कुराहरूको हकमा आफ्नो ठाउँ छँदै छ, तर मुख्य कुरा रह्यो हाम्रो सामूहिक चिनारी र त्यस समुदायको उत्थानमा पुर्‍याउन सकिने योगदान केही वर्षअगाडि नेपालमा हुँदा काठमाडौंमा विभिन्न जिल्लाका सर्म्पर्क समितिहरू गठन भएको सुन्दा, पढ्दा, देख्दा अचम्म लाग्थ्यो तर अहिले सात समुद्रपारि बेलायतमा सुन्न पाइदा खुसी नै लागेको छ । तर ‘आशङ्का’ यसमा लागेको छ कि यसको प्रभाव र बाछिट्टाहरू भइरहेको जनगणनामा नपरोस् । अर्थात् प्रश्नावलीको बुँदा नं. १६ को जस्तै सामूहिक चिनारीका कुराहरू थोपा-थोपामा विभाजित नहोस् । आफ्नो चिनारीका लागि सबै स्वतन्त्र र खुला छन्, तर त्यसको अवसर आफ्नै चिनारीमा नपरोस् । हामीले भुल्नै नहुने ताजा दृष्टान्त के हो भने, हाम्रो सबैभन्दा बढी नेपाली बसोबास गर्ने क्षेत्र भनेर चिनिएको ग्रेटर रसमोरभित्र स्वाभाविक रूपमा धेरै सङ्घ/संस्थाहरू सक्रिय छन् । विभिन्न फरक-फरक नाममा सामुदायिक हितमा सक्रिय रहे तापनि आखिरमा अल्डरसट क्षेत्रका सांसद जेराल्ड होवार्थले सबैलाई ‘नेपाली’ भनेरै चिन्दारहेछन् र त्यही रूपमै लेखेर पठाए । तसर्थ हामीले बुझनैपर्ने कुरा के रहेछ भने हाम्रो चिनारी बेलायतभित्रको ‘नेपाली’ नै रहेछ, तसर्थ बुँदा नं. १६ (सी) मा हाम्रो आवाज एउटै रूपमा ‘नेपाली’ भनेर प्रतिध्वनित हुनैपर्छ । जसभित्र आज हामीले देखेका र नदेखेका धेरै कुराहरू भोलि समेटिन सक्छ ।
हामी जति छौँ भने पनि रेकर्ड बोल्ने हो, रेकर्डमा ती कुरा रेकर्ड नभएपछि ‘छौँ भन्नु’ अर्थात् ‘हुनु र नहुनु’ले केही पनि फरक नपार्न सक्छ । थोरै लापरबाही अनि अलिकति अल्छीले दस वर्ष (अर्को जनगणना नभए) सम्म हामीलाई पछ्याइरहन्छ । त्यसबीचमा टेम्स नदीमा धेरै-धेरै पानी बगिसकेको हुन्छ र धेरै जेराल्ड होवार्थहरू जन्मिसकेका हुन्छ । तसर्थ मौकामा नजागेको कार्यको परिणाम पछि बितिसकेपछि जति नै जागे पनि भोगिरहनुपर्छ । अर्थात् मार्च २७ भित्र हामीले पुर्‍याएको थोरै सजगता, अलिकति सावधानीले हाम्रो समुदाय र हाम्रो भावी पुस्तालाई कालान्तरसम्म सकारात्मक प्रभाव छाडिरहन्छ ।
-सन्दर्भ ः युकेको राष्ट्रिय जनगणना- मार्च २७)