हाइब्रिड लोकतन्त्रले थलिएको विश्व-राजनीति !

हाइब्रिड लोकतन्त्रले थलिएको विश्व-राजनीति !


विज्ञापन पाउनेले नैतिकता छोडेको धेरै भइसकेको छ । जहाँ विश्वसनीयता वैकल्पिक बनिसकेको छ, दृश्यहरू डरलाग्दो बनेका छन् । निष्पक्ष बनौँ भन्नेहरू पक्ष लिन हतारिएका छन् । सबैले बाँच्न पाउनुपर्छ भन्नेहरू आत्महत्या गर्न विवश बनाउँदै छन् । नागरिकको अस्तित्व सोसल मिडिया र युट्युबमा मात्र बाँकी छ । नितान्त व्यक्तिगत फाइदाको निम्ति मिसन पत्रकारिता गरिरहेको अविश्वसनीय पत्रकारहरूले डिजिटल मिडियामाथि बलात्कार गरिरहेका छन् । गहिरो विश्लेषण, पर्दापछाडिको अन्तर्दृष्टि र विस्तारित रूपलाई ध्वस्त गर्दै खबर पस्किने शैलीले परम्परागत मिडियालाई बाँच्न मुस्किल बनाएको छ ।

यतिबेला ‘युट्युब प्रविधि र च्यानल’ डिजिटल अवसरवादीहरूले कब्जा गर्न सफल भएका छन् । अवसरवादीले युट्युब च्यानललाई डिजिटल एटिएम जस्तै व्यवहार गरिरहेका छन् । ‘तथ्य र जाँच’लाई लोकतन्त्रले दुस्मन ठान्न थालेको लामो समय भइसकेको छ । स्रोत प्रमाणीकरण र आधारभूत पत्रकारिताको सिद्धान्त हराएको छ । भाइरल र प्रसिद्धिको खोजीमा निस्किएकाहरूको रोजाइमा युट्युब च्यानल परिरहेका छन् । पत्रकारितामा जिम्मेवारीको अवधारणा शिथिल बन्दै छ । व्यक्तिगत गोप्यता धुलो बनाइएको छ । नक्कली र सक्कलीको परिभाषा बदलिएको छ । ‘सत्य खोज्नेहरू’ले कथाहरू सिर्जना गर्ने कलामा महारत हासिल गरेका छन् । वास्तविक ‘स्रोत’लाई लुकाएर कथाहरू उत्पादन गरिँदै छ । खोजी रिपोर्टिङको भेषमा ‘मास्टर क्लास’ लेखनको बोलवाला छ ।

वैश्य युगको लोकतन्त्र डिजिटल प्रविधिको कब्जामा परिसकेको छ । महान् काम गरेको बहानामा पीडितको भावनालाई नगदमा परिणत गर्न मरिहत्ते गरिरहेका युट्युबरहरूले सर्वसाधारण नागरिकको दिमाग भुट्न सफल भएका छन् । नागरिकको कमजोरीलाई सुँघ्ने क्षमता भएकाहरूले डिजिटल मिडिया र सोसल मिडिया कब्जा गरेका छन् । उनीहरूले नागरिकको खिल्ली उडाउँदै भ्रमको व्यापार गरिरहेका छन् । भ्रमपूर्ण जानकारी र रणनीतिक ‘विष’लाई मिठो पकवान बनाएर हाइब्रिड लोकतन्त्रको थालीमा पस्किँदै छन् । बौद्धिकहरू खल्लो भविष्यवाणी गर्दैछन् । चर्चित हुने रोगले चिप्लिँदै छन् ।

डिजिटल प्रविधिले विचित्रको समर्थक जन्माउन सफल भएको छ । डिजिटल दरबारले तथाकथित वफादारहरूको दुरुपयोग गर्दै रणनीतिक व्यक्तित्वहरू जन्माएका छन् । सामाजिक सञ्जालको शक्तिद्वारा राजनीतिक सिलसिला सुपर चार्ज गर्दै छन् । डिजिटल प्रविधिद्वारा जन्माइएका फ्यानहरू मार्फत सम्मानित परम्परा भत्काइएको छ । डिजिटल पत्रकारिताले नैतिक रेखाहरू पार गरेको उपलक्ष्यमा हाइब्रिड लोकतन्त्र खुसीले झुमेको छ । इन्टरनेटद्वारा सिर्जना गरिएका तमाम त्रुटिहरू रणनीतिक ‘बम’ बनेकोमा अभूतपूर्व खुसी मनाउँदै छ ।

जानकारी लिन, दिन, भ्रमित गर्न र विभाजित गर्न डिजिटल प्लेटफर्मको दुरुपयोग गरिँदै छ । जोखिमबाट बच्न हामीले अलिकति मिहिनेत अवश्य गर्नुपर्नेछ । सामान्य असावधानीले हामीलाई ठुलो षडयन्त्रको हिस्सा बनाउने सम्भावना चुलिएको छ । गलत सूचना, कथित मनोरञ्जन र रणनीतिका समाचारले रोगी बनाएको छ । लक्ष्यहीन स्क्रोलले नागरिकलाई खोक्रो बनाउँदै छ । हामीले आफैलाई सोध्नुपर्छ, सोसल मिडियाले मनोरञ्जनको वेदीमा सत्यको बलिदान गरिरहेको छ । हामी सूचनाको मन्दविषमा डुबिरहेका छौँ । डिजिटल मिडियाको उपभोक्ताको रूपमा, विवेकशीलबाट विवेकहीन बन्न गइरहेका छौँ ।

शीतयुद्ध समाप्त भइसकेको छ । वर्तमान वैश्य युगको राजनीति पुँजीवाद, समाजवाद, राष्ट्रवादको गुलियोमा भुलेर बस्ने पक्षमा देखिँदैन । छाला, जिब्रो र आँखाको निम्ति बाँच्न हौसिएको युवापुस्ता हाइब्रिड लोकतन्त्रको स्वार्थसँग अनविज्ञ छ । शक्तिशाली मुलुक र सत्ताले गरिब मुलुकलाई आफ्नो रणनीतिको सिकार बनाएको समयमा अस्थिर राजनीति थप मौलाउने छ । साम्यवादलाई घृणा गरेर बाँचेको हाइब्रिड लोकतन्त्रको नयाँ रूप देखिएको छ । भियतनाममा प्रहार गर्ने अमेरिकाले कम्युनिस्ट चीनमा लगानी गरिरहेको छ । साम्यवादी चीनले अमेरिकालाई ऋण दिएको छ । सँगसँगै राजनीतिक शत्रुता कायम राखेको छ । हाइब्रिड लोकतन्त्रको गौरव कायम राख्न इजरायलले जारी राखेको गाजा-लेवनान आक्रमण अमेरिकाको नजरमा अनिवार्य बनेको छ । त्यसैगरि युक्रेनको बरबादीमा अमेरिकी व्यापार र षडयन्त्र थप मौलाएको छ । भारतीय प्रधानमन्त्री मोदीले हिन्दुत्वको प्रेमलाई स्पष्ट रूपमा कम गर्न आवश्यक भए पनि अमेरिकाको इस्लामफोबिया र इजरायल प्रेमले भारतलाई केही समयसम्म बोक्न हौसिएको छ । जसले अमेरिकी प्राथमिकतालाई परिभाषित गरेको छ ।

केही दिनअगाडि भारतीय विदेश मन्त्रीले भनेका छन्- ‘अवरोध वार्ताको युग सकिएको छ, यद्यपि पाकिस्तानसँग दुई वटा आधारमा भारत समस्याग्रस्त छ । पहिलो, पाकिस्तानसँग निर्बाध वार्ता भइरहने प्रमाणहरू कम छन् । दोस्रो कश्मीरमा भएको राजनीतिक हिंसामा पाकिस्तानसँग भारतले नै कुरा गर्नेछ । विदेशमन्त्री एस जय शङ्करले बुझिने भाषामा भनेका छन्, पाकिस्तानबाट प्रतिकूल सङ्केत प्राप्त भइरहे नमिठो जवाफ दिइने छ । यो धम्कीको बाबजुद पाकिस्तान सरकार प्रधानमन्त्री मोदीसँग घनिष्ठ सम्बन्ध राख्न विवश छ । जुन भारतको निम्ति राहत हो । दुर्भाग्य ! भारतीय प्रधानमन्त्री मोदीले इपिजीको रिपोर्ट नबुझेकोमा आक्रोशित प्रधानमन्त्री ओली अमेरिका पुगेर दर्शन पाउँदा मन्त्रमुग्ध छन् । तथापि भारत भ्रमणको औपचारिक निम्तो नपाएर रन्थनिँदै छन् ।

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी दबाबलाई रुसी राष्ट्रपति पुटिनको नेतृत्वमा सामना गरिरहेका छन् । पश्चिमा दबाबको बाबजुद भारतले रुसी तेल आयात गरिरहेको छ । जसलाई रुसले साहसी र अवज्ञाकारी अडानको रूपमा स्वागत गरिसकेको/गरिरहेको छ । यस्तो अवस्थामा मोदी नेतृत्वको भारतले पश्चिमा विचारधारालाई अड्कलेर लिन सफल भएको निष्कर्षमा पुग्नु गल्ती हुनेछ । यतिबेला बिबिसीको छानबिनले खुलासा गरिसकेको छ, प्रतिबन्धित व्यापार दोहोरो तरिकामा पश्चिमको लागि उपयुक्त थियो । रुसी कच्चा तेल भारतीय रिफाइनरीमा प्रशोधन गर्दै पर्याप्त मात्रामा युरोपेली बजारमा पठाइएको थियो, पठाइएको छ । रुसमाथि व्यापार प्रतिबन्ध लगाएको अमेरिकाले भारतमा परिष्कृत रुसी तेल युरोपको बजारमा खुला रूपले गइरहेको विषय आँखा चिम्लिनुले पश्चिमा नियत उजागर गरेको छ ।

मोदी सरकारको असाधारण व्यापारिक स्वार्थले भारतीय विदेश नीति सफल भएको मूल्याङ्कन गर्न जरुरी छ । त्यसैको सेरोफेरोमा मोदी-सत्ताले बङ्गलादेशको अलोकप्रिय र निरङ्कुश हसिना वाजेद सरकारलाई बोक्ने नीतिलाई बलियो बनायो । झारखण्डको फोहोर कोइलाबाट उत्पादित बिजुली अडानी समूहमार्फत बङ्गलादेशलाई बेच्न मोदी सत्ताले हसिनालाई बोक्नु व्यापारिक स्वार्थले काम गरेको बुझ्न सकिन्छ । अडानी समूहको मोदीसँगको अस्वस्थ निकटताले भारतीय राजनीति बरालिएको छ । दुर्भाग्यवश अडानी समूह भारतीय स्वार्थको साधन बन्दै नेपालको प्रमुख एयरपोर्टमाथि आँखा लगाउँदैछ ।

शान्तिक्षेत्रको प्रस्तावलाई भारतले अस्वीकार गरेपश्चात् राजा वीरेन्द्रको दिल्लीसँग शीतयुद्ध सुरु भयो । अविश्वास मौलायो । मुलुकमा भारतविरुद्ध एलर्जी बढ्दै गयो, जसले गर्दा पश्चिमा प्रभाव मौलायो । तत्कालीन दरबारको आन्तरिक कमजोरी र दिल्लीको स्वार्थ बुझेको पश्चिमी सत्ताले एकसाथ दरबार र दिल्लीलाई उल्लु बनाउँदै अघोषित शासन चलाउन सफल भयो । पश्चिमा प्रभावलाई रोक्न सुरु गराइएको ०४६ को आन्दोलन, भारतीय सोच र सक्रियतालाई ०६२/६३ पश्चात् मुलुक भित्रिएको हाइब्रिड लोकतन्त्रले थला पाऱ्यो । रणनीतिक ढङ्गले बसाइँ सारिएको सार्वभौम सत्ता फिर्ता ल्याउने अभियान रोक्न सोसल मिडिया पस्कियो । ततपश्चात् महिला र युवायुवतीलाई सोसल मिडिया कुलतमा फसाउँदै झिल्केहरूको उत्पादन गर्न सफल भयो । हाइब्रिड लोकतन्त्रसँग सकारात्मक विषय नभएको छोप्न चलाखीपूर्वक आम नागरिकलाई सोसल मिडियाको विषालु चास्नीमा डुबाइदियो ।

लोकतन्त्रमा असहमत व्यक्ति र विचारमाथि प्रहार गर्न सामाजिक सञ्जाललाई हाइब्रिड लोकतन्त्रले हथौडाको रूपमा प्रयोग गरिरहेको छ । ट्रम्प र कमला ह्यारिस जस्ता पात्रहरू प्रायः अशिष्ट भाषा प्रयोग गर्छन् । ध्रुवीकरणले अमेरिकी राजनीतिक प्रक्रियामा वास्तविक प्रभाव नपर्ने देखिएको छ । उनीहरू आफ्नो भाषा, धर्म, दर्शन, विचार, सोच, शैली, व्यवहार, छाला, रङ्ग मिल्नेलाई मात्र नागरिक मान्न इच्छुक रहेको देखिन्छ । सीमा सुरक्षा र अन्य देशसँगको सम्बन्ध जस्ता विषयमा गम्भीर संवादमा लाग्नुको सट्टा आफूलाई मनपर्ने समाचार, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जे देख्छन्, त्यसलाई तथ्यका रूपमा स्विकार्छन् । वास्तवमा लोकतन्त्र जति बलियो र स्वस्थ हुन्छ । त्यसप्रति अमेरिकी नागरिकले विश्वास गर्छन् भन्ने विषय उल्टो साबित भइरहेको छ ।

हाइब्रिड लोकतन्त्रले नागरिकको बोल्ने र विरोध गर्ने अधिकार छ भन्छ तर त्यस्तो प्रयासलाई अनावश्यक र अनुपयुक्त देख्दै आएको छ । राजनीति, नेता र सत्तासँग आशा गुमाएका युवा शक्तिलाई उसले आतङ्कवादीको बिल्ला भिराउँदै आएको छ । द्वन्द्वको राजनीतिले समग्र राजनीतिक व्यवस्थालाई नै विकृत बनाएको छ । विश्वभर वास्तविक परिवर्तन रोक्न सफल भएको बहानामा हाइब्रिड लोकतन्त्रले डरलाग्दो अहङ्कार प्रदर्शन गरिरहेको छ । विचार र नैतिक नेतृत्वको बन्ध्याकरण गर्दै डिजिटल मिडिया, व्यापार र षडयन्त्रमार्फत विश्वलाई छिया-छिया पारिरहेको छ । परनिर्भरतातर्फ धकेलेको छ । अशिक्षित र गरिब मुलुकमा अप्रत्यक्ष शासन गरिरहेको छ । जसले गर्दा विश्वको सुरक्षा, आशा र भविष्य थप धरापमा पर्दैछ ।

www.pandeydipendra.com.np