चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो, बस आयातमा छुट

चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो, बस आयातमा छुट


मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर, खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो ।

त्यसैगरी एक हजार सीसी भन्दा माथिका चारपांग्रे सवारी साधन र १५० सीसी भन्दा माथिका क्षमताका मोटरसाइकलमा पनि अन्तःशुल्क वृद्धि हुने भएको छ ।

सरकारले आजैदेखि लागू हुने गरी चुरोट उत्पादन र पैठारीमा प्रति खिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर पनि लगाउने भएको छ ।

विदेशबाट फर्किएका नेपाली यात्रीले आफ्नो साथमा ल्याएको १०० ग्राम काँचो सुन महसुल तिरी पैठारी गर्न सकिने व्यवस्था बजेटले गरेको छ ।

यस्तै, सामूदायिक विद्यालय प्रयोजनका लागि पैठारी गरिने ३० सीट वा सोभन्दा बढी क्षमताका प्रतिविद्यालय एउटा बस खरिदमा लाग्ने भन्सार महसुल, अन्तःशुल्क र मूल्यअभिवृद्धि करमा पुरै छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी सरकारले शिक्षा र स्वास्थ्य सेवाको उपभोगबापत असूल हुँदै आएको शिक्षा सेवा र स्वास्थ्य सेवा कर खारेज गरेको छ ।

तस्बिर रासस