प्रवासमा काङ्ग्रेस र नेताहरूको मानसिकता – चित्र केसी

प्रवासमा काङ्ग्रेस र नेताहरूको मानसिकता – चित्र केसी


bicharनेपाली काङ्ग्रेसको मूल आदर्श–सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । यही सिद्धान्तप्रति आस्थावान रहेर पनि विभिन्न कारण र उद्देश्यले देशभन्दा बाहिर विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई एकै सूत्रमा आबद्ध गराउने काम नेपाली जनसम्पर्क समितिले गर्दै आएको छ । प्रवासमा आइपर्ने कठिनाइहरूलाई अन्य सङ्घसंस्थासँग हातेमालो गर्दै समाधानका साथै कतिपय सन्दर्भमा मिलेर सामना गर्ने काम पनि यसले गर्दै आएको छ । नेपालमा लोकतन्त्रमा आँच आउँदा खबरदारी गर्ने मूल उद्देश्यका साथ जननायक बीपी कोइरालाले भारतको मुम्बईमा एक सम्मेलन गरी नेपाली जनसम्पर्क समिति गठनका साथै यसलाई नेपाली काङ्ग्रेसको अन्तर्राष्ट्रिय भ्रातृ सङ्गठनको रूपमा स्थापना गर्नुभएको थियो ।
पछिल्लो समयमा नेपाली जनसम्पर्क समितिहरू विश्वका अधिकांश मुलुकमा क्रियाशील सङ्गठनको रूपमा स्थापित हुँदै गएका छन् । तर, माउ पार्टी नेपाली काङ्ग्रेसले जुन किसिमले नेपाली जनसम्पर्क समितिहरूलाई परिचालन र यसको सङ्गठनमा ध्यान दिनुपर्ने थियो, तर त्यसमा उचित चासो दिएको देखिँदैन । जनसम्पर्क समितिलाई समन्वय गर्ने (?) भनेर नेपाली जनसम्पर्क समन्वय विभाग (?) पार्टीले गठन त गरेको छ तथापि यस विभागले पनि अहिलेसम्म खासै जनसम्पर्क समितिलाई रचनात्मक काम गर्न कुनै किसिमको सल्लाह, सुझाव र निर्देशन दिन सकेको छैन । न त अहिलेसम्म विभागबाट प्रवासमा रहेका पार्टी कार्यकर्ताले कुनै किसिमको प्रशिक्षण दिने कामको नै सुरुवात भएको छ ।
प्रवासमा रहेर पनि प्रजातन्त्र र मुलुकलाई माया गर्ने नेपाली काङ्ग्रेसका शुभचिन्तकहरूको सङ्ख्या अन्य राजनीतिक पार्टीको तुलनामा हरेक मुलुकमा धेरै नै छ । लाखौँ युवाशक्ति प्रजातन्त्र र नेपाली काङ्ग्रेसको पक्षमा देखिए पनि काङ्ग्रेसको रक्तसञ्चार गराउने शक्ति विदेशमा पलायन छ । त्यो शक्तिलाई नेपाली काङ्ग्रेसले नजरअन्दाज गरी उनीहरूको गतिविधिलाई र उनीहरूले गरेका हरेक सकारात्मक कार्यलाई महत्व नदिनु विडम्बना हो । जनसम्पर्क समितिको विचार र भावनालाई नसमेटिनु र उनीहरूले गरेका कार्यलाई महत्व नदिनुजस्ता विषयले निश्चित रूपमा पार्टीको गतिविधिमा प्रतिकूल असर पर्न जान्छ । विशेषगरी वर्तमान समयमा नेकाका नेताहरू नेपालबाट विदेश जाने सिलसिलामा जनसम्पर्क समितिको कामकारबाही र गतिविधिमा भन्दा पनि आफ्नो व्यक्तिगत काममा बढी लागेको देखिएको छ । समितिमा देखिएको विवादलाई समाधान गर्नुभन्दा पनि उल्टै गुटउपगुट सिर्जना गराएर सङ्गठनलाई कमजोर बनाएको अवस्था छ ।
मध्यपूर्व र खाडी मुलुकमा सबैभन्दा बढी प्रवासी नपाली रहेका छन् । अनुमानित झन्डै २७ लाख नेपाली रहेको यो क्षेत्र पार्टी नेताहरूको आकर्षण र गन्तव्यको ठाउँ बन्दैन, उहाँहरूको पहिलो छनोटमा युरोप र अमेरिका पर्दछ । खाडी मुलुकमा गएका मान्छेहरूको तलब थोरै छ, पढेलेखेका खासै हुँदैनन् भन्ने दुराग्रही सोचबाट ग्रस्त नेताको प्राथमिकतामा खाडी परेको देखिँदैन । पार्टीका नेताहरूबाट नै धन, पैसा वा शिक्षासँग तुलना गरेर व्यवहार गरिएको छ । यसले निश्चित रूपमा पार्टीको धरातललाई कमजोर बनाउने छ । यस विषयमा पार्टीको नेताको ध्यान गएको देखिँदैन । विचारलाई समान दृष्टिकोणले हेरिनुपर्छ ।
यसै सन्दर्भमा म केही कुरा स्मरण गराउन चाहन्छु । नेपाली जनसम्पर्क समितिको अधिवेशन गराउन आउनुभएका नेपाली काङ्ग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले यूएई घुम्ने सिलसिलामा मलाई यूएईको कुनै मल, रिसोर्ट, होटेललगायत विलासिताका कुराहरू नदेखाउन बरु यूएईमा रहेका सबैभन्दा दु:ख पाएका नेपाली बस्ने–खाने क्याम्प देखाउन आग्रह गर्नुभएको थियो । उहाँले नेपालीको वास्तविक समस्या पहिचान गर्ने चाहना राखेपछि मैले यूएईको अबुधाबीमा रहेको मुसाफा आईकार्डमा रहेको नेपाली क्याम्पमा लगी त्यहाँ रहेका नेपाली कामदारसँग गगन थापाको अन्तरक्रिया गराएको थिएँ । यस्ता कामकारबाहीले निश्चित रूपमा मानिसको मन छुन्छ । ‘विदेशमा आएर पनि हामीसँग भेट गर्न आए है, हाम्रो समस्यालाई नजिकबाट हेरे है’ भनेर प्रवासमा रहेका नेपालीलाई पनि आत्मसन्तुष्टि प्राप्त हुन्छ । यसबाट सङ्गठनमा पनि राम्रो सन्देश जान्छ । यो त एउटा उदाहरण हो, हरेक विदेश जाने नेताले यस्तो पहल गरोस् हामी त्यो चाहन्छौँ ।
संसारभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिको अहिलेसम्म न कुनै किसिमको समान अवधारणा छ न त समान विधान र आचारसंहिता नै । आफूखुसी अधिवेशन हुन्छ र कार्यक्रम पनि । यसमा एकरूपता दिन पार्टीले समान विधान बनाई तुरुन्त यसको व्यवस्था गर्न जरुरी देखिन्छ । कतिसम्म छ भने नेपालका लागि भनेर बनाएको क्रियाशील फाराम विदेशमा रहेका जनसम्पर्क समितिलाई पनि त्यही पठाइएको छ, जसमा रुपैयाँ दुई सय भनिएको छ । तर, नियमावलीमा भने युरोप–अमेरिकाका लागि २५ डलर र खाडी मुलुकका लागि भनेर पाँच डलर तोकिएको छ । हामी सोध्न चाहन्छौँ– किन यस्तो असमानता ? के पार्टीका कार्यकर्ता भनेका समान होइनन् ? पैसासँग तुलना गरेर क्रियाशील फारम बाँड्ने यो पार्टीको कस्तो नीति हो ? यसमा जतिसक्दो चाँडो सबै जनसम्पर्क समितिको हकमा समान दृष्टिकोण बनाउनुपर्छ नत्रभने पैसाको कारण सबैभन्दा बढी पैसा र पहुँच हुनेहरू मात्र क्रियाशीलको नाममा हाबी हुने र गरिब–दु:खीहरूको पार्टीमा कुनै अस्तित्व नहुने अवस्था आउन सक्छ । के हामी त्यस्तो बनाउन लागेका हौँ र ?
मैले माथि उल्लेख गरेको विषयहरूलाई पार्टीले अविलम्ब सुधार्नु आवश्यक ठान्छु । पार्टी भिजन र एजेन्डाको साथ अगाडि बढनुपर्छ । अहिलेसम्म पार्टीको बहुसङ्ख्यक भ्रातृ सङ्गठनको अधिवेशन हुन सकेको छैन । यो दु:खद् कुरा हो किनकि भ्रातृ सङ्गठन भनेको पार्टीका लागि मेरुदन्ड वा सोसरह हो । अहिलेको तरल राजनीतिक अवस्थामा पार्टीको कुनै किसिमको भिजन र एजेन्डा देखिएको छैन । माओवादीको एजेन्डामा पार्टी लम्पसार परेर आत्मसमर्पण गरेको स्थिति देखिन्छ । अबको चुनावमा प्रत्येक नेता–कार्यकर्तालाई जनताको घर–दैलोमा गएर पार्टीको स्पष्ट भिजन साथ जान सक्यो भने मुलुकमा काङ्ग्रेसको विकल्प कोही हुन सक्दैन । पार्टीको आन्तरिक कमजोरीलाई सुधार गर्दै जानुपर्दछ ।
(लेखक नेपाली जनसम्पर्क समिति यूएईका अध्यक्ष हुन् ।)