एसिसी ट्वान्टी–२० क्रिकेटको फाइनलमा अफगानिस्तानसँग पराजित भएपछि नेपाल क्रिकेट टिमका कप्तान पारस खड्काले भने, ‘हामी कोहीभन्दा कम छैनौँ ।’ कप्तान खड्काको यो कथनमा साँच्चिकै दम थियो । उनको टिमले भर्खरै सम्पन्न एसीसी ट्वान्टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलको नतिजा नेपालको पक्षमा नआए पनि पूरा प्रतियोगिताभरि नेपालले निकै वाहवाही बटुलेको थियो । लिग चरणदेखि फाइनलसम्मको यात्रामा नेपालले सनसनीपूर्ण विजय हासिल गरेको थियो । कहिले प्रदीप ऐरी, कहिले पारस खड्का त कहिले अन्य खेलाडीले नेपालको विजयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तो अद्भूत प्रदर्शनले नै होला यसपटक खेलाडीको हौसला बढाउन कीर्तिमानी दर्शकहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका थिए ।
कप्तान पारसले भने, ‘क्रिकेटको नेपालमा क्रेज बढे पनि सम्बन्धित निकाय मौन छ ।’ पारसको यो कुरालाई एसीसी ट्वान्टी–२० क्रिकेटले प्रमाणित गरिदिएको छ । हजारौँ दर्शकको उपस्थितिले नेपालमा क्रिकेट कति लोकप्रिय छ त्यसको पनि रहस्योद्घाटन गरिदिएको छ । यति धेरै दर्शकको उपस्थिति देखेर विदेशी टिमका प्रशिक्षकले नेपाललाई क्रिकेटको उत्कृष्ट गन्तव्यको भएको चर्चा गरेका छन् । उनीहरूले यस्तो दर्शक त एकदिवसीय र ट्वान्टी–२० क्रिकेटमा मात्र देख्न पाइने भन्दै नेपालमा क्रिकेटको भविष्य उज्ज्वल रहेको दाबीसमेत गरेका थिए । खेल्नेभन्दा हेर्ने दर्शक धेरै हुनु खेलकुदको विशेषता भए पनि साँच्चिकै दर्शकको माया पाउनु भनेको त्यो खेलको लोकप्रियताको कडी हो जो अहिले क्रिकेटले नेपाली दर्शकबाट पाएको छ । जो नेपालीको मनमस्तिष्कमा बस्न सफल भएको छ । तर विडम्बना, सम्बन्धित निकाय क्रिकेटको भन्दा व्यक्ति विकास र राजनीतिक विकासमा लाग्दा क्रिकेटको भने बिचल्ली भएको छ ।
कप्तान पारसले भने, ‘जित्नका लागि भौतिक पूर्वाधार र प्रशिक्षणको व्यवस्था वैज्ञानिक र समय सान्दर्भिक हुनुपर्छ ।’ भौतिक पूर्वाधार र नियमित प्रशिक्षणबिना विजयको कल्पनासमेत गर्न सकिँदैन । यो यथार्थलाई जति खेलाडीले बुझेका छन् त्यो क्रिकेटका पदाधिकारीहरूले बुझेकोजस्तो देखिँदैन । एउटा विदेशी प्रशिक्षकको भरमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा कदापि जित्न सकिँदैन । यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय तालमेल मिल्नुपर्छ । घरेलु क्रिकेट निरन्तरताका लागि खेल्नुपर्छ भने जित्नका लागि त अन्तर्राष्ट्रिय प्रशिक्षण र प्रतियोगिता नै चाहिन्छ । जुन कुरो श्रीलङ्कन प्रशिक्षकले बारम्बार दोहो¥याउँदै आएका छन् । तर, चाडवाडको अवसरमा सरकारले कर्मचारीलाई बोनस दिएसरि कहिलेकाहीँ विदेशी प्रशिक्षणमा पठाउने क्यानले यसबारे कहिल्यै दूरदर्शी भएर सोचेको छैन । क्रिकेटको विश्वव्यापी लोकप्रियता र त्यसको मापडण्डका लागि आवश्यक पर्ने कुराप्रति कहिल्यै चासो देखाएको छैन । अन्यथा अन्तर्राष्ट्रिय प्रतियोगिता खुलाचौरहरूमा कदापि हुने थिएनन् । जुन नेपालको सबैभन्दा कमजोर पक्ष हो । यसैमा नेपाली टोलीको वास्तविकतासमेत छुपेर रहेको छ । गौरव गर्न लायक कुरा के छ भने नेपाली खेलाडीले जहिले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई ‘अन्डर डक’को रूपमा प्रस्तुत गर्दै आएका छन् । जुन नेपालको सफलताको पाटोसमेत बनेको छ ।
कप्तान पारसले भने, ‘अब पनि क्रिकेट खेलाडीलाई प्रोत्साहन नगरे कहिले गर्ने ? एउटा आतङ्कवादमा रुमलिएको राष्ट्र अफगानिस्तानका खेलाडीहरूले वर्षैभरि विदेश प्रशिक्षण लिन गर्छन् । यो खेलाडीको व्यक्तिगत चाहनाले नभई राज्यले नै उनीहरूका लागि यस्तो विशेष प्रशिक्षणको व्यवस्था गरेको हो । अन्य समय अफगानिस्तानका खेलाडी पाकिस्तानका खेलाडीसँग प्रशिक्षणमा बिताउँछन् । जसले गर्दा उनीहरूको स्किलमा व्यापक सुधार भएको छ । उनीहरूले अहिले समकालीन राष्ट्रहरूमा सबैभन्दा श्रेष्ठ छन् । विडम्बना, नेपालमा क्रिकेट खेलाडीलाई प्रोत्साहित पार्ने कुनै दूरदर्शी कार्य र योजना सरकार र सम्बन्धित निकायले गरेका छैनन् । जुन नेपाली खेलाडीका लागि दुर्भाग्य बनेको छ । खेलाडीलाई १० हजार पुरस्कार दिन डराउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसपालि प्रत्येक खेलाडीलाई ५०–५० हजार दिएर सबैलाई आश्चर्यचकित पारेको छ । फुटबलमा खेलाडीले जस्तोसुकै सर्मनाक प्रदर्शन गरे पनि एन्फाले खेलाडीलाई प्रोत्साहित गर्न प्रत्येक महिनाजसो लाखौँको पुरस्कार वितरण गर्दै आएको छ ।
कप्तान पारसले भने, ‘अन्तर्राष्ट्रिय प्रशिक्षण र अनुभवबिना ट्वान्टी–२० विश्वकप छनोट चरणमा नेपालले कुनै चमत्कार देखाउन सक्तैन । हालै सम्पन्न भएको एसीसी ट्वान्टी–२० कपको सेमिफाइनलमा पुगेर नेपाल दोस्रोपटक ट्वान्टी–२० विश्वकप छनोटमा पुगेको हो । सीमित साधन–स्रोतका बाबजुद नेपाल अन्तिम १६ मा पुगे पनि अबको यात्रा त्यति सजिलो छैन । त्यसका लागि नेपालले कडाभन्दा कडा मिहिनेत गर्नुको साथै विशेषगरी अन्तर्राष्ट्रिय प्रशिक्षणमा जोड दिनुपर्नेछ । ट्वान्टी–२० विश्वकप छनोट खेल्ने थुप्रै राष्ट्रले एकदिवसीय र ट्वान्टी–२० विश्वकपमा समेत पहिल्यै आफ्नो सहभागिता जनाइसकेकाले उक्त छनोट प्रतियोगिता नेपालका लागि फलामको चिउरा साबित हुनेछ । आगामी नोभेम्बरमा संयुक्त अरब इमरेट्समा हुने उक्त छनोट प्रतियोगिताको अहिल्यैदेखि तयारी नगरे नेपालका लागि उक्त प्रतियोगिता सहभागितामै सीमित हुने पक्का छ । तसर्थ आगामी वर्ष सन् २०१४ मा बंगलादेशमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा पुग्न नेपालले शीर्ष ६ स्थान हासिल गर्नुपर्ने छ । त्यसका लागि सम्बन्धित निकाय क्यान र सरकारले विशेष व्यवस्था गर्नु अहिलेको आवश्यकता बनेको छ ।
वर्तमान अवस्थामा नेपालले कुनै विदेशी टिमलाई हराउन सक्ने खेलको रूपमा क्रिकेट अगाडि देखिएको छ । विगत थुप्रै वर्षदेखि राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत विजय हासिल गरी नेपालको झण्डा फहराउन सक्षम खेलको रूपमा पनि क्रिकेट नै देखिएको छ । विभागीय टिमले पालेकै भरमा मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा बढाउँदै आएका क्रिकेट खेलाडीका लागि अब राज्य र क्यानले समेत केही गर्नुपर्ने बेला भइसकेको छ । क्यानको चाहिएको बेलामा मात्र घोडा खोज्ने बानीमा अब फेरबदल हुन आवश्यक भइसकेको छ । क्यानको यही चिरपरिचित रवैयाबाट आफ्नो हकअधिकारलाई तिलाञ्जली दिँदै आएका खेलाडीले अब पनि चुप लागेर बसे भने त्यो नेपाली क्रिकेटका लागि दुर्भाग्य हुने पक्का छ । खेल्न पाउने अधिकार खेलाडीको हो भने उनीहरूलाई प्रोत्साहन दिने र आत्मविश्वास बढाउन काम सम्बन्धित निकाय हो । तसर्थ ट्वान्टी–२० विश्वकप छनोट नजिकै आएको अवस्थामा क्यानले सरकारसँग समन्वय गरी प्रतियोगिताको तयारीका लागि खेलाडी उचित वातावरणको तयारीमा जुट्नपर्ने भइसकेको छ । जहिले पनि गोर्खेली तालमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडन्त गर्दै आएका नेपाली खेलाडीले समयमै उचित ठाउँमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षण गर्ने अवसर पाए विश्वकप छनोट चरणमा समेत चमत्कार नदेखाउलान् भन्न सकिँदैन ।
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा फुँयाल
नेपाल खेलकुद पत्रकार मञ्चको हालै सम्पन्न नवौँ साधारणसभाले अजय फुँयालको अध्यक्षमा ११ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गरेको छ । उक्त केन्द्रीय कमिटीको प्रथम उपाध्यक्षमा ध्रुव तुलाधर, उपाध्यक्षमा दुर्गानाथ सुवेदी र रितेश सिलवाल र महासचिवमा महेश आचार्य, सचिवमा प्रकाश तिमिल्सिना र कोषाध्यक्षमा प्रमोद पोखरेल रहेका छन् । त्यस्तै सदस्यहरूमा राजु घिसिङ र प्रज्ज्वल ओली विजयी भएका छन् भने महिलातर्फ पवित्रा राउत र प्रतीक्षा दुलाललाई निर्विरोध चयन गरिएको छ । सोही दिन नै बसेको नवनिर्वाचित कार्यसमितिले अध्यक्षका प्रत्याशी हिमेश बज्राचार्यलाई सदस्यमा मनोनीत गरेको छ । त्यस्तै, मञ्चको १५ सदस्यीय कार्यसमितिमा दुई सदस्य पछि मनोनीत गरिनेछ । नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घले फँुयालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएकोमा बधाईसहित आगामी कार्यकालको सफलताको शुभकामना दिएको छ । नयाँ कार्यसमितिले खेलकुद पत्रकारितालाई व्यवसायीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास प्रकट गरेको छ ।
प्रतिक्रिया