ओ असम्भव ! म तँलाई खारेज गर्छु– पुण्यप्रसाद प्रसाईं

ओ असम्भव ! म तँलाई खारेज गर्छु– पुण्यप्रसाद प्रसाईं


bicharकोही केही हुने भनेको उसको सोचको कारणले हो । तपाईं आज जुन अवस्थामा हुनुहुन्छ हिजोको तपाईंको सोचको कारणले हुनुहुन्छ । हामी भोलि जे हुनेछौँ आजको हाम्रो सोचको कारणले हुनेछौँ । आज मैले महान् कार्य गर्ने सोच राखँे भने म भोलि महान् बन्नेछु, अपराध गर्ने सोच राखेँ भने अपराधी । यदि कोही मलेसिया जान चाहन्छ भने ऊ मलेसिया नै जानेछ । मलेसिया जाने सोचेर कोही अमेरिका पुग्दैन । तर, त्यो मलेसियाको ठाउँमा शब्द रिप्लेस गरेर ‘अमेरिका’ राखी त्यसका लागि पहल गरेपछि ऊ अमेरिका नै पुग्नेछ । अझ अमेरिकाको ठाउँमा कोही मानिस ‘अन्तरिक्ष’ रिप्लेस गर्छ या जाने सोच बनाउँछ भने ऊ त्यहीँ पुग्नेछ ।
कोही गरिब किन छ ? किनकि उसले कहिल्यै धनी बन्ने सपना देखेन । कोही सधैँ अर्काको झोला बोकेर हिँड्ने साधारण कार्यकर्ता किन छ ? किनकि उसले कहिल्यै महान् लिडर बन्ने सपना देखेन । कोही जिन्दगीमा साधारण खुद्रा व्यापारी किन छ ? किनकि उसले कहिल्यै विशाल सपिङ मल खोल्ने सपना देखेन । कोही साधारण कर्मचारी किन छ ? किनकि उसले कहिल्यै मेनेजर बन्ने सपना देखेन । कोही किन जिन्दगीभर घरेलु उद्योगमा सीमित छ ? किनकि उसले कहिल्यै महान् उद्योग बनाउने सपना देखेन । तपाईं त्यो सब गर्न सक्नुहुन्छ जुन कुरा यो धर्तीमा कुनै अर्को मानिसले गरेको थियो । र, गरेको छ । तपाईं हामी त्यो सब पनि गर्न सक्षम छौँ जुन आजसम्म मानिसले गरेका छैनन् ।
मानिसले जे सोच्न सक्छ ऊ त्यो गर्न सक्छ । मानिसले जे सपना देख्छ त्यो पूरा गर्न सक्छ । यदि कोही लेखकले महान् कृति सिर्जना गर्न सकेको छैन, यदि कुनै गायकले महान् गीत गाएको छैन, यदि कुनै सिनेकर्मीले महान् सिनेमा बनाउन सकेको छैन, यदि कुनै चित्रकारले महान् चित्र बनाउन सकेको छैन, यदि कोही खेलाडीले ओलम्पिक जित्न सकेको छैन, यदि कोही उद्यमीले विशाल उद्योग खोल्न सकेको छैन भने यसको कारण ऊ अक्षम छ भन्ने होइन । यसको एउटै कारण छ उसले महान् गर्ने सपना देखेन । उसले त्यसको सपना देखेन ।
म हरदम मेरो सपनाको आकार बढाउन चाहन्छु । त्यसैले म सबैलाई यही भन्छु, आफ्नो सपनाको आकार बढाउनुस् । जति सकिन्छ, आफ्नो सपनालाई तन्काउनुस् । मैले मेरो उपन्यास ‘युद्धका डोबहरू’को बिक्री लक्ष्य एक लाख प्रति लिएको छु र मलाई विश्वास छ यस्तै हुनेछ, किनकि मैले अलिक ठूलो सपना देख्ने साहस गरेको छु । तपाईं हामी सबैले सपना देख्ने साहस गर्नुपर्छ । म हरेकलाई भन्छु सपना देख्ने साहस गर । तपाईं कुनै कुराको सपना देख्नुस् तपाईंले पाउनुहुनेछ । सपना देख्ने साहस गरौँ । जीवनमा कायापलट हुनेछ । सपना ! एउटा सपनाबाट सबै कुरा सुरु हुन्छ ।
नकारात्मक शक्तिदेखि तर्सिनुपर्ने केही कारण छैन । कसैलाई लक्ष्यमा पु-याउन, सफलतामा पु-याउन प्रेरक शक्तिको जति हात हुन्छ यस्ता विरोधीहरूले पनि भूमिका त निभाएकै हुन्छन् । विश्वमा कम्युनिस्टहरू बढे भनेर अमेरिकामा या ऊजस्तै अरू कुनै पुँजीवादी राष्ट्रले धेरै टाउको दुखाइरहनुपर्छ जस्तो मलाई लाग्दैन । यस विश्वमा हिटलर र स्टालिनजस्ता मानवविरोधीहरू भएकाले नै अमेरिकाले यति द्रुत विकास गर्न सक्यो । यदि हाम्रो पछाडि कोही तरबार लिएर आइरहेको हुन्छ भने न्वारानदेखिको बल लगाएर दौडनु हाम्रो बाध्यता हुन्छ ।
तपाईंले बेटर परफर्मेन्स दिनुपर्छ नत्र तपाईंको मृत्यु पनि हुनसक्छ । अमेरिकालाई हिजो हिटलरले दौडायो । त्यसपछि स्टालिन अमेरिकाको पछाडि नाङ्गो तरबार बोकेर उभिएका थियो । दौडनुप-यो । अमेरिकाले आप्mनो दौडको गति नबढाई धरै थिएन, धरै छैन । उसको पछाडि पागल तरबार बोकेकाहरू आज पनि संसारमा छँदै छन् । दौड अमेरिका, दौड ! तिमी दौडेको कारणले यहाँ नयाँ–नयाँ चमत्कार घटिरहेका छन् । तिम्रो दौडले यहाँ मानिसको हृदयमा सपनाको बीउ रोप्न सकेको छ । आशाको सञ्चार गरेको छ । तिमीलाई छुन सबैले दौडनै परेको छ । बगैँचामा पुतली समाउन बालक दौडेझैं ।
यस क्षणमा म एकपटक मेरी आमालाई सम्झन मनपराउँछु । उहाँले मलाई सधैँ स्वतन्त्रता दिनुभयो । ‘म तिमीलाई तिम्रो बाबाले भन्दा विपरीत तरिकाले हुर्काउन चाहन्छु, के विश्वासमा भने, मैले दिएको स्वतन्त्रताको दुरुपयोग तिमीले कहिल्यै गर्ने छैनौ’ भन्नुहुन्थ्यो । बाबाको विश्वास कडा अनुशासनमा थियो तर ममी ठीक उल्टो । म म्याथमा ठूलाठूला आलु भएको रिजल्ट सिट बोकेर घर आउँदा उहाँले कहिल्यै मलाई गाली गर्नुभएन न त चिन्ता नै गर्नुभयो । उहाँ रिजल्ट सिट हेरेर भन्नुहुन्थ्यो, ‘तिम्रो अङ्ग्रेजी राम्रो छ । नेपाली झनै राम्रो पढ्न र लेख्न सक्छौ तिमी ।’ कति धेरै पोजेटिभ सोच ! नराम्राको चर्चै छैन ।
मेरी आमा मलाई भन्नुहुन्थ्यो, ‘तिमी पैसा कमाउनका लागि नपढ्नु । पर्दैन पनि । बस तिमी खोज गर, आपूmभित्र लुकेको त्यो असीमित शक्तिको । किनकिन मलाई कस्तो लाग्छ भने तिमी महान् काम गर्न सक्छौ । तिमीले एक दिन महान् काम गर्नेछौ । त्यो सर्वश्रेष्ठ काम के हो जो तिमीले गर्नुछ । बस, तिमी त्यसको खोज गर । आपूmभित्रको त्यो असाधारण योग्यताको खोजी गर ।’
‘हरेक मानिसमा असाधारण क्षमता हुन्छ । हरेक मानव मस्तिष्कमा असीमित शक्ति हुन्छ । मेरो छोरा ! जब तिमी आफ्नो महान् लक्ष्य भेटाउँछौ, तब त्यो लक्ष्यबाट एकछिनका लागि पनि आफ्नो ध्यान भाग्न नदेऊ । आफ्नो पूरा अस्तित्व लक्ष्यमा फोकस गर । तिमीले अवश्य सफलता पाउनेछौ । जब तिमीले लक्ष्य प्राप्त गर्छौ तब त्यसलाई मानव कल्याणका लागि प्रयोग गर ।’
साथी हो हामी आफ्नो लक्ष्यका लागि कुनै पनि रोकावटलाई नमानौँ । सबैखाले बाधालाई अस्वीकार गरौँ । असम्भवलाई खारेज गरौँ । बाधाको अगाडि कहिल्यै टाउको नझुकाउँm । हार मान्ने र मैदान छोड्ने कल्पना कहिल्यै नगरौँ । मैदान छोडेर भाग्नेहरूको मैदानमै नउत्रिनेहरूको जस्तै कुनै इतिहास हुँदैन । उनीहरूलाई जिन्दगीले एउटै काम दिएको हुन्छ, झोक्राएर बस्नु, पछुताउनु । जस्तो बाधामा पनि मैदानमा डटेर रहौँ । परिणाम प्राप्त हुन्छ । हामी जहाँबाट फर्किने सोच्छौँ के थाहा त्यो हाम्रो लक्ष्यभन्दा केवल एक पाइला तल होस् । पानी तताउँदा ९९ डिग्री तातेपछि यो पानी नउम्लने रहेछ भनेर आगो निभायौँ भने त्यो ठूलो भूल हुनेछ । किनकि केवल एक डिग्री ताप बढाएको भए सय डिग्री हुन्थ्यो र पानी उम्लन्थ्यो । सफलता परिपक्व हुन सय डिग्रीको आवश्यकता हुन्छ । त्यसैले ९९ डिग्रीमा पुगेर फर्किनु मूर्खता हो । त्यसकारण मैदान नछोडौँ, मैदान छोडेर कुनै पनि हालतमा नफर्कौं । साथी हो याद गरौँ पानी उम्लन्छ र त्यो सय डिग्रीमा उम्लन्छ ।
अन्त्यमा,
मैले मेरो मूल्य निर्धारण गर्न बजारलाई छोडेको थिएँ । तर, मैले बुझ्न सक्नुपथ्र्यो एक समीक्षक पनि सर्वप्रथम मानिस हो । मजस्तै । मानिसले मेरो काम स्वीकार गरे । मलाई उत्साह र प्रेरणा दिए मानिसले, किनकि म मानिसलाई विश्वास गर्छु । म धेरै मानिसलाई विश्वास गर्छु ।
म मानिसहरूलाई चिन्न थालेको छु, किनकि सबै मानिस मजस्तै हुँदा रहेछन् । मजस्तै उनीहरू पनि स्वतन्त्रता मनपराउँदा रहेछन्, मजस्तै आ–आफ्नो परिवार र आफ्नी पत्नीलाई प्रेम गर्दा रहेछन् । मजस्तै मानिसहरू उच्च उडान भर्न मनपराउँदा रहेछन् । शान्त रहेर विश्वआत्माको साउती सुन्ने प्रयास गर्दा रहेछन् ।
मलाई थाहा भएको छ सानोमा चिडियाखाना घुमघाम गर्दा स्वतन्त्रताको अबुझाइका कारण भालु र जलगैँडालाई सबैले सुटुक्क ढुङ्गा हानेका हुँदा रहेछन् । सबैले बाल्यकालमा भाले मयुरका रङ्गीबिरङ्गी प्वाँख सुटुक्क तान्न चाहेका हुँदा रहेछन् । सबै मानिसहरू मजस्तै हुँदा रहेछन् । मजस्तै सबै मानिस अर्को मानिसलाई प्रेम गर्दा रहेछन् । सबै मानिस मजस्तै हुने रहेछन् । हरेक मानिसले उच्च उडान भर्न सक्ने रहेछन् । हरेक मानिस सपना देख्न र त्यस सपनालाई साकार पार्न सक्दा रहेछन् । त्यसैले म मानिसलाई विश्वास गर्छु । सबै मानिस मजस्तै हुँदा रहेछन् ।
जब मानिसका सपना पूरा हुन्छन् त्यसपछि के त ? के त्यसपछि उसलाई अर्को सपनाको आवश्यकता पर्छ ? मलाई लाग्छ पर्दैन । जब एकपटक एउटा महान् सपना पूरा हुन्छ तब ऊ पारसमणि बन्छ । ऊ मिदास बन्छ । उसले जे छोयो त्यो सुन बन्छ । अब उसलाई अर्को सपनाको दरकार पर्दैन । अब उसको काम बन्छ मानिसलाई सपना देख्न र आफ्नो सपनामा काम गर्न प्रेरित गर्नु, किनकि हरेक मानिसलाई माथि उठ्नका लागि प्रेरणा र उत्साहको खाँचो पर्छ । जब कोही मानिसलाई उत्साह र प्रेरणा दिन्छ तब ऊ एउटा अविस्मरणीय मानिस बन्छ । त्यसले ऊ आपैmँलाई पनि प्रेरणा मिल्छ ।
मेरो प्रकाशोन्मुख उपन्यास युद्धका डोबहरूको एउटा खास उद्देश्य छ मानिसहरूलाई प्रेरित गर्नु, मानिसलाई उत्साहित गर्नु र उनीहरूलाई के भन्नु भने, ‘मित्र चाहेको गर्न तिमी सक्षम छौ, त्यसैले महान् चाहना राख ।’
राल्फ वाल्डो इमर्सनलाई सम्झँदै अन्त्य गर्न चाहन्छु, ‘मानिसलाई विश्वास गर्नुहुन्छ भने उनीहरू तपाईंप्रति सच्चा रहन्छन्, उनीहरूसँग महान् व्यवहार गर्छौं भने उनीहरू आपूmलाई महान् साबित गर्नेछन् ।’