ठूला आयोजना अघि बढाउने गरी बजेट विनियोजन हुने

ठूला आयोजना अघि बढाउने गरी बजेट विनियोजन हुने


आगामी आर्थिक वर्ष २०७५-७६ को बजेट आज सार्वजनिक हुँदैछ । अर्थ मन्त्रालयले बजेट निर्माणको काम लगभग सकिसकेको बुझिएको छ । मन्त्रालय स्रोतका अनुसार कार्यक्रम छनौट र बजेट विनियोजनसँगै रातो किताब छपाईको काम समेत सकिएको छ । अर्थ मन्त्रालयले आज चार बजे बजेटलाई संसदमा पेश गर्नेछ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले हालै घोषणा गरेको मदन भण्डारी राजमार्गलार्य उच्च प्राथमिकताका साथ नयाँ कार्यक्रममा राखेको छ भने चालु अवस्थाका ठूला खालका आयोजना अघि बढाउने गरी बजेट विनियोजन गर्ने तयारीमा मन्त्रालय रहेको बुझिएको हो ।

मन्त्रालय स्रोतका अनुसार यसपटकको बजेटमा रेल सेवा, पानीजहाज लगायतकाका पूर्वाधार विकासमा बजेट विनियोजन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो दिएर अघि सारेका रेल र पानीजहाजको संभाव्यता अध्ययनका लागि महत्वका साथ बजेट विनियोजन भएको बुझिएको छ । यसका साथै बजेटमा जलविद्युत र पर्यटन क्षेत्रमा समेत नयाँ कार्यक्रमका साथ बजेटमा समावेश गरिएको मन्त्रालय स्रोतको दावी छ । तराई क्षेत्रमा सघन सहरी विकास कार्यक्रमका साथै आधुनिक कृषिको विकासमा ध्यान दिदै उत्पादकत्व वृद्धि र किसानलाई राहतका केही कार्यक्रम समेत यसटकको बजेटमा समावेश गरिएको बताइएको छ ।

मंगलबार प्रस्तुत गरिने बजेटमा मन्त्रालयले सोमबार नै रातो किताबको छपाईको कार्य सकेको छ भने गएरातिदेखि नै आर्थिक विधेयक छपाईको काम सुरु गरेको मन्त्रालयले आज विहान १२ बजेभित्रै आर्थिक विधेयक छपाईको कार्य सकेको जनाएको छ । स्रोतका अनुसार यो पटक आर्थिक ऐनमा केही परिवर्तन भएको छ ।

यसपटकको बजेटमा विलासी सवारी साधन, जंक फुड र विलासीतामा प्रयोग हुने अन्य उत्पादनको भन्सार तथा अन्तशुल्कमा वृद्धि गर्ने तयारीमा अर्थमन्त्री खतिवडा लागिपरेका छन् । यस्तै, चारपांग्रेसँगै ठुलो इन्जिन क्षमताका मोटरसाइकलनमा पनि कर बढ्ने स्रोतको दावी छ । त्यसका अतिरिक्त नियमित जस्तै बनेको मदिरा र सुर्तीजन्य उत्पादनमा पनि कडाईको तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

बजेटमा आय करको दरमा पनि काँटछाँट गरिए र कम कमाउनेलाई कम कर लगाउने र बढि कमाउनेलाई बढि लगाउने अर्थमन्त्रीको योजना थियो । यसपटकको बजेटमा घरजग्गा रजिष्ट्रेसन शुल्क बढाउने र जग्गा कारोबारलाई निरुत्साहित गर्न कडाई थाल्न खोजिएको जनाएको छ ।