भूकम्प र यसले स्वास्थ्यमा पार्ने असर

भूकम्प र यसले स्वास्थ्यमा पार्ने असर


-सम्झना शाक्य
भर्खरै मात्र जापानमा गएको लगभग नौ रेक्टर स्केलको महाभूकम्पले जापानजस्तो विकसित राष्ट्रमा पनि प्रलय भएको छ । हाल ती भूकम्पपीडित जापानीहरू भूकम्प मात्र होइन, यसको फलस्वरूप भएका अन्य घटनाक्रमहरूबाट भूकम्पजत्तिकै वा अझ त्योभन्दा बढी पीडित भएका छन् । महाभूकम्प, त्यसको लगत्तै केही सोच्न नभ्याउँदै आएको सुनामी, त्यसपश्चात् परमाणु केन्द्रमा त्यसको असर, फलस्वरूप आगलागी र परमाणुले जनजीवनमा पारेको असर, यसरी एकैचोटि जापानीहरू प्रलयमाथि महाप्रलय भोग्न बाध्य भए । आज सारा विश्व यो स्थितिबाट स्तब्ध भएको छ । ९० सालको भुइँचालोलाई महाभूकम्प भनी सम्भिmने नेपाली मन, हैटीको भूकम्प हुँदा अहो यस्तो भुइँचालो नेपालमा गएदेखि के हालत होला भनी सोच्दथ्यो । तर, आज जापानमा गएको महाभूकम्पले, जापानप्रतिको हाम्रो आत्मियता, यससँगको हाम्रो भौगोलिक सम्बन्ध आदिले गर्दा होला, लौ आजै पो जान्छ कि भोलि नै पो यहाँ पनि भूकम्प गइहाल्छ कि भनी त्रसित हुन थालेको छ । ९० सालको भुइँचालो गएको ७७ बर्ष भइसकेको अवस्थामा अब फेरि भुइँचालो दोहोरिने बेला पनि भएकोले हाम्रो आशङ्का, हाम्रो डर शायद सही पनि हुन सक्छ । यसलाई त्रासको रूपमा भन्दा पनि भूकम्पको जोखिम न्यूनीकरण बारे सोचविचार गर्ने सही मौकाको रूपमा लिन सकिन्छ । यसै सन्दर्भमा आज हामी भूकम्पले स्वास्थ्यमा पार्न सक्ने असर र यसको न्यूनीकरणसम्बन्धी केही व्यावहारिक उपायहरूका बारेमा छलफल गर्नेछौँ ।
स्वास्थ्य असर
भूकम्पको सबैभन्दा गम्भीर असर भनेको मानवीय क्षति हो । हालसम्मको आँकडाअनुसार जापानमा गएको यस भूकम्पमा करिब ६ हजार मानिसको मृत्यु भइसकेको, हजारौँ मानिस हराइराखेको, करिब पाँच लाख जापानी घरबारविहीन भएका र मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान लगाइएको छ । भूकम्पमा मृत्युको प्रमुख कारण शारीरिक चोटपटक हो जुन भौतिक संरचनाहरू भत्केर वा त्यसमा पुरिएर हुने गर्दछ । भूकम्पको पहिलो तथा प्राथमिक असर यही हो । साधारण चोटपटक लागेका मानिसहरूको भन्दा टाउकोमा चोटपटक लागेका, शरीरको भित्री अङ्गहरूमा चोटपटक लागेका मानिसहरूको मृत्यु हुने सम्भावना बढी रहन्छ । त्यसबाहेक मृत्यु हुने अन्य कारणहरूमा फोक्सोमा धुलो भरिएर श्वास-प्रश्वासमा खराबी आउनु, ठूला चोटपटकहरूका कारण मिर्गौलाले काम गर्न नसक्नु, शरीरको तापक्रम घट्नु, भोकमरी हुनु आदि हुन् । त्यसबाहेक यस्तो अवस्थाले हृदयाघात हुने र मुटुरोगीहरू तथा मधुमेहजस्ता दीर्घकालीन रोग भएका बिरामीहरूको अवस्था झन् बिग्रने हुन सक्दछ । भूकम्पलाई कसैले पनि रोकेर रोक्न सकिन्न तर यसको क्षतिलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । व्यक्तिगत तथा पारिवारिक तवरमा निम्न उपायहरू अवलम्बन गरेर भूकम्पको शारीरिक, मानसिक तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ ।
भूकम्पसम्बन्धी अपनाउन सकिने केही उपायहरू
भूकम्पको पूर्वतयारी
१. भूकम्पको बेलामा टपक्क टिपेर सुरक्षित स्थानमा जान मिल्नेगरी आकस्मिक सामानहरू राखेर एउटा झोला तयार गरौँ । यसलाई झप्पड झोला पनि भनिन्छ । त्यसमा राख्ने सामग्रीहरू यसप्रकार छन् ।
ड्ड ब्याट्रीबाट चल्ने रेडियो ।
ड्ड ब्याट्रीबाट चल्ने र्टच लाइट ।
ड्ड प्राथमिक उपचारका सामग्रीहरू ।
ड्ड अन्य केही ब्याट्रीहरू ।
ड्ड आकस्मिक खाद्य सामग्रीहरू ।
ड्ड सिल्ड लगाइएको पानीको बोतल ।
ड्ड मैनबत्ती तथा सलाई ।
ड्ड चक्कु ।
ड्ड पानी शुद्ध गर्न क्लोरिनको झोल ।
ड्ड नियमित खानुपर्ने औषधिहरू ।
ड्ड केही पैसा ।
ड्ड अन्य नभइनहुने सामानहरू आदि ।
यो झोला कहाँ हुनेछ भन्ने कुरा परिवारका सबै सदस्यलाई थाहा हुन अत्यन्तै जरुरी हुन्छ ।
२. तपाईं रहने बस्ने स्थानको भौतिक संरचनाको मूल्याङ्कन गरी जोखिम भएमा मर्मत गर्ने र भएका संरचनाहरूलाई सुरक्षित बनाउने गर्नुपर्छ । जस्तो गह्रौँ सामानहरू दराजमाथि राख्ने, झुन्ड्याएर राख्ने, गमलाहरू असुरक्षित तरिकाले छेउमा राख्ने आदि गर्नुहुँदैन । भुइँचालो गएको अवस्थामा घर नै नभत्किए पनि त्यस्ता असुरक्षित संरचनाहरू खसेर चोटपटक लाग्ने हुन सक्दछ ।
३. भुइँचालो गएको अवस्थामा कुन स्थान सुरक्षित रहनेछ भन्ने विषयमा परिवारका सदस्यहरू बसी सल्लाह गर्नुपर्छ ।
४.भुइँचालोको कारणले यत्रतत्र भएको अवस्थ्ाामा परिवारका सदस्यहरू कुन ठाउँमा भेट्ने भनी सर्म्पर्क केन्द्रको बारेमा छलफल गर्नुपर्छ । यो कुन्ौ स्थानविशेष मात्र नभई कुनै व्यक्तिको ठेगाना पनि हुन सक्दछ ।
भूकम्प गइरहेको अवस्थामा अपनाउनुपर्ने सावधानीहरू
१. घरभित्र हुनुहुन्छ भने भ\mयालतिर नबस्नुहोस् । त्यस्तै गरी सिसा फुटेर लाग्ने सम्भावना भएका स्थानहरूमा नबस्नुहोस् । घरको भित्री भागको ढोकाको बीचमा अथवा बलियो पिलरको सहायतामा उभिएर बस्नुहोस् । त्यस्तैगरी पलङ, टेबुल बलिया छन् भने त्यसभित्र लुकेर बस्दा पनि हुन्छ । केही पनि छैन भने पनि कम्तीमा आप\mना दुई हातपाखुराले टाउकोलाई लुकाएर बस्नुहोस् । भुइँचालो गइराखेको बेला यताउता भागदौड गर्नु उचित मानिँदैन ।
२. यदि गाडीमा हुनुहुन्छ भने गाडी रोकेर भुइँचालो गइन्जेल गाडीभित्र नै बस्नु उपयुक्त मानिन्छ । तर, गाडी रोक्दाखेरि पुलमुनितिर, भत्किन सक्ने संरचनाको नजिकतिर, बिजुलीको खम्बाहरू भएतिर रोक्नुहुँदैन ।
३. घरबाहिर हुनुहुन्छ भने खुला ठाउँतिर जानुहोस् । फेरि पनि भत्किन सक्ने संरचनाको नजिकतिर, बिजुलीको खम्बाहरू भएतिर बस्नुहुँदैन ।
४. यदि भुइँचालोको कारणले कतै भत्केका संरचनाभित्र पुरिएको खण्डमा नआत्तीकन नचलीकन बस्नुपर्छ । मुख बाएर चिच्याउँदा धुलो फोक्सोभित्र पस्ने डर हुने हुँदा केही बजाएर आवाज दिने कोसिस गर्नुपर्छ ।
भूकम्पपछि याद गर्नुपर्ने कुराहरू
१. नआत्तिनुस् ।
२. खबर, समाचार वा विशेष निर्देशनहरू थाहा पाउन रेडियो सुन्नुहोस् ।
३. अरूलाई सक्दो सहयोग गर्नुहोस् ।
४. पुरिएका व्यक्तिहरूको उद्धार गर्दा उद्धार टोलीको सहयोग लिई सुरक्षित तरिकाबाट गर्नुहोस् ।
५. भूकम्पको अर्को धक्का फेरि आउन सक्ने हुँदा सोको बारेमा सचेत रहनुहोस् ।
६. भुइँचालोको कम्पन राम्ररी स्थिर नभएसम्म हत्त न पत्त घरभित्र पस्नुहुँदैन । यदि घरको संरचना भत्किएको छ भने त्यस्तो घरभित्र पनि पस्नुहुँदैन ।
७. शुद्धीकरण नगरिएको पानी पिउन हुँदैन ।
अन्तमा, हुन त हामी भूकम्पलाई रोक्न सक्दैनौँ तर यसबाट हुन सक्ने क्षतिलाई भने पक्कै पनि न्यूनीकरण गर्न सक्दछौँ । यसका लागि भूकम्पको पूर्वतयारीका बारेमा छलफल गर्नुपर्छ । यसबारे बढीभन्दा बढी ज्ञान हासिल गरी आफूले जान्नुका साथै अरूलाई पनि सिकाउनुपर्छ । जापानमा गएको यो महाभूकम्पले हामीलाई त्रसित त तुल्याएको छ नै, तर यसबाहेक सचेत हुने एउटा मौका पनि त दिएको छ ।